अनि रेनु मिसले भन्नुभयो, ‘तिमी भविष्यमा पत्रकार बन्नेरहेछौ’

स्कूले जीवनमा मेरो लागि साह्रै रमाइलो खेल थियो, हाजिरी जवाफ प्रतियोगिता । कक्षा २ मा हाम्रो टोली दोस्रो भएको सम्झनाको छाया मनबाट अहिलेसम्म हराएको छैन । त्यो बेला कक्षा ६ र ७ को पढाइलाई निम्न माध्यमिक विद्यालयस्तर निर्धारण गरिएको थियो । कक्षा ३ पछि मेरै टोलको गणेश प्राविबाट धनकुटा नगरको वारीपात्लेस्थित भाषा निमाविमा स्थानान्तरित भएँ ।

निमावि तहमा पढिरहेको बेला विद्यालयले आयोजना गर्ने हाजिरी जवाफ प्रतियोगिता मेरो टोलीको प्रतिस्पर्धा मेरा सहपाठी रामप्रसाद वाग्लेको टोलीसँग हुन्थ्यो । प्रायः उनकै टोलीले बाजी मार्थ्यो, तर एक दुई पटकको प्रतिस्पर्धामा उनलाई मेरो टोलीले उछिन्न भ्याएको छ । कक्षामा पनि उनलाई म दोस्रो स्थानमा रहेर पछ्याइरहेको थिएँ ।

वास्तवमा रामप्रसादको घरको वातावरण विद्यामय थियो । उनीहरू त घरैमा हरेक साता हाजिरी जवाफ प्रतियोगिता गर्थे र विजयीहरूलाई पुरस्कारको पनि प्रबन्ध हुन्थ्यो । परिणामतः उनका दाजु श्याम र बहिनी राधाले विद्यावारिधि गरे । रामप्रसाद आफै नेपाल सरकारको उपसचिव छन् । उनले सानै उमेरमा शाखा अधिकृतमा नाम निकाले ।

तत्कालीन प्रधानाध्यापक कृष्णबहादुर कार्कीले एक दिन हामीलाई सूचना दिनुभयो,“बजारको गोकुण्डेश्वर माविले नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्दैछ । रामप्रसाद, राजकुमार, मेनुका र श्याम गएर भाग लिनू । रामप्रसाद तिमीहरूको टोली नेता ।”

हामी फुरुङ्ग पर्दै यमुना मिसको पछि लागेर बजारतिर झ¥यौँ । हामीमा ठूलो आत्मविश्वास थियो । विजयी भएर पाइने पुरस्कारमाथि हाम्रो दृष्टि एक टकले परिरहेको थियो ।

हामीलाई प्रतियोगिता स्थलतिर डोर्‍याएर लैजानु हुने गुरुआमा यमुना मिस प्रसिद्ध समालोचक प्राडा दयाराम श्रेष्ठ “सम्भव”की सहोदर बहिनी । उहाँसँग मैले कक्षा ४ देखि ७ सम्म विज्ञान विषय पढेँ । साह्रै मायालु पाराले पढाउनुहुन्थ्यो ।

त्यसबेला धनकुटा नगरभरि केवल पाँच वटा थिए, निमावि तहको पढाई हुने विद्यालय । हिले निमावि, गोकुण्डेश्वर मावि, गोकुण्डेश्वर बालमन्दिर मावि, त्रिवेणी निमावि र हामी पढ्ने भाषा निमावि । धनकुटा नगरमा त्यो बेला मावि तहको पढाई हुने गोकुण्डेश्वर मावि मात्रै भए पनि टुँडिखेलतिरको गोकुण्डेश्वर बालमन्दिरले पनि त्यहीँ सालबाट मावि तहको पढाई सुरु गरेको थियो । कुरा हो, २०४२ सालको ।

हाजिरी जवाफ प्रतियोगिता सुरु भयो । एउटा कागजको बाकस राखिएको थियो । बाकसमा प्रश्नहरू लेखिएको चिर्कटोहरू पट्याएर राखिएका थिए । त्यहीँ चिर्कटो तान्दै त्यहाँ जे लेखिएको छ, त्यहीँ प्रश्न सोधिन्थ्यो । प्रतियोगिता सञ्चालक हुनुहुन्थ्यो, सोही विद्यालयका शिक्षक राजकुमार पोखरेल । हाल: त्रिवि केन्द्रीय इतिहास विभागमा प्राध्यापनरत प्राडा राजकुमार पोखरेल त्यसबेला गोकुण्डेश्वर माविमा शिक्षक हुनुहुन्थ्यो । उहाँसँग मैले कक्षा ८ मा इतिहास विषय पढेको छु । उहाँमा इतिहासको ज्ञान मात्रै होइन ज्ञान प्रवाह गर्ने शिक्षणशैली पनि प्रभावकारी थियो । हामीलाई पढाएको एक वर्षपछि जागिर छाडेर उहाँ स्नातकोत्तर तहको अध्ययनको लागि काठमाडौँ जानुभएको सुनियो । पछि उहाँ इतिहास विषयमा विश्वविद्यालय टपर हुनुभएको पनि हामीले सोही विद्यालयमा पढ्दाताका थाहा पायौँ ।

प्रतियोगिता भर हामी उत्साहित थियौँ । सकभर एउटा पनि प्रश्नलाई हामीले खेर जान दिएनौँ । हामीले जति पटक सही उत्तर दिन्थ्यौँ, त्यति नै पटक बडो उत्साहले मञ्चमा आसिन एक जना शिक्षिका गलल हाँस्दै उहाँको पछिल्लतिरको आसनमा रहनुहुने यमुना मीसतिर फर्कँदै धाप मार्दै के के भनिरहेको दृश्यतिर पनि मेरो आँखा परिरहेको थियो । ती शिक्षिकालाई टाइम किपिङको जिम्मेवारी दिइएको थियो । सायद उहाँ यमुना मिसलाई “तिम्रो स्कुलका विद्यार्थीहरू त छुरा रहेछन्” भनिरहनुभएको थियो कि ? अन्तिम परिणाम आइसकेपछि ती टाइम किपर शिक्षिकाबाट यमुना मिसलाई ठूलै धापमारीका साथ बधाई दिइएको दृश्य अहिले पनि मेरो आँखामा नाचिरहेछ । उहाँ हुनुहुन्थ्यो शिक्षिका रेणु श्रेष्ठ अर्थात् रेनु मिस ।

एउटा सही प्रश्नको एक नम्बर दिने चलनअनुसार हामीले कुल १७ अङ्क बटुल्दा आयोजक गोकुण्डेश्वर मावि १४ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । त्रिवेणी निमाविले तेस्रो स्थान हासिल ग¥यो । आयोजक विद्यालय कोर बजार क्षेत्रको थियो र त्यसबेला धनकुटा जिल्लाकै सबैभन्दा बढी विद्यार्थी पढ्ने विद्यालय पनि । हामी चाहिँ अलि पाखा भित्तामा रहेको सामान्य विद्यालयका प¥यौँ । त्यो प्रतियोगिताको परिणाम नपत्याउने खोलाले बगाएजस्तो पनि भयो ।

हाम्रो टोलीमा रामप्रसाद, मेनुका कार्की, श्याम शाहीसहित म थिएँ । दोस्रो हुने टोलीको नेता वन्दना न्यौपाने थिइन् । उनकासाथ शिशिर चापागाईँ, मनुजा पोखरेल र सरोज पोखरेल थिए । शिशिर चलचित्र निर्माता तथा गोपीकृष्ण हलका मालिक उद्धव पौडेलका सहोदर भान्जा हुन् । उनका बुबा त्यसबेला जिल्ला प्रशासन कार्यालय, धनकुटाका नासु हुनुहुन्थ्यो । त्यसबेला आफ्ना मामा र माइजुले निर्माण गरिरहेको चलचित्र “कुसुमे रुमाल”बारे हामीसँग खुब चर्चा गर्थे शिशिर । मनुजाका बुबा उपेन्द्र पोखरेल धनकुटा बहुमुखी क्याम्पसको प्रमुख हुनुहुन्थ्यो, मैले उच्च शिक्षा अध्ययन सुरु गर्दा ।

तेस्रो हुने टोलीमा सुन्दरमान, हरिभगत, सुशील डङ्गोल र सुवोधकुमार दास थिए । कक्षा ८मा पुग्दा हामी सबै एउटै विद्यालय र एउटै कक्षाका सहपाठी भयौँ, त्यहीँ गोकुण्डेश्वर माविमा ।

हाजिरी जवाफ प्रतियोगिताकै क्रममा कक्षा १० मा पढ्दा मैले निक्कै ठूलो अवसर पाएँ । त्यो थियो, जिल्ला स्तरीय अन्तर मावि प्रतियोगितामा सहभागिता । त्यो बेला उही रामप्रसाद कक्षा प्रथम थिए । त्यहीँ सालदेखि हरेक वर्ष भदौ ४ गते बालदिवस मनाउने क्रममा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने चलन सुरु गरिएको थियो । मैले त आशा गरेकै थिइनँ, तर रामप्रसादले मलाई पनि सहभागी गराउन विद्यालय प्रशासनसँग जोड गरेछन् ।

एउटा टोलीमा जम्मा तीन जनाले मात्रै भाग लिन पाउने व्यवस्था थियो, तर प्रतियोगितामा भाग लिन चाहने चार जना भयौँ । दुई जना रामप्रसाद र अरुण पौडेल निर्विवाद छानिए, तर एक जना कक्षा ९ मा पढ्ने साथी र ममध्ये कसलाई सहभागी गराउने ? विद्यालय प्रशासन अलमलमा प¥यो । दुई जनाबीच आन्तरिक प्रतिस्पर्धा हुँदा पनि बराबर भयौँ । अन्ततः गोलाप्रथा गरियो । नेपाली विषयका हाम्रा गुरु सुन्दर श्रेष्ठले दुई वटा कागजको गोला हातको मुठ्ठीबाट टेबलमा झर्नुभयो । गोला तान्दा म छानिएँ ।

त्यसबेला लोकसेवा आयोगको हाकिमको रूपमा सरुवा भई धनकुटा पुगेका आफ्ना बुबासँगै त्यहाँ पुगेका थिए, अरुण । रामप्रसाद र म कक्षा १० का तर अरुण चाहिँ कक्षा ७ पढ्दै गरेका । अत्यन्तै तीक्ष्ण दिमागका थिए उनी । पछि पत्रकारितामा संलग्न रहँदा मैले उनलाई काठमाडौँमा भेटेको थिएँ । हाल: उनी बौद्ध दर्शनतिर लागेको सुनेको छु ।

मेरो लागि रामप्रसादकै जोडबल थियो भन्ने त्यसबेलै थाहा पाएँ । पढाइमा राम्रै थिएँ, तर स्वभाव चाहिँ अन्तरमुखी । मेरो यहीँ स्वभावले शिक्षकहरूले मभित्र लुकेको प्रतिभा परख गर्न सकिरहेका थिएनन् ।

गोकुण्डेश्वर बालमन्दिर मावि परिसरमा भएको प्रारम्भिक छनौटमा हाम्रो टोली अब्बल साबित भयो । हामीले १० अङ्क ल्याउँदा दोस्रो हुनेले चार अङ्क ल्याएको थियो । हामीलाई लिएर प्रतियोगिता स्थलमा रेनु मिस जानुभएको थियो । प्रतियोगिताअघि के सम्झेर हो कुन्नि, मलाई मात्रै एकान्तमा बोलाएर उहाँले सोध्नुभयो,“राजकुमार यो प्रतियोगिता तिमीहरूले जित्छौ त ?”

मैले बडो आत्मविश्वासका साथ भनेँ,“हामी पक्का जित्छौँ मिस ।” प्रतियोगिता हो, कस्तो परिणाम आउने हो के थाहा ? तर त्यो बेला मभित्र उत्पन्न आत्मविश्वास मूर्खता थियो कि दुस्साहस ? अहिले सम्झँदा आश्चर्य लाग्छ ।

भोलीपल्ट सामुदायिक भवनमा आयोजित फाइनल प्रतिस्पर्धा पनि रोचक थियो । तर भिडन्त हाम्रो लागि कडा थिएन । हामी पुरै हाबी भयौँ, प्रतिस्पर्धी विहीनजस्तै । हामीले १० अङ्क ल्याउँदा दोस्रो हुने टोलीले हिजोजस्तै चार र तेस्रो हुने टोलीले तीन अङ्क प्राप्त ग¥यो । यी दुई टोली धनकुटा नगरबाहिरका विद्यालय थिए, मैले नाम चाहिँ बिर्सिएँ ।

प्रतियोगिता सञ्चालन धनकुटा बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख नारायण जोशीले गर्नुभएको थियो । उहाँको शैली प्रभावशाली थियो । नारायण सर प्रसिद्ध लोकगायक लक्ष्मीप्रसाद जोशीका सहोदर भाइ र प्रसिद्ध कविहरू तुलसी दिवस र मोमिला जोशीका सहोदर काका अनि रेनु मिसको सहोदर कान्छा मामा ।

यो प्रतियोगितामा हाम्रो टोलीले सहभागी तीन जनालाई भाग लाग्ने गरी कुल पाँच सय रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र पायो । त्यति ठूलो राशिको पुरस्कार र प्रमाण पत्र पाएको मेरो जिन्दगीको पहिलो घटना थियो । यसमा मेरा साथी रामप्रसादको मप्रतिको सद्भाव र सहानुभूतिको ठूलो भूमिका रहेको अविस्मरणीय छ । हामीले यो प्रतियोगिता जितेको भोलीपल्ट अर्थात् २०४५ साल भदौ ५ गते गएको भूकम्पले पूर्वी नेपाललाई तहसनहस बनायो ।

हँसिलो मुहार नरम व्यवहार

मैले स्कुले जीवनमा भाग लिएको दुई महत्त्वपूर्ण प्रतियोगिताका साक्षी हुनुहुन्छ रेनु मिस । त्यस कारण पनि उहाँ मेरो लागि शिरोमणि हुनुभयो ।

उहाँ हामी विद्यार्थीहरूमाझ उस्तै प्रिय गुरुआमा हुनुहुन्थ्यो । शिक्षित र संस्कारी परिवारको एउटा सदस्य भएकोले पनि उहाँमा कहिल्यै घमन्ड र द्वेष देखिएन । त्यसबेला विद्यार्थीहरू गुरु र गुरुआमाहरूको थरी थरी कुरा काट्थे । पिठ्यूँपछाडीका यस्ता कुरा कटानीको पात्रको रूपमा रेनु मिसको नाम उच्चारण भएको मैले कहिल्यै सुन्न पाइनँ । कतिपय उटपट्याङ विद्यार्थीले गुरु र गुरुआमाहरूको उपनाम राखिदिएका थिए, तर रेनु मिसको नाममा त्यस्तो उपनाम लगाइएको थाहा भएन ।

उहाँको विषय इतिहास थियो । मैले तीन महिना जति ऐच्छिक तथ्याङ्क गणित पढेँ तर मलाई इतिहास विषयले आकर्षित गर्‍यो । रेनु मिसको मायालु पाराको अध्यापन शैली छँदै थियो ।

“तिमी पत्रकार बन्ने रहेछौ”

कुनै शिक्षक अनुपस्थित हुनासाथ हामी विद्यार्थीहरू कक्षाभित्र कल्याङमल्याङ गर्न थालिहाल्थ्यौँ । आफू पनि फुर्सदमा भएको बेला रेनु मिस त्यस्ता खाली कक्षाहरूमा फुत्त पस्नुहुन्थ्यो । अनि रमाइला प्रसङ्गहरू झिकेर विद्यार्थीहरूको धारणा बुझ्न सुरु गर्नुहुन्थ्यो । उहाँ विद्यार्थीहरूको मनोविज्ञानलाई शोधविधिजस्तै गरी परीक्षण गर्नुहुन्थ्यो । अनि एकछिनअघिसम्म कल्याङमल्याङ गरिरहेका हामी शान्त मात्रै हुँदैनथ्यौँ, रेनु मिससँगै रमाइरहेका हुन्थ्यौँ ।

कक्षा खाली भएको बेला उहाँले एक दिन हामीलाई सोध्नु भयो,“तिमीहरूको केमा रुचि छ ?” धेरैजसोले पढ्नेतिर आफूहरूको रुचि रहेको बताए । उनीहरूले पढ्ने विधा चाहिँ आफैले पढिरहेको पाठ्यक्रमलाई देखाए । तर मलाई चाहिँ उनीहरूभन्दा अलि फरक हुन मन लाग्यो । मेरो पालो आएपछि भनेँ,“मेरो त लेख्नेतिर रुचि छ मिस ।”

“ओहो, तिमीलाई लेख्नेतिर रुचि छ ? ल तिमी भविष्यमा कवि, लेखक र पत्रकार हुने रहेछौ”, उहाँले यसो भन्नुहुँदा कवि र लेखक चाहिँ बुझेँ तर पत्रकारबारे चाहिँ मलाई त्यति थाहा थिएन । धनकुटामा तत्कालीन वामपन्थी नेता (पछि काँग्रेस) आनन्द सन्तोषी राई, अर्का वामपन्थी नेता जीवप्रसाद पोखरेल त्यति बेला धनकुटामा पत्रकार हुन् रे भन्ने सुनेकोसम्म हो दाजुहरूबाट । राष्ट्रिय पञ्चायतको चुनावको बेला टुप्लुक्क धनकुटा आएर उम्मेदवार बन्थे विश्वजीत किराँती । धनकुटा छिन्ताङका उनी प्रायः काठमाडौँ बस्थे र चुनावको बेला हाम्रो टोल नजिकैको अर्को टोलमा रहेको ससुराली घरमा बसेर अड्डा जमाउँथे । उनलाई पनि दाजुहरू पत्रकार भन्थे । उनले “अन्तरवार्ता” साप्ताहिक चलाउँछन् भन्ने पछि मात्र थाहा भयो । तर वास्तवमा उनी राष्ट्रिय अनुसन्धानको कर्मचारी रहेछन् र सूर्यबहादुर थापा उठेको जिल्ला भएकोले जासुसी गर्न उम्मेदवार बन्दारहेछन् । पछि डीएसपी पदबाट सेवानिवृत्त भए भन्ने सुनेको थिएँ, उनी दिवंगत भइसके ।

रेनु मिसको “तिमी भविष्यमा कवि, लेखक र पत्रकार हुने रहेछौ” भन्ने उदगारले अब मभित्र ठूलो खुल्दुली मच्चायो, पत्रकार भनेको के हो ? पत्रकारले के काम गर्छ ? पत्रकार कसरी बन्न सकिन्छ ?

पञ्चायतकाल थियो, पत्रकारिता क्षेत्र सीमित थियो । तर पञ्चायतविरोधी आन्दोलनमा लागेका मेरा दाजुहरूले प्रशस्तै साप्ताहिक अखबारहरू घरमा ल्याउँथे । मैले एसएलसी परीक्षा दिएको अर्को वर्ष त बहुदल पनि आइहाल्यो । मैले ढिला नगरीकन पत्रकारितामा प्रवेश गर्ने निधो पनि गरिहालेँ । रेनु मिसको आशीर्वादसहितको भविष्यवाणी छँदै थियो, मलाई पत्रकारितामा डोर्‍याउने श्रेय चाहिँ जिल्ला विकास समितिका तत्कालीन सभापति धर्मराज पौड्याल र मेरा अग्रज हालः ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलालाई जान्छ ।

पेशागत मैले २२ वर्ष पत्रकारिता गरेँ । कतिपयलाई पत्रकारितामा ल्याएँ । आठ वर्ष आमसञ्चार तथा पत्रकारिता विषयकै प्राध्यापन गरेँ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यसम्म भएँ । आफ्नो पहिचान यसरी स्थापित गरेँ । रेनु मिसको त्यो भविष्यवाणी मेरो लागि पक्का गुरुमन्त्र बन्यो ।

एसएलसी पास भएको खबर

हामीले एसएलसी दिएको साल किन हो कुन्नि कक्षा प्रथम रामप्रसाद वाग्लेले परीक्षा ड्रप गरे । अर्को साल उनी जिल्ला प्रथम भए । कक्षा ४ देखि सँगै पढेका सहपाठीभन्दा म एक ब्याच सिनियर भएँ, एसएलसीमा । अघिल्लो साल नै एसएसली दिनुपर्ने तर किन हो रोकिएर बसेका दुई सिनियर मोहन श्रेष्ठ र उद्धव कटुवाल चाहिँ हाम्रो ब्याचसँग मिसिएर एसएसलीमा भिडे । उनीहरु दुवै दोस्रो श्रेणीमा उत्तीर्ण भए । त्यो बेला एसएलसी परीक्षा निक्कै कडा थियो ।

एसएसलीको नतिजा आएकै दिन आफ्नो अवस्था के छ त्यो पाउन सकिनँ । काठमाडौँमा गोरखापत्र हेरेर मेरो नतिजाबारे खबर गरिदिने आफ्नो भन्नु कोही थिएनन् । भोलीपल्ट बजार गएर गोरखापत्र हेर्ने वा विद्यालयमा गएर बुझ्ने मात्रै विकल्प थियो मसँग । तर आफ्नो नतिजाप्रति म ढुक्क थिएँ । म बजार पुग्दा रेनु मिस बडो उत्साहसाथ घरको ढोकामा भेटिनुभयो । बाटोमा हिँडिरहेको मलाई घरमा बोलाएर कुर्सीमा बसाउनुभयो र भन्नुभयो,“ल तिमीलाई बधाई छ, तिमी सेकेण्ड डिभिजनमा पास भयौ ।” यसरी मैले फलामे ढोका पार गरेको पहिलो खबर पनि रेनु मिसबाटै सुन्ने अवसर पाएँ ।

अघिल्ला वर्षहरूमा विद्यालयको एसएलसी नतिजा सन्तोषजनक नभएको सुनिन्थ्यो । हामीभन्दा अघिल्लो ब्याचमा केवल ६ जना उत्तीर्ण भएकोमा एक जना दोस्रो र बाँकी तेस्रो श्रेणीमा उत्तीर्ण भएकोले विद्यालय त्यति सन्तुष्ट नभएको गाइँगुइँ सुनेको थिएँ । तर हाम्रो ब्याचमा उमेश गुरागाईँ प्रथम श्रेणीमा उत्तीर्ण हुनुलाई विद्यालयले ठूलो गौरव मानेको थियो । नौ जना उत्तीर्ण भएकोमा ६ जना दोस्रो र दुई जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका थियौँ । उसै त हँसमुख त्यसमा पनि हामी विद्यार्थीहरूको सफलतामा रेनु मिसको अनुहार त्यो बेला पूर्णिमाको चाँदनीभन्दा कम थिएन ।

आफू पत्रकार बन्नुको प्रथम प्रेरकको रूपमा म रेनु मिसलाई नै सम्झन्छु । २२ वर्ष लामो पत्रकारिताको यात्रालाई रूपान्तर गर्दै म अहिले स्वतन्त्र रूपमा अनुसन्धानमूलक लेखनमा व्यस्त छु । त्यसमा पनि मैले इतिहास विषयलाई रोजेँ । कक्षा ५ मा ऐच्छिक गणित छाडेर मैले इतिहास विषय रोज्दा रेनु मिसले भन्नुभएको थियो,“लौ राजकुमार, तिमीलाई इतिहास विषयले तानेछ । यो विषय पनि राम्रै विषय हो नि !”

तर यति राम्रो विषयको महत्त्व पनि म लठुवाले धेरैपछि मात्रै बुझेछु । आज मैले इतिहास विषय भनेर मरिहत्ते गरिरहेको बेला उता धनकुटामा रेनु मिसको भौतिक चोला उठेको खबर सुन्न पर्‍यो ।

रेनु मिस भौतिक रूपमा यो संसारमा नरहे पनि आत्मिक रूपमा हामी विद्यार्थीहरूमाझ उहाँको कहिल्यै अवसान हुनेछैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *