
कुरा यहाँबाट सुरु गरौँ- अभिभावक भनेको के हो ? कस्तो हुनु पर्छ ?
म स्वयं इन्जिनियर हुँ। काम गर्ने र गराउने क्रममा कामदारबाट भएका गल्ती र कमजोरीको जिम्मेवार इन्जिनियरले लिन्छ। मैले कामदारलाई गल्ती गर्न भनेको होइन भनेर पन्छिने छुट हुँदैन। यसो भयो भने विधि र पद्धतिमा विश्वास हुँदैन। कामको गुणस्तर खस्किँदै जान्छ। जिम्मेवारी बोधको औचित्य सकिन्छ।
आफू अभिभावक भएपछि आफ्नो सन्तानले गरेको गल्तीमा पनि आफू जिम्मेवार हुनुपर्छ। विद्यार्थी असफल हुँदा शिक्षक जिम्मेवार हुन्छ। शिक्षक असफल हुँदै गर्दा प्रधानाध्यापक जिम्मेवार हुनुपर्छ। यो गतिलो अभिभावकत्वको उदाहरण हो।
आफ्नो सन्तानको गल्तीमा छिमेकीसँग बाझ्नु ठिक होइन। मैले चोर्न लगाको हो र ? मैले कुट्न लगाको हो र ? तसर्थ, मैले किन जिम्मेवारी लिने ? यस्तो वाक्यांश प्रयोग गर्नु कानुनी रूपमा त ठिकै होला, तर नैतिक रूपमा वा सामाजिक रूपमा उचित होइन ।
राजनीतिमा त यो सूत्र अझ महत्त्वपूर्ण हुन्छ। नैतिकताको राजनीति गर्नेहरूलाई सधैँ कर्तव्य र जिम्मेवारीको बोध हुनै पर्छ। आफ्नो पद र मर्यादा बिर्सेर गरिने राजनीति स्वार्थपूर्ण हो। असल नेतृत्वले जस या अपजस दुवै कुराको उत्तिकै जिम्मेवारी लिनुपर्छ। अरुलाई दोषी देखाएर पन्छिन मिल्दैन।
हालैको जेन-जी आन्दोलनले उग्र रूप लियो। आन्दोलन सम्हाली नसक्नु भयो। गोली चल्यो। दर्जनौँ विद्यार्थीको ज्यान गयो। त्यसैको प्रतिशोधस्वरूप अर्को दिन आन्दोलनले अर्को मोड लियो। कैयौँ सरकारी संरचना आगजनी गरिए। थुप्रै व्यापारिक प्रतिष्ठान खरानी भए। नेता कुटिए । उनीहरूका घर जले। स्थिति नियन्त्रणबाहिर गएपछि सरकार पछि हट्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर सुरक्षित स्थानमा भाग्नुपर्ने अवस्था आयो। प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । चुनावको मितिसमेत घोषणा भयो। भलै, तोकिएको समयमा चुनाव हुने छाँटकाँट देखिँदैन।
एमाले हिजो लड्दै र उठ्दै यहाँसम्म आएको पार्टी हो। अब अरुको आलोचनाका ठेलीभन्दा पार्टीका विचार र कार्य योजना लिएर जनतामाझ जानुपर्छ। २०६४ मा ब्यहोरेको हार पनि सम्झिनुपर्छ र २०७४ मा प्राप्त जित पनि सम्झिनु पर्छ। हार–जित जीवन्त पार्टीको लागि नियमित प्रक्रिया हुन्। यो अवधिमा सभ्य र विश्वासिलो तवरले भएका मतदाता सुरक्षित राख्नु र नयाँ मतदातालाई आकर्षित गर्ने कार्यक्रम लिएर अघि बढ्नु नै पार्टी, जनता र देशको हित हो।
केही दिनको गुप्तबासपछि केपी शर्मा ओली झुल्किन थाल्नुभयो। विभिन्न कार्यक्रममार्फत आफ्ना धारणा र विचार प्रकट पनि गर्न थाल्नुभयो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुपचाप हुनुहुन्छ। उहाँको विशेषता नै ‘चुपचापवाद’ हो। तर, दोस्रो तहका नेताले पार्टी कार्यकर्तालाई थुमथुम्याउँदै छन्। जेनजी समूहप्रति सद्भाव देखाएर त्यो समूहको भरपर्दो आधार आफू हो भन्ने प्रमाणित गर्न प्रयत्न गर्दै छन्। गगन थापाका हरेक दिनका फेसबुक लाइभले त्यही संकेत गर्छ। पटक–पटक पार्टीमा, संसदमा र सरकारमा अवसर पाएर पनि सधैँ आलोचना र विरोधको राजनीतिलाई मूल मन्त्र बनाएका ‘विरोधवाद’ का पर्याय गगनलाई सजिलै विश्वास गर्ने अवस्था पनि देखिँदैन।
उता, माओवादी अध्यक्ष प्रचण्ड अलिअलि खुल्दै हुनुहुन्छ। हरेक घटनालाई अवसरको रूपमा लिने प्रचण्डको शैली गज्जबको छ। परिस्थिति जता पल्टिन्छ, प्रचण्ड त्यतै ढल्किन्छ । यो नै प्रचण्डको प्रमुख विशेषता हो। भेलमा बगेका माछालाई क्याच गर्न सकिन्छ कि भन्ने झिनो आशा छ उहाँलाई। तर, त्यति सजिलो छैन। यो पछिल्लो आन्दोलनमा प्रचण्डको भूमिकालाई लिएर विभिन्न शङ्का र टीकाटिप्पणी हुँदै आएका पनि छन्। साथै, एक प्रकारले उहाँ यति बेला दोधारे मनस्थितिमा हुनुहुन्छ। के गर्दा ठिक र के गर्दा बेठीक भन्ने छुट्टाउन सक्नुभएको छैन। जेनजी समूहलाई पनि नचिढ्याउने र आफ्नो कार्यकर्ता पंक्तिलाई पनि जोगाउने भरमग्दुर प्रयासको फर्मुला खोज्दै गरेका प्रचण्डको अवस्था अब उकालिने वा झर्ने हो निश्चित छैन। तर, मजबुत संगठनको बलमा समानुपातिक भोटले फेरि संसदमा उदाउन सकिन्छ कि भन्ने परालको त्यान्द्रो अझै सुरक्षित छ। समानुपातिकबाटै, अथवा कुनै दुर्गम क्षेत्रबाट प्रचण्ड आगामी संसदमा देखिने अवसर भने अझै छ।
यो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीका केही स्वभावगत कमजोर वा विशेषता छर्लङ्गै देखिए । मुख्य त उहाँको अहमताको मात्रा र छुद्रताको पारो ज्यादा उकालो चढेको देखियो। घटना घटिसकेपछि कम्तीमा नैतिकताको आधारमा माफी मागेर राजीनामा दिनुपर्ने थियो। कानुनी हिसाबले दोषी या निर्दोष छानबिनपछि स्पष्ट हुन्थ्यो। उहाँले भन्नू पर्थ्यो– मैले निर्देशन नदिएको भए पनि गोली चल्यो। थुप्रै विद्यार्थीको दुःखद निधन भयो। यस घटनाको म नैतिक जिम्मेवारी लिँदै माफी माग्छु। तर, कानुनी रूपमा छानबिन गरी मेरो गल्ती देखिएमा सजाय भोग्न तयार छु। यति भनिदिएको भए उहाँको उचाइ घट्ने पक्कै थिएन। उस्तै परे बढ्दो हो।
वाकपटुतामा राम्रो कला भएका र कुशाग्र बुद्धिको धनी हुँदाहुँदै पनि ओलीका केही कमजोरी यसपालि आत्मघाती साबित भए । विपक्षीलाई भाषणमार्फत पल्लो किनारा पुर्याउने, आफ्नै पार्टीभित्रका फरक गुटका कार्यकर्ता र नेतालाई अपमानजनक व्यवहार गर्ने, आफूबाहेक अरुको उचित विचार र सुझाव पनि पटक्कै नस्वीकार्ने, हल्का विषयमा पनि आफ्नो पदीय मर्यादा बिर्सिएर कडा टिप्पणी गर्ने, जनसङ्गठनहरूमा हालीमुहाली गरेर कब्जा गर्न तम्सिने, जन वर्गीय सङ्गठनमा निर्वाचनमार्फत नेतृत्व चयन गर्न नखोज्ने, आफ्नै पार्टीका सिपाहीलाई हरूवा भनेर अपमानित गर्न खोज्नेजस्ता अत्यन्तै तुच्छ सोचले गर्दा धेरैको मन भाँचिएको भान हुन्थ्यो ।
एक अभिभावकको रूपमा ओलीले भन्नुपर्थ्यो, ‘मैले निर्देशन नदिएको भए पनि गोली चल्यो। कयौँ विद्यार्थीको दुःखद निधन भयो। यसको म नैतिक जिम्मेवारी लिँदै माफी माग्छु। तर, कानुनी रूपमा छानबिन गरी मेरो गल्ती देखिए सजाय भोग्न तयार छु ।’ यति भनिदिएको भए उहाँको उचाइ घट्ने वाला थिएन। उस्तै परे बढ्दो हो। के नेतृत्वले माफी माग्दा पाप लाग्छ र ?
युवा संघ र अखिलको अधिवेशनमा होस् वा विद्या भण्डारीको केसमा त नेतृत्वको नाङ्गो नाच छर्लङ्ग देखाएको भान ओलीबाहेक शायद सबैलाई भएकै होला। यस्ता कारणले गर्दा पछिल्लो समय पार्टीभित्रबाट भुसको आगोजस्तै आलोचना र असन्तुष्टिको आगो सल्किन थालेको थियो। घरभित्रैबाट आलोचना हुन थालेपछि विपक्षीलाई मट्टितेल थप्न सजिलो हुने नै भयो।
अहिले समग्र एमाले मौन छ। बोलेका छन् त केवल अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र महेश बस्नेत। यी तिनै जनाको भनाइ धेरै हदसम्म उचित छ। तर, हरेक भनाइ र विचार सम्प्रेषणको उचित समय हुन्छ। भनिन्छ नि, मलाम गएको बेला जन्ते बाख्राको कुरा र जन्त गएको बेला श्राद्धको कुरा गर्नु सान्दर्भिक हुँदैन । देश , काल र परिस्थिति बुझेर त्यही अनुकूलको विचार सम्प्रेषण गर्नु उपयुक्त हुन्छ।
यति हुँदाहुँदै पनि समकालीन नेतामा ओलीको जस्तो राजनीतिक चतुर्याइँ , देश विकास प्रतिको उत्कट चाहना र विश्व ब्रह्माण्ड, इतिहास, विज्ञान र समाजप्रतिको बुझाई अन्य नेतामा छैन। समकालीनमात्रै होइन, दोस्रो पुस्ताका नेतामा पनि त्यो क्षमता देखिँदैन। तर, आफ्नै केही स्वभावगत कमजोरीले यी सबै सबल पक्षलाई छायामा पारिदिएको सत्य हो। आफ्नै कमजोरीको बुर्काले ओलीको उज्यालो अनुहार छोपिएको छ। त्यो छेकबार हटाउनासाथ पार्टीभित्रका धेरै समस्याको निराकरण तत्काल हुनसक्छ।
राष्ट्रियताको कुरामा होस् या देशको स्वाभिमान रक्षाको पक्षमा होस्, ओलीको वचनदार भनाइ र अडान प्रशंसायोग्य छ। संविधान जारी गर्दैगर्दाको जोखिम उनैले उठाएका थिए। माओवादीको छायामा परेर बिलाउँदै गरेको एमालेलाई तङ्ग्राउने काम उनैले गरेका थिए। विकास निर्माणको सन्दर्भमा यो तहको भिजन र परिकल्पना गर्नु आफैँमा अद्वितीय क्षमता हो। देशभरका तुइन विस्थापन, सुरुङ मार्ग निर्माण , धरहरा, रानीपोखरी पुनः निर्माण, भूकम्प , बाढी–पहिरो हावाहुरीलगायत प्रकोप पीडितलाई तुरुन्तै उद्धार र वासस्थानको व्यवस्था।
कोभिडसँगको जुधाई, जटिल अवस्थामा पुगेको अर्थतन्त्रलाई सुधार, विभिन्न नयाँ तथा पुराना राजमार्गको विकास र विस्तार, रङ्गशाला, रेल, अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण र सञ्चालन, चीनसँगको पारवहन सम्झौता वा नाकाबन्दीको समयमा लिइएको चट्टानी अडान। चुच्चे नक्सा जारी गरेर त्यसको अन्तर्राष्ट्रियकरण गर्न सक्नु। यी यावत कुराको नेतृत्व ओलीले गरेका हुन् र इतिहासले यी तथ्य र योगदानलाई सधैँ सम्झिने छ। यसैको फलवरुप भूराजनीतिक सन्तुलनमा केही असर परेकै हो। केही विदेशी तत्त्व यो प्रक्रियासँग त्यति खुसी थिएनन् ।
त्यसमै घ्यू थप्ने काम उनका केही कमजोरीले गर्यो। भ्रष्टाचार र सुशासनमा ओली सरकार खरो उत्रिन सकेन। बाहिरबाट हेर्दा पार्टीभित्र ताना शाही प्रवृत्ति हावी भएजस्तो देखियो। रवि लामिछाने र बालेनप्रति अनावश्यक छुद्र टिप्पणी र व्यवहारले नुनचुक थपे जस्तो भयो।
आफ्नो सन्तानको गल्तीमा छिमेकीसँग बाझ्नु ठिक होइन। मैले चोर्न लगाको हो र ? मैले कुट्न लगाको हो र ? तसर्थ, मैले किन जिम्मेवारी लिने ? यस्तो वाक्यांश प्रयोग गर्नु कानुनी रूपमा त ठिकै होला, तर नैतिक रूपमा वा सामाजिक रूपमा उचित होइन ।
समग्रमा हेर्दा घरभित्रको फोहोर सफा गर्नुभन्दा पर्खाल बाहिरको बाटो सफा गर्न जोडबल गरेजस्तो देखियो। जसले गर्दा घरभित्रका त यसै खुसी भएनन् नै, पर्खाल बाहिरका छिमेकी पनि अझ रुष्ट बन्दै गए। उनले राष्ट्रियतामाथि नै आँच पुग्ने गल्ती गरेजस्तो लाग्दैन । तर, सानो कोटरीमा रमाउँदा पार्टीभित्र र बाहिर रहेकाहरूले खेल्ने मौका अवश्य पाएका हुन्। त्यसबाहेक मिडियाको सहयोग लिन नसक्नु ठूलो कमजोरी देखियो।
जे हुने भइहाल्यो। त्यो शक्ति सन्तुलनलाई नजरअन्दाज गर्न नसक्नु र आवश्यक सूचना प्राप्त गर्न नसक्नु प्रमको रूपमा ठूलो कमजोरी भयो। आन्दोलनमा घुसपैठ भयो। त्यो लगभग सबै आन्दोलनमा हुन्छ नै। घुसपैठलाई दोष देखाएर जिम्मेवार पदले नैतिकता बिर्सनु हुँदैन। गल्ती स्वीकार्दै छानबिन गराउन सक्नुपर्छ।
मैले गोली हान्न निर्देशन दिएको होइन भनेर जिम्मेवारीबाट पन्छिन मिल्दै मिल्दैन। फेरि जोड दिन चाहन्छु। एक अभिभावकको रूपमा ओलीले भन्नुपर्थ्यो, ‘मैले निर्देशन नदिएको भए पनि गोली चल्यो। कयौँ विद्यार्थीको दुःखद निधन भयो। यसको म नैतिक जिम्मेवारी लिँदै माफी माग्छु। तर, कानुनी रूपमा छानबिन गरी मेरो गल्ती देखिए सजाय भोग्न तयार छु ।’ यति भनिदिएको भए उहाँको उचाइ घट्ने वाला थिएन। उस्तै परे बढ्दो हो। के नेतृत्वले माफी माग्दा पाप लाग्छ र ?
महाधिवेशनको मिति तोकिसकेको अवस्था छ। पार्टी अध्यक्षबाट ओलीले तुरुन्तै राजीनामा दिनुपर्छ। पदाधिकारीले समेत राजीनामा दिएर अविलम्ब महाधिवेशन गर्नुपर्छ। अधिवेशनले पुनः ओलीलाई अध्यक्ष बनाउन सक्छ। पुस्तान्तरणको मुद्दाबाहेक अन्य कुरामा ओलीको नेतृत्व त्यति असान्दर्भिक देखिँदैन पनि। अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष (सम्भवतः ओली नै) कै नेतृत्वमा निर्वाचनमा होमिनु पर्छ। जित र हार जनताको हातमा छ। जित्नै पर्छ भन्ने छैन।
एमाले हिजो लड्दै र उठ्दै यहाँसम्म आएको पार्टी हो। अब अरुको आलोचनाका ठेलीभन्दा पार्टीका विचार र कार्य योजना लिएर जनतामाझ जानुपर्छ। २०६४ मा ब्यहोरेको हार पनि सम्झिनुपर्छ र २०७४ मा प्राप्त जित पनि सम्झिनु पर्छ। हार–जित जीवन्त पार्टीको लागि नियमित प्रक्रिया हुन्। यो अवधिमा सभ्य र विश्वासिलो तवरले भएका मतदाता सुरक्षित राख्नु र नयाँ मतदातालाई आकर्षित गर्ने कार्यक्रम लिएर अघि बढ्नु नै पार्टी, जनता र देशको हित हो।

Leave a Reply