जेनजी आन्दोलनले एमालेलाई दिएको चेतावनी– व्यक्तिपूजा त्याग, युवाका असन्तुष्टि बुझ

जेनजी आन्दोलनका नाममा भएकोे विद्रोहबाट सबैभन्दा बढी राजनीतिक र भौतिक क्षति बेहोरेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक यतिबेला चलिरहेको छ ।

बैठकमा जेनजी आन्दोलनका पृष्ठभूमि, राष्ट्रिय-अन्तर्राष्ट्रिय चलखेल, मुलुकको भूराजनीतिक अवस्था, ओली नेतृत्वको सरकारका कमीकमजोरीहरू, आम जनताका असन्तुष्टि र पार्टी नेतृत्वका सबल र दुर्बल पक्ष अनि वर्तमान अवस्थाबारे बैठकले घनिभूत छलफल गर्ने र उपयुक्त निर्णय लिने अपेक्षा गरिएको छ ।

यत्रो विध्वंस र सर्वनाशको जिम्मेवार को हो ?

जेनजी विद्रोहले नेपालका प्रमुख राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा बढी क्षति नेकपा एमालेलाई पुर्‍यायो । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार जबर्जस्त सत्ताच्युत हुन पुग्यो । दुई ठुला दलको करिब दुई तिहाइ मतले राज्यसत्ताको बागडोर सम्हालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः सेनाको शरण लिन बाध्य हुनुपर्‍यो ।

सरकारका सबैजसो मन्त्री र पार्टीका नेताहरूले लुकेर ज्यान जोगाए । न सुरक्षा दस्ता काम लाग्यो न त गुप्तचर विभागले केही मेसो पाउन सक्यो । न नेता–कार्यकर्ता नै बचाउमा उत्रन सके न त सरकारको कमान्डमा रहेको प्रहरी र सेना नै । पार्टीको वर्षौदेखिको साख केवल दुई दिनमै सिद्धिएजस्तै भयो । आखिर किन यस्तो दुःखद र निरीह अवस्था आयो ? अनेकन् प्रश्न उब्जिएका छन् ।

आखिर एमाले अध्यक्षको नेतृत्वमा रहेको सरकारको पालामा नै जेनजी विद्रोह किन भयो ? यही समयमै राष्ट्रका महत्त्वपूर्ण धरोहर किन समाप्त गरिए ? मुलुकका ऐतिहासिक राष्ट्रिय सम्पदा पनि संरक्षण गर्न सरकार किन र के कारणले असफल भयो ? यो राज्यसत्ता, गुप्तचर विभाग, सेना, प्रहरी र सिङ्गो राज्यसंयन्त्र आखिर केका लागि पालिराख्ने ? देशैभरि भएका यतिविधि विध्वंस र नरसंहारको जिम्मेवार आखिर को हो त ? अब सूक्ष्म समीक्षा गरिनुपर्छ ।

जेनजी विद्रोहका कारण एमालेमा भएको क्षति चानचुने छैन । एमालेजनका आस्थाका रूपमा रहेका देशैभरिका कार्यालयहरूमा तोडफोड र आगजनी भए । केन्द्रीय कार्यालय खरानी बन्यो। । देशका ६९ जिल्लाका कार्यालयहरू पूर्णतः नष्ट गरिए । एमालेका सातै प्रदेश कार्यालय, केही पालिका र वडा कार्यालयसहित ९४ भन्दा धेरै कार्यालय ध्वस्त भए । पार्टीको करिब ३ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भयो । पार्टीका तमाम अभिलेखहरू समाप्त गरिए  ।

एमालेका थुप्रै नेता तथा कार्यकर्ताहरूका घर र सम्बन्धित प्रतिष्ठानहरू ध्वस्त भए । यो विद्रोहले एमालेको पार्टीगत प्रतिष्ठा, छविगत हैसियत र व्यक्तिगत र नैतिक बलमा समेत तमाम क्षति पुर्‍याएको छ । सरकारमा एमालेको नेतृत्व रहँदारहँदै यति धेरै अपूरणीय क्षति आखिर के–कसका कारण र किन भए ? देशभरि भएको यो विद्रोह र क्षति फगत राष्ट्रिय–अन्तर्राष्ट्रिय षडयन्त्र, भूराजनीतिक चलखेल र देश विरोधी घूस पैठिया तत्त्वले मात्र गर्‍यो कि पार्टी र नेतृत्वका केही कमीकमजोरीहरू पनि छन् ? सूक्ष्म विश्लेषण र गम्भीर समीक्षा हुनु जरुरी छ ।

त्यसो त नेकपा एमाले नेपालको ऐतिहासिक र प्रमुख राजनीतिक पार्टी मानिन्छ । संगठनात्मक र जनाधारको आधारमा एमाले सबैभन्दा व्यवस्थित र बलियो पार्टी रहेको पनि हो । पञ्चायती व्यवस्थाको विरुद्धमा नेताहरूले गरेको सङ्घर्ष र त्याग, २०४६ सालको आन्दोलनमा गरेको उत्सर्ग, २०६२–६३ सालको आन्दोलन र तत्पश्चात् देशमा राजनीतिक स्थायित्व, विकास, र गणतान्त्रिक मूल्यहरू स्थापनामा एमाले पार्टीको उल्लेखनीय भूमिका रहेको छ ।

तर, पछिल्ला वर्षमा नेताहरूको जीवनशैलीमा आएको परिवर्तन, पार्टीमा दलाल र नवसामन्तहरूको हालीमुहाली, पार्टीमा आन्तरिक मतभेद, वैचारिक अस्पष्टता र नेतृत्वमा विश्वासको संकटले एमालेको लोकप्रियता घट्दै गएको अवस्थामा जेनजी आन्दोलनले एमालेको समग्र छवि र हैसियतलाई पूर्णतः कमजोर पारिदिएको छ । पार्टीले लामो समयसम्म कमाएको जनआस्था र विश्वास किन र के कारणले एकाएक गुम्यो ? आज एमाले किन निरीह अवस्थामा पुगेको छ ? यो विद्रोहबाट एमालेले लिनुपर्ने शिक्षालाई यसरी उल्लेख गर्न सकिन्छ ।

युवा पुस्ताको भावना बुझ्नुपर्ने

जेनजी आन्दोलन आधुनिक पुस्ताको स्वतन्त्र सोच, स्वतःस्फूर्त अभिव्यक्ति र डिजिटल युगको राजनीतिक चेतनाबाट जन्मिएको आन्दोलन हो । यो आन्दोलनमा मुख्य रूपमा सामाजिक न्याय, पारदर्शिता, भ्रष्टाचार विरोध र परिवर्तनको चाहना केन्द्रित देखिन्छ । दलगत स्वार्थभन्दा माथि उठी युवाले स्वतन्त्र आन्दोलनको रूप दिए ।

जेनजी आन्दोलनमा तमाम घूसपैठ भए पनि सहभागीहरू प्रायः युवाहरू नै थिए । उनीहरूले नयाँ सोच, स्वतन्त्रता र पारदर्शिताको माग गरे । एमालेले लामो समयदेखि युवाहरूलाई पार्टीभित्र जिम्मेवारी दिए पनि विचार र व्यवहारमा युवामैत्री छवि बनाउन सकेन ।  युवाहरूको सुझाव र असन्तुष्टि सुन्ने, पार्टीभित्र उनीहरूलाई निर्णायक भूमिकामा ल्याउने  र डिजिटल युगमा उनीहरूसँग संवाद गर्ने प्रणालीको विकास भएन । पुरानो पुस्ताको नियन्त्रणले नयाँ विचार रोकिएको महसुस भयो । पार्टीले भविष्यको राजनीति सम्हाल्न चाहन्छ भने, युवाको सोच, डिजिटल युग र चाहना बुझ्ने तथा तिनलाई नेतृत्वमा अघि ल्याउने रणनीति अपनाउनै पर्छ ।

भ्रष्टाचार र कुशासन अन्त्य हुनुपर्ने

आन्दोलनको मूल ध्येय मुलुकमा भ्रष्टाचार र नातावादको अन्त्य र सुशासनको प्रत्याभूति हुनुपर्छ भन्ने थियो  । मुलुकमा भ्रष्टाचार,नातावाद र कुशासनका बढ्दै जाँदा जेनजी आन्दोलनले पुराना दलहरूलाई भ्रष्ट, स्वार्थी र जनविरोधी भनेर प्रचार ग¥यो । एमालेले पनि आफ्ना नेतालाई भ्रष्टाचार, अनियमितता र सत्तालिप्साबाट मुक्त गर्न सकेन ।  भ्रष्टाचार,बेथिति र अनियमितताको आरोप लागेका नेताहरूलाई कारबाही गर्नुको सट्टा काखी च्याप्दै जाँदा युवा र जनमानसमा पार्टीप्रति आक्रोश र विद्रोह पैदा भयो । पार्टीभित्र सुशासन,पारदर्शिता, जबाफदेहिताको संस्कृति र अनुशासनलाई मजबुत बनाउनुपर्छ भन्ने सन्देश यो आन्दोलनले दिएको छ ।

व्यक्ति केन्द्रित प्रवृत्ति अन्त्य गरिनुपर्ने

एमालेमा शीर्ष नेता मात्र निर्णायक बन्ने प्रवृत्तिले केही समयअघि देखि नै पार्टीभित्र र बाहिरसमेत असन्तुष्टि छ । विचार र सिद्धान्तभन्दा व्यक्तिगत निर्णयले नेतृत्व र गुटबन्दीमा बढी जोड दिएको छ । तल्लो तहदेखि माथिसम्म लोकतान्त्रिक निर्णय र प्रक्रिया सुनिश्चित गरिएको छैन । पार्टीभित्र विचार, बहस, आलोचना–आत्मआलोचनाको अभ्यास हुनै सकेन ।

पार्टीमा जनवादी प्रक्रियाभन्दा फगत केन्द्रीयता बढी हाबी भयो । जेनजी आन्दोलनले नेताको होइन, संस्थागत प्रणाली र समुचित न्यायका लागि आवाज उठायो । फलस्वरूप पार्टीका तमाम नेता कार्यकर्ताका युवा पङ्क्तिसमेत जेनजी आन्दोलनमा सहभागी भए । पार्टीले पुनः विचार र नीति निर्माणमा ध्यान दिनुपर्छ, व्यक्ति पूजाबाट मुक्त हुनुपर्छ भन्ने शिक्षा यो आन्दोलनले दिएको छ ।

वैचारिक र सैद्धान्तिक स्पष्टता हुनुपर्ने

एमालेको मूल सिद्धान्त जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद जबज हो । तर, लामो समय बित्दा पनि उक्त सिद्धान्त व्यावहारिकरुपमा कार्यनीतिमा रूपान्तरण हुन सकेको देखिएन । जबजलाई समयअनुसार अद्यावधिक गर्दै व्यवहारिक रूप दिने भन्दा पनि परम्परागत रटानमा केन्द्रित भइरह्यो । पार्टीमा सैद्धान्तिक र वैचारिक बहस हराउँदै गयो ।
पार्टीको मूलभूत सिद्धान्त, नीति,रणनीतिक र कार्यदिशा निर्माणमा बौद्धिक वर्ग, युवा र मजदुर वर्गको सम्मानित सहभागिता भएन । बरु दलाल एवम् धनाढ्य वर्गको प्रभाव बढिरह्यो । सरकारमा सामेल हुनैका लागि कहिले एउटासँग गठबन्धन गर्ने र कहिले अनेकनसँग गठबन्धन गर्ने प्रवृत्तिले कार्यकर्ता तहमा समेत वैचारिक स्पष्टता नहुँदा पार्टीप्रतिको मोह भङ्ग हुँदै गएपछि यो परिणति आयो ।

जनसरोकारका मुद्दामा केन्द्रित हुनुपर्ने

आन्दोलनको मुख्य माग रोजगारी, शिक्षा, स्वास्थ्य र समान अवसरका विषयहरू थिए । नेकपा एमाले पटक पटक सरकारमा सहभागी हुँदा समेत बेरोजगारी, शिक्षा, स्वास्थ्य, अवसर र समानताजस्ता विषयमा ठोस कार्यक्रम ल्याउन सकेन । व्यवहारिक नीति र ठोस जनमुखी कार्यक्रम भन्दा सैद्धान्तिक भाषणबाजीमै अलमलिइरह्यो ।

युवाले खालि नारामात्र होइन, नतिजा देखिने काम गर्नुपर्ने माग गर्दै आएका हुन् ।  यदि फेरि पुरानै शैली र सत्ता–केन्द्रित राजनीति दोहोर्‍याइरह्यो भने, नयाँ पुस्ताले नयाँ विकल्प अवश्य खोज्छन् भन्ने सन्देश जेनजी आन्दोलनले स्पष्टसँग दिएको छ ।

नयाँ प्रविधिको उपयोग गरिनुपर्ने

जेनजी आन्दोलनले डिजिटल माध्यमको प्रयोग गरी जनमत बनाएको हो । आजको राजनीति सडक मात्र होइन, स्क्रिनमा पनि लडिन्छ भन्ने कुरा आन्दोलनले देखाएको छ । । एमालेले सामाजिक सञ्जाल, डिजिटल सञ्चार र जनतासँग प्रत्यक्ष संवादका नयाँ विधा अपनाएर जेनजीलाई समेट्नुपर्नेमा एमालेको सरकारले सञ्चारका साधनमाथि उल्टै प्रतिबन्ध लगाएर उल्टै चिढाउने र आक्रोशित बनाउने काम गर्‍यो । जेनजी आन्दोलनले देखाएको जनआवाज, युवाको असन्तुष्टि र प्रणालीगत समस्या एमालेका लागि पनि ठूला सिकाइका अवसरहरू हुन् ।

निष्कर्ष

जेनजी आन्दोलनपछि एमालेभित्र दुई धार देखिएका छन् । एकथरी नेताहरू हालको परिवर्तनलाई आत्मसात् गर्दै आत्ममूल्यांकन र जनभावनालाई स्वीकार गर्ने पक्षमा देखिन्छन् भने अर्को थरी नेता अझै पनि यो विद्रोहलाई देशी विदेशी षड्यन्त्र देखिरहेका छन् ।

जे भए पनि जेनजी आन्दोलन एमाले पार्टीको राजनीतिक सोच, चरित्र र नेतृत्वप्रति आएको चेतावनीको घण्टी हो । यसले एमालेलाई गहिरो आत्ममूल्यांकन गर्ने र सुध्रने अवसर दिएको छ ।  पार्टीले जनताको भावनालाई बुझ्न नसकेर राजनीतिक र नैतिक दुवै साख गुमाउन पुगेको हो ।

आम जनता, कार्यकर्ता र युवा पुस्ताको असन्तुष्टि बुझ्ने र उनीहरूको आवाजलाई पार्टी नीतिमा समेट्ने, आत्मसुधार र नयाँ पुस्तासँग सहकार्यको बाटो रोज्यो भने एमालेलाई अझ जनमुखी र उत्तरदायी दलमा रूपान्तरण गर्ने अवसर हुन सक्छ । यो क्षति स्थायी भने होइन युवा र आम जनताको विश्वास पुनः जित्ने सम्भावना अझै बाँकी छ । तर, नेतृत्व वर्ग सुधारिएको, जनमुखी, निष्कलंक र सदाचारी भने हुनै पर्दछ ।

(ज्ञवाली एमालेसम्बद्ध नेपाल बौद्धिक परिषद्का केन्द्रीय सदस्य हुन् )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *