ओलीको प्रतिवेदन- भदौ २३ को गोलीकाण्ड मलाई घटनापछि थाहा भएको हो (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा १५ बुँदे राजनीतिक प्रतिवेदन पेस गरेका छन् । जेनजी विद्रोहपछि सत्ताच्यूत भएका ओलीले केन्द्रीय कमिटी बैठकमा पछिल्ला विकसित घटनाक्रम समेटेर ६ पृष्ठको प्रतिवेदन पेस गरेका हुन् ।

उनले जेनजी आन्दोलनमा आफूले गोली चलाउन आदेश दिएको भन्ने आरोपको खण्डन गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘गोली चलाउने आदेश कानुनतः अधिकार प्राप्त संस्था वा अधिकारीले मात्र दिन सक्दछ र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट छ। भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि थाहा भएको हो ।’

उनले दङ्गा नियन्त्रणका अन्य वैकल्पिक उपाय अवलम्बन नै नगरी किन त्यति ठूलो मात्रामा गोली चल्यो ? एकसाथ किन करिब दुई दर्जन युवाहरूको हत्या भयो ? किन सयौँको सङ्ख्यामा घाइते बनाइयो ? २४ गतेको विध्वंसको तयारीका लागि वा के का लागि ? २३ र २४ गतेका घटनाहरूको अन्तरसम्बन्धको विश्लेषण गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘भदौ २३ गतेको घटना पछि मन्त्री परिषद्को बैठक बसेको छ । बैठकले उक्त घटनाका सम्बन्धमा दुख व्यक्त गरेको छ। घाइतेहरूको निःशुल्क उपचारका निम्ति निर्णय गरेको छ। मृतक र घाइतेका परिवारलाई राहत र क्षतिपूर्तिका लागि निर्णय गरेको छ। घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउने र त्यस आयोगको सिफारिसमा दोषी उपर कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।’

उनले यथार्थ यस्तो हुँदाहुँदै पनि तत्कालीन प्रधानमन्त्रीविरुद्ध नियोजित रूपमा चलाइएका निराधार र आपराधिक प्रचारलाई एमालेले कडा प्रतिवाद र खारेज गर्ने उल्लेख गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *