मन्त्री सिफारिसबाट हात झिकेका हुन् जेनजीले ? महावीरले घच्घच्याउँदा यस्तो दिए जवाफ

काठमाडौं । जेनजी अगूवाहरुले मन्त्रीपरिषद विस्तारमा अब आफूहरुले कुनै हस्तक्षेप नगर्ने जनाउ सरकारलाई गराएका छन् । प्रधानमन्त्रीले नै स्वविवेकमा नयाँ मन्त्रीहरु नियुक्त गर्न सक्ने उनीहरुको पछिल्लो भनाइ छ ।

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको सिफारिसमा केही मन्त्रीहरु थप गर्ने तयारी गरेकी थिइन् । उनले जेनजी अभियन्ताहरुलाई नाम सिफारिस गर्न आग्रह पनि गर्दै आएकी छन् । तर, जेनजी अगूवाहरुले अहिलेसम्म सिफारिस गरेका छैनन् ।

हिजो राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको वैठकमा मन्त्रीपरिषद विस्तारबारे पनि छलफल हुने अनुमान थियो । तर स्रोतका अनुसार यो विषयमा कुनै चर्चा नै भएन । आन्दोलनको एजेन्डाहरुलाई प्राथमिकतामा राखेका जेनजीले मन्त्रीपरिषद विस्तारको विषयमा कुनै चासो नदिएको स्रोतले बताएको छ ।

‘औपचारिक संवादमा मन्त्रीपरिषद विस्तारको प्रसंग न आएन । न सरकारको तर्फबाट न जेनजीको तर्फबाट यो विषय निकाल्यो,’ स्रोतले भन्यो।

औपचारिक वार्ता सकिएपश्चात अनौपचारिक गफगाफका क्रममा भने यो सन्दर्भ निस्किएको थियो । शिक्षामन्त्री महावीर पुनले जेनजी अभियन्ताहरुलाई भने, ‘ए भाइ बहिनी हो, हामीलाई सरकार चलाउन गाह्रो परिसक्यो । नयाँ मन्त्रीहरुको नाम दिनुपर्यो के छिटो ।’

जवाफमा जेनजी अगूवाहरुले आफूहरुले नाम सिफारिस नगर्ने बताए ।

उनीहरुको साझा भनाइ थियो, ‘जेनजीको तर्फबाट सबै म्यान्डेट सरकारलाई दिइसकेका छौ । मन्त्रीपरिषद विस्तार प्रधानमन्त्रीकै अधिकार क्षेत्र हो । उहाँले योग्यता र क्षमता हेरेर मन्त्री बनाउनुहुनेमा हामीलाई पूर्ण विश्वास छ ।’

हिजोको वैठकमा चर्चित जेनजी अगूवाहरु मिराज ढुंगाना, सुधन गुरुङ, रक्षा बम, प्रवेश दाहाल लगायतको सहभागीता थिएन । सुधन र मिराजले आफ्ना प्रतिनिधिहरु पठाएका थिए ।

यसअघि शीतलनिवासमै बसेको वैठकमा प्रधानमन्त्री कार्कीले जेनजी अगूवाहरुलाई नयाँ मन्त्रीका लागि सिफारिस ल्याउन आग्रह गरेकी थिइन्। त्यसलगत्तै जेनजी समूहका नाममा विभिन्न युवाहरुलाई मन्त्री सिफारिस गरिएका फेक विज्ञप्तिहरु सार्वजनिक भएका थिए । यसले विवाद उब्जिएपछि जेनजी अगूवाहरु मन्त्री सिफारिस नगर्ने मनस्थितिमा पुगेको बताइन्छ । यसअघि मन्त्री सिफारिसमा सुधन गुरुङ हावी हुने गरेका थिए । अहिले उनले पनि त्यति चासो दिइरहेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *