
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखामा कार्यरत इस्न्पेक्टर विक्रम सुवेदीले कोहीसँग सरुवा मागेका थिएनन् । अवधि पुगेका कारण कतै न कतै जानुपर्छ भनेर उनी मानसिकरूपमा तयार थिए । जब बुधबारको सरुवा सूचीमा उनले आफ्नो नाम पर्सास्थित वडा प्रहरी कार्यालय, बिर्तामा नाम देखे, एकछिन त ‘हो कि होइन’ भन्नेमा परे ।
नेपाल प्रहरी प्रधान कार्यालयले असोज २८ को मितिमा बुधबार सार्वजनिक गरेको ६६५ इन्स्पेक्टरको सरुवामा परेका थुप्रै इन्स्पक्टर सुवेदीकै स्थितिमा छन् । सरुवा माग्न राजनीतिक दलका उच्चपदस्थ व्यक्ति र विभिन्न गैरप्रहरी शक्तिकेन्द्रमा धाउने प्रहरी प्रचलन जेनजी आन्दोलनयता बन्द छ ।
दलीय प्रभावमा प्रहरी सरुवा हुँदा पहुँच नपुगेर कुँजिनुपर्ने स्थितिका थुप्रै प्रहरीलाई यसपटक प्रहरी संगठनकै मूल्यांकनका आधारमा सरुवा गरिएको प्रहरी स्रोतले जनाएको छ । त्यसैले सुवेदीजस्ता राजनीतिक शक्तिकेन्द्र नचिनेका इन्स्पेक्टर सबैभन्दा आकर्षक ठाउँमा पुगेका छन् । अपरेशनल कमाण्डमा दखल राख्ने उनले रुकुम पश्चिमस्थित प्रहरी कार्यालय, आठबीसकोटमा रहँदा २०७९ का तीनै तहको निर्वाचन सम्पन्न गराएका थिए ।
अख्तियारबाटै महोत्तरीस्थित इलाका प्रहरी कार्यालय, गौशाला सरुवा भएका रमेश लामाले पनि त्यस्तो आकर्षक पोष्टिङ पाउने आश गरेका थिएनन् । उनी पनि सरुवामा नाम देखेर चकित परेका छन् ।
सुवेदी र लामाजस्तै अवस्थामा रहे, झापास्थित इलाका प्रहरी कार्यालय, अनारमनीमा कार्यरत इन्स्पेक्टर सन्तोष राई । उनले सरुवा भए पनि पूर्वतिर कतै मागेका थिए । तर, परिदिए जिल्ला ट्राफिक कार्यालय, झापाका लागि । इन्स्पेक्टर दर्जामा जिल्ला ट्राफिक सबभन्दा आकर्षक मानिन्छ । ती युनिटमा सरुवा जानका लागि व्यापक शक्तिकेन्द्रको प्रयोग हुने गर्थे ।
भक्तपुरस्थित प्रहरी वृत्त ठिमीबाट जिल्ला ट्राफिक पर्सामा सरुवा भएका युवराज कटुवाल, केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाट वडा प्रहरी कार्यालय नेपालगञ्ज गएका शेखर खड्का, प्रहरी प्रधान कार्यालयको कार्य विभागबाट जिल्ला ट्राफिक सिराहा सरुवा भएका लाहान ट्राफिक शालिकग्राम तिमल्सिना प्रप्रका कार्यविभागमा कार्यरत थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत राजन ढकाल कपिलवस्तुस्थित जिल्ला ट्राफिक प्रमुखका रुपमा सरुवा भएका छन् ।
लामो समय प्रहरी महानिरीक्षक (आईजी) को गृह प्रवन्धमा बसेका विशाल मल्ललाई पर्साको बिर्ता, बाँकेको नेपालगञ्ज वा कुनै जिल्ला ट्राफिकको पोष्टिङ मिल्ने आश थियो । चाहँदा आईजीले आफूसँगै काम गर्ने एउटा अफिसरलाई त्यस्ता ठाउँमा पठाउनु ठूलो कुरा हुँदैन । तर, उनी सिराहाको महेशपुर पतारस्थित इलाका प्रहरी कार्यालय सरुवा भएका छन् ।
मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासनमा कार्यरत इन्स्पेक्टर प्रदीप पौडेल अर्को आकर्षक मानिने पर्सास्थित इलाका प्रहरी कार्यालय, पोखरिया सरुवा भएका छन् ।
काठमाडौंका दरबारमार्ग र सोह्रखुट्टे प्रहरीमा लामो समय काम गरेका प्रदीप सुवेदी तनहुँस्थित इलाका प्रहरी कार्यालय आबुखैरेनी सरुवा भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट इन्स्पेक्टर महेशकुमार आचार्य अर्को आकर्षक मानिने कपिलवस्तुस्थित इलाका प्रहरी कार्यालय, गणेशपुर सरुवा भएका छन् । प्रहरी वृत्त, थानकोटबाट माधवप्रसाद चौधरी जिल्ला ट्राफिक, नवलपरासी पश्चिम गएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट मानबहादुर बिसी रुपन्देहीस्थित वडा प्रहरी कार्यालय, भैरहवामा खटिएका छन् । झापा, भद्रपुरस्थित वडा प्रहरी कार्यालयमा मोतिलाल योञ्जन तामाङ सरुवा भएका छन् । उनी सामाखुशीस्थित विपद् व्यवस्थापन कार्यालयमा थिए ।
कास्कीस्थित वडा प्रहरी कार्यालय, बगरमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट रामप्रसाद सापकोटा सरुवा भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय, ढल्केबरमा जिल्ला प्रहरी चितवनबाट लक्ष्मण केसी जाने भएका छन् । त्यहाँ कार्यरत जटाशंकर यादव जिल्ला प्रहरी ताप्लेजुङ सरुवा भएका छन् । उनी जेनजी आन्दोलनमा प्रहरी कार्यालय, हातहतियार, सवारी साधन र जनशक्ति सुरक्षा गरेका कारण असोज महिनका लागि धुनषाका उत्कृष्ट प्रहरी घोषित भएका थिए ।
महिला जिम्मेवारी न्यून
६६५ इन्स्पेक्टर सरुवा हुँदा थोरै महिलाले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । त्यसमध्येकी हुन्, रुक्शा बज्राचार्य । उनले मकवानपुरको पालुङस्थित इलाका प्रहरी कार्यालयको जिम्मेवारी पाएकी हुन् । उनी कास्कीस्थित अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिइन् ।
चितवनस्थित इलाका प्रहरी कार्यालय, फूलबारीको प्रमुखमा कल्पना सापकोटा सरुवा भइन् । उनी काभ्रेस्थित बागमती प्रदेश प्रहरीको केन्द्रीय अनुसन्धान इकाइमा थिइन् ।
भक्तपुरको जिल्ला ट्राफिक प्रमुखमा झरना सोनार सरुवा भएकी छन् । उनी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट त्यहाँ खटिएकी हुन् ।
कास्कीको बैदामस्थित पर्यटक प्रहरीमा इन्स्पेक्टर अमृता केसी सरुवा भएकी छन् । उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सरुवा भएकी हुन् । उक्त कार्यालयले पोखराको लेकसाइड, पार्दीसहितको अत्यधिक पर्यटक पुग्ने क्षेत्रमा काम गर्छ ।
काठमाडौंस्थित पर्यटक प्रहरी, भृकुटीमण्डपमा कार्यरत उमा केसी नारायणहिटी सुरक्षा गारद गुल्ममा सरुवा भएकी छन् । पूर्वी नवलपरासीस्थित इलाका प्रहरी गैंडाकोटमा कार्यालय प्रमुख रहेकी कमला नराल काठमाडौंको सामाखुशीस्थित विपद व्यवस्थापन कार्यालयमा खटिएकी छन् ।
मधेस प्रदेशका तत्कालीन डीआईजी उमाप्रसाद चतुर्वेदीद्वारा उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत भएकी इन्स्पेक्टर निकिताकुमारी मिश्रा प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएकी छन् । एआईजीमा बढुवा भएपछि चुतर्वेदी नै उक्त विभागका प्रमुख छन् ।
काठमाडौंको पर्यटन प्रहरीमा मीनादेवी राई सरुवा भएकी छन् । उनी चितवनको गीतानगरस्थित इलाका प्रहरी कार्यालयबाट त्यहाँ सरुवा भएकी हुन् । कैलालीको चिसापानीस्थित इलाका प्रहरी कार्यालयमा इन्स्पेक्टर मीरा खड्का सरुवा भएकी छन् । सिन्धुलीको डकाहास्थित इलाका प्रहरी कार्यालयको जिम्मेवारी इन्स्पेक्टर सपना खड्काले पाएकी छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरुवा भएकी हुन् ।

Leave a Reply