
काठमाडाैं । नेपाल तयारी पोशाक उद्योग संघले नगद अनुदान कटौतीले निर्यातमुखी उद्योगहरूमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । निर्यातमा नगद अनुदान लगायतका सुविधाहरू कटौती सम्बन्धमा बुधबार संघले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।
उद्योग विभागले चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी नगद अनुदानका लागि निवेदन नलिने जानकारी दिएको थियो । निर्यात प्रवर्द्धनका लागि हालसम्म कायम रहेको नगद अनुदानको व्यवस्था पूर्ववत् रूपमा सुचारु गर्न सरकारसँग संघले आग्रह गरेको छ । सुचारु नगरे लगानी विस्तार, उत्पादन, निर्यात र रोजगारीमा गम्भीर असर पार्ने संघको ठहर छ ।
तयारी पोशाकले विगतको लामो समय देखि तेस्रो मुलुकहरूको निर्यातमा अग्रस्थान हासिल गर्दै आइरहेको छ । छिमेकी मुलुकहरूको तुलनामा नेपालको समुद्री मार्गसम्मको पहुँचमा धेरै लागत पर्ने भएकोमा निर्यातमा नगद अनुदान र मूल्य अभिवृद्धि करको फिर्ताको कारणले अन्तर्राष्ट्रिय बजारहरूमा प्रतिस्पर्धा गर्दै आइरहेको थियो ।
‘नगद अनुदानका लागि निवेदन नलिने निर्णयले दीर्घकालीन रूपमा निर्यातमुखी उद्योगहरूमा नकारात्मक प्रभाव पार्ने निश्चित छ र नेपाली उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने अवसरबाट वञ्चित गर्नेछ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मूल्य अभिवृद्धि कर फिर्ता प्रक्रिया यथाशीघ्र पेपरलेस र फेसलेस हुनुपर्ने र बन्द अवस्थामा रहेका निर्यात र रोजगारीमूलक उद्योग पुनः सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई प्रतिबद्धता सहित सञ्चालन गर्न रुग्ण उद्योगको मान्यता दिने प्रक्रिया पनि अघि बढाइ निर्यात अभिवृद्धिमा सहजता प्रदानका लागि समेत अनुरोध गर्दछौँ ।’
हाल सम्म कायम रहेका व्यवस्थाहरूको साबिक बमोजिम सुचारु र अन्य व्यवसाय मैत्री उपकरणहरूको माध्यमबाट निर्यात प्रवर्द्धनका लागि थप सहजीकरण गर्नका लागि संघले माग राखेको छ ।

Leave a Reply