जेनजी विद्रोहलाई जन आन्दोलनको मान्यता दिन सरकार र राष्ट्रपतिसमक्ष माग, अरु के-के भयो शीतल निवासमा ?

काठमाडाैं । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी अगुवाहरुबीच छलफल सम्पन्न भएको छ प्रधानमन्त्री र केही मन्त्रीहरुको उपस्थितिमा भएको भएको छलफलमा मुख्य रुपमा आगामी निर्वाचनमाथि छलफल भएको छलफलमा सहभागी रिजन रानाले बताए ।

रानाका अनुसार आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने विषयदेखि भदौ २३ र २४ गते भएको आन्दोलनलाई वैधता दिने विषयमा समेत छलफल भएको उनले बताए । रानाले भने, ‘हामीले आफूहरु पनि निर्वाचनमा सहभागी हुने कुरा गर्यौं । राष्ट्रपति ज्युले पनि निर्वाचनमा सबै जना अगाडि बढ्नुपर्छ, जेनजीहरु पनि निर्वाचित भएर आउनुपर्छ भन्नुभयो ।’

अर्का अगुवा शिव यादवले पनि आन्दोलनलाई सरकारले जनआन्दोलन घोषणा गर्नुपर्ने, घाइते र शहीद परिवारको न्यायका लागि आयोग बनाएर काम गर्नुपर्ने विषयमा छलफल भएको बताए ।

साथै राष्ट्रपति पौडेलले आफूले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त गर्दाका अवस्थाबारे पनि छोटोमा बोलेको रानाले बताए । रानाका अनुसार राष्ट्र पौडेलले कानुन जानेको, प्रधानमन्यायाधीश भएर काम गरिसकेको, भ्रष्ट्राचारदेखि युवाहरुको सन्दर्भमा बोलिरहेकाले आफूले कार्कीलाई विश्वास गरेर प्रधानमन्त्रीमा नियुक्त गरेको अगुवाहरुलाई बताएका थिए ।

साथै राष्ट्रपति पौडेलले आफ्नो मुख नहेरिकन निर्धक्कसँगले काम गर्न भनेको पनि बताए । रानाले भने, ‘राष्ट्रपति ज्युले निर्धक्क भएर काम गर्नुस्, मेरो मुख ताकिहरन पर्दैन । मैले सरकारका कामकारबाहीमा धेरै हस्ताक्षेप गर्न पनि मिल्दैन, मैले मेरो अधिकार विवेकसम्मत रुपले प्रयोग गरिसकेको छु ।’

साथै अब मन्त्रीपरिषद् विस्तार हुँदा जेनजीप्रतिनिधिलाई पनि समेट्नुपर्ने धारणा राखेको उनले बताए । यसरी जेनजी प्रतिनिधिलाई मन्त्री बनाइँदै गर्दा समावेशी सहभागितालाई अनिवार्य रुपमा लागु गर्नुपर्ने धारणा राखेको रानाको भनाइ छ ।

आजको छलफलमा सुधन गुरुङ, रक्षा बम, मिराज ढुंगाना लगायत जेनजी अगुवाहरु भने थिएनन् । उनीहरु किन सहभाी भएनन्, आफूलाई थाहा नभएको रानाले बताए । राष्ट्रपति कार्यालयबाट त्यही सूचि आएकाले सूचि अनुसार आफूहरु छलफलमा सहभागी भएको रानाको भनाइ छ ।

उनले भने, ‘सायद राष्ट्रपति ज्युले पालैपालो बोलाउनु भएको हो कि !’

आजको छलफलमा जेनजीबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी, धिरज जोशी लगायत सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *