एमालेका निम्ति नयाँ जीवनको सर्त- नेतृत्व पुस्तान्तरण र पार्टी रूपान्तरण

जेनजी आन्दोलनले नेपाली कांग्रेस, नेकपा एमालेसहित सम्पूर्ण दललाई स्पष्ट सन्देश दियो ‘अब नेतृत्व पुस्तान्तरण र पार्टी रूपान्तरणबिना नयाँ विश्वास पैदा हुँदैन।’ अहिले एमाले केन्द्रीय कमिटीको बैठकमा छ । तसर्थ, उक्त पार्टीका नेताले गम्भीरताका साथ केही कुरा मनन गर्नु जरुरी हुन्छ  ।

यो बैठकले इतिहासकै निर्णायक भूमिका खेल्न सक्छ । केवल नीति होइन, पार्टीको दिशा परिवर्तन गर्ने ‘टर्निङ प्वाइन्ट’ बन्नुपर्छ।

भदौ २३-२४ को जेनजी आन्दोलन कुनै दलको आयोजनामा नभएर स्वतःस्फूर्त नागरिक उभार थियो। सामाजिक सञ्जालबाट सुरु भएको यो आन्दोलनले युवाको गहिरो असन्तुष्टि प्रकट गर्‍यो । त्यही युवाको असन्तुष्टिमा टेकेर विभिन्न स्वार्थ समूहले आफ्नो स्वार्थ प्राप्तिका लागि नेपालको इतिहासमै पहिलो पटक स–साना विद्यार्थी भाइबहिनीलाई गुमाउनुपर्‍यो । देशले ठूलो क्षति बेहोर्नुपर्‍यो । ठूलो मात्रामा सरकारी सम्पत्तिको विध्वंस भयो ।

एमाले तत्कालीन समयको सरकारको नेतृत्व गरिरहेको पार्टी भएको कारण यो सबै अवस्थाको जिम्मेवारीबाट पन्छिने वा भाग्ने होइन, जिम्मेवार ढङ्गले प्रस्तुत हुने र भएका कमजोरीलाई आत्मसात् गर्दै आत्मालोचनासहित अगाडि बढ्ने ठाउँमा छ । विभिन्न स्वार्थ समूहको घुसपैठका कारण ठूलो क्षति हुन गयो । तर, त्यो मैदान तयार गर्न तत्कालीन सरकारमा रहेका दल र गणतन्त्र स्थापनापछि राज्य सत्तामा पुगेका दलको भूमिका रह्यो भन्ने कुरा आजको निष्कर्ष हो ।

जेनजी कुनै वर्ग होइन, उमेर समूह हो । उनीहरूले निश्चित माग राखेर विद्रोह गरे । उनीहरूको माग संविधान संशोधन गर्ने र जागरूक भएका युवा पुस्तालाई देश निर्माणमा लगाउने हो । त्यो दायित्व पनि दलीय व्यवस्थामा राजनीतिक दलकै रहन्छ । त्यसैले, दलहरू रूपान्तरित हुन जरुरी छ ।

राजनीतिक दल पुराना नेता मात्रको बन्द घेरामा छन् । नेताका समस्याभन्दा सत्ताको राजनीति ठूलो भएको छ । अवसर, जबाफदेहिता र भविष्यको सुनिश्चितता छैन। यो केवल विरोधको आन्दोलन होइन, नयाँ पुस्ताको चेतना र वैकल्पिक सोचको प्रदर्शन थियो । जसमा स्वार्थ समूहको घुसपैठले ठूलो क्षति हुन पुग्यो ।

एमाले नेतृत्वको प्रतिक्रियात्मक कमजोरी

देश एमाले नेतृत्वमा थियो । आन्दोलनको प्रारम्भिक चरणमा सरकारले युवाहरूको मागलाई संवेदनशील रूपमा सम्बोधन गर्न सकेन। सडकको असन्तोषलाई नीति–संवादमा रूपान्तरण गर्ने नेतृत्वमा परिपक्वता देखिएन । यसले एमालेलाई युवाहरूको नजरमा केही हदसम्म ‘पुरानो सोचको दल’ भनेर चिनाउने अवसर दियो ।

तर, पछिल्लो समयमा पार्टीभित्रैबाट आत्ममूल्यांकनको आवाज उठ्न थालेको छ । त्यही आत्ममूल्यांकन अब केन्द्रीय कमिटीको बैठकको प्रमुख निष्कर्ष बन्नुपर्छ।

नेतृत्व पुस्तान्तरणको ऐतिहासिक निर्णय

नेपालको राजनीतिक नेतृत्व दशकमै सीमित पुस्ताले सम्हालेको छ । त्यसले नयाँ पुस्ताको सम्भावना, सीप र विचारलाई दबाएको छ । एमालेभित्र पनि नेतृत्व निरन्तरता र नयाँ पुस्ताको प्रवेशबीच सन्तुलन बिग्रिएको छ ।

अब केन्द्रीय कमिटीको बैठकले स्पष्ट रूपमा निर्णय गर्नुपर्छ ‘नेतृत्व पुस्तान्तरण र पार्टी रूपान्तरण  अब विकल्प होइन, आवश्यकता हो।’

मुख्य कदम

– २०३९–२०५० पुस्ताका पुराना नेताले क्रमशः सल्लाहकार भूमिकामा सर्ने ।

– २०६० पछिको पुस्तालाई जिम्मेवारी र नीति निर्माण तहमा ल्याउने ।

– पार्टीमा ‘नेतृत्व पुस्तान्तरण नीति २०८२’ स्वीकृत गर्ने ।

पार्टी रूपान्तरण (ट्रान्सफर्मेसन) को स्पष्ट एजेन्डा

नेतृत्व पुस्तान्तरण मात्र होइन, पार्टीको सोच, काम गर्ने शैली र संरचना नै रूपान्तरण गर्नुपर्छ। एमालेको रूपान्तरण निम्न पाँच तहमा हुन आवश्यक छ ।

– संगठनात्मक रूपान्तरण

– विचारगत रूपान्तरण

– नीतिगत रूपान्तरण

– संवादात्मक रूपान्तरण

– नैतिक रूपान्तरण

जेनजी आन्दोलनले दिएको सन्देशलाई आत्मसात गर्ने निर्णय

एमालेले अब जेनजी आन्दोलनलाई विरोध होइन, चेतावनी र सम्भावना दुवैको रूपमा लिनुपर्छ। बैठकले आन्दोलनका मागलाई नीति दस्ताबेजमा समावेश गर्नुपर्छ, युवा नेतृत्वका लागि ‘वैधानिक व्यवस्था गर्नुपर्दछ र आन्दोलनका क्रममा भएको राजनीतिक असंवेदनशीलताको आत्मालोचना गर्नुपर्छ।

वैचारिक स्पष्टता र नयाँ पुस्ताको प्रशिक्षण

एमालेको वैचारिक मूल आधार ‘जनताको बहुदलीय जनवाद’ हो। तर, नयाँ पुस्ता यो विचारसँग भावनात्मक रूपमा जडान हुन नसकिरहेको छ। त्यसैले, वैचारिक पुनर्व्याख्या गर्दै
‘२१ औँ शताब्दीको जनवाद’ को सिद्धान्त तयार गर्ने । हरेक प्रदेशमा राजनीतिक प्रशिक्षण केन्द्र स्थापना गर्ने । युवा र विभिन्न मुलुकबाट ज्ञान, सीप र उद्यमशील चेतनासहित फर्किएका ‘रिटर्नी युवा’ का लागि विशेष नेतृत्व कोर्ष सञ्चालन गर्ने ।

जिम्मेवार शासन र जनजीविकामुखी नीति

एमालेले सत्तामा हुँदा प्राप्त अनुभव र अवसरका कमजोरीबाट सिक्नुपर्छ। बैठकले रोजगारी सृजना, शिक्षा सुधार र कृषि–उद्योगमा लगानीलाई प्राथमिक एजेन्डा बनाउने ‘रिटर्नी उद्यम सहायता कोष’ स्थापना गर्ने भविष्यको रणनीति पुस्तान्तरण र रूपान्तरणको संयुक्त यात्रा तय गर्न आवश्यक छ ।

एमालेले अब दुई बाटोबीच छनोट गर्नुपर्छ ।

– पुरानो नेतृत्व, पुराना संरचनासँग अड्किरहने बाटो ।

– नयाँ पुस्तासँग नयाँ दृष्टिकोणसहित अघि बढ्ने बाटो ।

– यदि दोस्रो बाटो रोजियो भने पार्टीभित्र नवीन ऊर्जा आउनेछ, युवाहरू पुनः एमालेतर्फ आकर्षित हुनेछन्।

तर, यदि नेतृत्व पुस्तान्तरण र पार्टी रूपान्तरण टार्ने प्रवृत्ति कायम रह्यो भने जेनजी आन्दोलनले उठाएको ‘नयाँ विकल्पको खोज’ एमालेभन्दा बाहिर निर्माण हुनेछ ।

निष्कर्ष

भाद्र २३–२४ को जेन्जी आन्दोलनले नेपाली राजनीतिलाई स्पष्ट सन्देश दिएको छ, ‘राजनीतिक दलहरू अब केवल अतीतको इतिहास होइन, भविष्यको दृष्टि बन्नु आवश्यक छ।’ केन्द्रीय कमिटी बैठकले यस सन्देशलाई गम्भीरतापूर्वक आत्मसात गर्दै तीन ठूला निष्कर्ष निकाल्नुपर्छ-

– विगतमा भएका कमजोरीको आत्मालोचना ।

– नेतृत्व पुस्तान्तरणको ठोस नीति ।

– पार्टी रूपान्तरणको व्यावहारिक योजना ।

– जनमुखी, युवामुखी र भविष्यमुखी राजनीतिक प्रतिबद्धता ।

यी तीन निष्कर्षलाई व्यवहारमा उतार्न सके एमाले फेरि पनि नेपाली राजनीतिमा ‘सुधार र स्थायित्वको केन्द्र’ बन्न सक्छ।

नेतृत्व पुस्तान्तरण र पार्टी रूपान्तरण नै एमालेको नयाँ जीवनको सर्त हो।

(लेखक एमालेसम्बद्ध रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष हुन् ।) 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *