देउवाको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।

सभापति शेरबहादुर देउवाले गत असोज २८ गते बैठक प्रारम्भ गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए । देउवाले सक्रिय भूमिका छाडेको बताएपनि कांग्रेस बैठकमा उनको कुर्सी यथावत छ । देउवा बस्ने कुर्सी खाली राखेर कार्यवाहक सभापति खड्काले बैठक अगाडि बढाएका हुन् ।

कांग्रेसका एक केन्द्रीय सदस्य देउवाको कुर्सी खाली राखेर बैठक सञ्चालन हुनुको राजनीतिक अर्थ रहेको बताउँछन् । कांग्रेसभित्र महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा बहस भइरहँदा देउवा भौतिक रुपमा अनुपस्थित भएपनि राजनीतिक रुपमा क्रियाशील छन् भन्ने सन्देश दिन कुर्सी राखिएको हुनसक्ने उनले बताए ।

‘शेरबहादुर दाईप्रति सम्मानको पनि कुरा होला । मुख्य कुरा चैं कार्यवाहक दिएको मात्रै हो, राजनीति छाडेको होइन भन्ने सन्देशपनि दिन खोजिएको होला,’  संस्थापन पक्षका ती केन्द्रीय सदस्यले भने।

कांग्रेस बैठकमा जेनजी आन्दोलन र प्रभाव, १५ औं महाधिवेशन तयारी, संसद विघटन र घोषित निर्वाचन लगायतका ८ बुँदे एजेण्डा उपर छलफल भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *