
काठमाडौं । काठमाडौं महानगरपालिकाको आज बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा भदौ २४ गते भएको आगजनीमा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको विषयमा वडाध्यक्षहरुले प्रश्न उठाएका छन् । महानगरको विपद व्यवस्थापन समितिले भने त्यसको प्रतिवाद गरेको छ ।
बैठकमा २३ र २४ गतेको घटनाबारे छलफल गर्ने कुनै एजेन्डा थिएन । यसलाई लिएर केही वडाध्इक्षले आपत्ति जनाए ।
वडा नम्बर ७ का वडाध्यक्ष बिमल कुमार होडाले भने, ‘मलाई दुख लागेको छ। देशमा यत्रो घटना भयो, तर बैठकमा कुनै पनि एजेन्डा छैन । न मृतकलाई श्रद्धान्जली भनियो, न विध्वंको भत्र्सना गरियो । यत्रो सम्पदा ध्वस्त गरिएकोप्रति हामीले आपत्ति जनाउनुपर्छ कि पर्दैन ।’
वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले पनि होडालाई साथ दिँदै भदौ २३ र २४ को घटनाबारे समिक्षा हुनुपर्ने बताए । यो एजेन्डा नराखिएकोमा उनले खेद नै व्यक्त गरे ।
उनले भने, ‘म यसमा खेद प्रस्ताव पेश गर्न चाहन्छु । देशेभरि क्षति भए पनि काठमाडौंमा प्रभाव बढी रह्यो । धेरै सम्पदा जलेर खरानी हुँदा हामीले टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेनौं । हामी पनि सुरक्षित थिएनौं । डराएको जस्तो अवस्था थियो । यो हत्या, हिंसा र लुटपाट, आगजनीप्रति हामीले खेद व्यक्त गर्नुपर्छ ।’
श्रेष्ठले नेपालको ऐतिहासिक सम्पदा सिंहदरबार जलेर खरानी हुँदा रुन मन लागेको बताए । अब सिंहदरबारको पुननिर्माण गर्ने जिम्मा महानगरपालिकाले लिने प्रस्ताव समेत उनले गरे ।
श्रेष्ठले सबैतिर आगजनी हुँदा महानगरको दमकले समयमा परिचालन नभएको गुनासो गरे ।
उनले भने, ‘रेकर्ड हेर्दा टाइममै निस्केको देखिन्छ । तर ठूलो क्षति भइसकेपछि मात्रै पुगेको छ । छिमेकी महानगपालिकाबाट दमकल आएर आगो निभाइएको न्यूज पढ्दा हामीलाई दुख लाग्छ ।’
अन्य वडाध्यक्षहरुले पनि दमकल परिचालनमा भएको कमजोरीबारे प्रश्न उठाएपछि महानगर प्रहरीका एसपी तथा विपद व्यवस्थापन समितिका संयोजक बिष्णु प्रसाद जोशीले जवाफ दिएका थिए । उनले दमकल परिचालनमा अथक प्रयास गरिएको तर अवरोधका कारण सम्भव नभएको बताए ।
जोशीको भनाइ यस्तो थियोः
२३ गते आन्दोलन हुँदै गर्दा १ बजेतिर फोन आएको थियो, शान्तिनगर गेटमा एम्बुलेन्समा आगलागी भयो भनेर । हामी तुरुन्तै मुभ भयाै र एम्बुलेन्सको आगजनी निभाउने काम भयो । त्यसको केहीबेरमा शान्तिनगरको पोलमा आगलागी भएको खबर आयो । त्यसालाई पनि हाम्रो दमकलले निभायो । फेरि सुन्धारामा मोटरसाइकल भएको आगजनी नियन्त्रणमा लियौं । ३ बजेपछि भने कतै पनि जान सक्ने अवस्था भएन । जता दमकल मुभ हुँदा पनि ढुंगामुढा गरेर फर्काइदिने काम भयो ।
२४ गते बिहानदेखि नै फोन आएको आइ थिए । ‘रेस्पोन्स’ गर्ने निकै प्रयास भयो । हाम्रो एउटा दमकल बसन्तपुरबाट मुभ गर्दा त्यहीँ रहेका जनसेवा र हिमालयन बैंकमा आगजनी भएको थियो । लोकल आगलागी नियन्त्रण गर्न छोडेर सिंहदरबार जान पाउनुहुन्न भनेर रोके । त्यसपछि चाबहिलबाट अर्को दमकल मुभ गर्दा त्यहीँ ढुंगामुढा भयो ।
त्यसपछि मैले नै आर्मीको कर्नेललाई फोन गरेर सहयोग मागेँ । उहाँले स्कर्टिङ गरेर ४ः३० बजेतिर नयाँ बानेश्वरको बाणिज्य बैंकसम्म पुग्न सफल भयौं । त्यहाँ एक दमकल पानी हालिसकेपछि थप पानी लिन जानुपर्यो भन्दा आर्मीर्को स्कर्टिङ गाडीलाई पनि क्षति पुर्याइयो । अनि उहाँहरुले पनि तपाईंहरु अब आफ्नो बाटो लाग्नुस, काम हुन सक्दैन भन्नुभएपछि मुभ हुन सकिएन । बालाजुको दमकल मुभ गर्दा त्यो पनि आउन सकेन ।
८ बजेर १५ मिनेटमा सिंहदरबार प्रवेश गरेर आगो निभाउन अथक प्रयास गरेकै हो । २ दमकल सिंहदरबारमा हानेको हो । २५ गते बिहान सर्वोच्चमा दमकल पठाएको हो । म आफैं गएको हुँ । म गएको एकछिनपछि ललितपुरको आएको थियो । पहिलो दमकल हाम्रै गएको हो । हामी नै गएको हो । जुन ठाउँमा पनि आगलागी हुन्छ, त्यहीँकोले निभाउने प्रयास गरिन्छ । नसकेपछि बल्ल अर्को जिल्लालाई बोलाउने हो । ललितपुरकोलाई हामीले नै बोलाएका हौं ।
हामीसँग ५ वटा दमकल छन् । सबै मुभ गर्ने प्रयास गरिएको थियो । हिल्टन होटलबाहेक अन्यत्रको आगजनी हाम्रै दमकलले नियन्त्रण गरेको हो।

Leave a Reply