लिङदेनलाई दुई महामन्त्रीको पत्रः पार्टीमा अध्यक्षबाहेक अरु कसैको अस्तित्व नरहने स्थिति निर्माण गरियो

काठमाडौं । राप्रपाका महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले पार्टीअध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र पठाएर आजको कार्यसम्पादन समिति वैठक बहिष्कार गर्ने जानकारी गराएका छन्। पार्टीमा अध्यक्षबाहेक अरु कसैको अस्तित्व नरहने स्थिति निर्माण गरिएको उनीहरुको आरोप छ ।

महामन्त्रीद्वयले एकता महाधिवेशनपश्चात अध्यक्षलाई हरतरहले सहयोग गर्दै आएको तर अध्यक्षबाट मनोमानीपूर्ण क्रियाकलाप भएको गुनासो पत्रमा गरेका छन् ।

पत्रमा भनिएको छ, ‘राप्रपा एकता महाधिवेशनबाट पार्टीले नयाँ नेतृत्व पायो । त्यसपश्चात नयाँ नेतालाई हामीले हर तरिकाबाट सहयोग गर्दै आयौं । पार्टीका आन्तरिक क्रियाकलापमा पार्टीको विधानलाई समेत उदार तरिकाले व्याख्या गरी केन्द्रीय कार्य समितिमा सल्लाह र जानकारी समेत नदिई अध्यक्षबाट केन्द्रीय सदस्य थप्दै जाँदा चुप बस्यौं । ४३ विभागमध्ये अधिकांश निस्क्रिय राख्दा पनि आन्तरिक एकतामा असर नपुगोस् भनेर अध्यक्षको निर्णयबारे सार्वजनिक तहमा बोलेनौँ । विधिको सम्मान गर्न सचेत गराउने र हर किसीमको सहयोग हामीबाट हुँदा हुँदै पार्टीमा अध्यक्षबाहेक अरु कसैको अस्तित्व नरहने स्थिति निर्माण गरिएको छ ।’

पार्टी स्थापनाकालदेखि काम गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई फेसबुकमा सुचना दिएर विधानको प्रावधान खुल्लमखुल्ला उल्लंघन गर्दै बेइज्जतीपूर्ण तरिकाले निष्कासन गरिएको पत्रमा उल्लेख छ ।

‘अब त हुँदाहुँदा पार्टीमा विधानविपरित कारवाही र निष्कासनका लामो सूची नै बनेको छ । यस्ता थुप्रै क्रियाकलापका कारण पार्टी र जनता बीचको सम्बन्ध कमजोर हुँदै गएको मात्र नभई देशको समग्र राजनीतिमा राप्रपाको प्रभाव र उपस्थिति कमजोर हुन थालेको छ । जेनजी पुस्ताको सक्रियतामा भएको परिवर्तनका ठूला श्रृङ्खलामा राप्रपा अस्तित्व र भूमिकामा नदेखिनु चिन्ताको विषय बनेको छ,’ पत्रमा भनिएको छ।

महामन्त्रीद्वयले पार्टीभित्र हामीबीच आन्तरिक एकता अत्यन्त जरुरीमा जोड दिएका छन् । पार्टीको प्रभावकारिता ध्यानमा लिएर, एकताका निम्ति हरसम्भव आफूहरु प्रयासरत रहेको उनीहरुको भनाइ छ ।

पत्रमा भनिएको छ, ‘अध्यक्ष र दुई पूर्वअध्यक्षहरु समेतको उपस्थितिमा हामीले छलफल र समाधानका प्रयास गयौं । तर, हाम्रो सदासयतालाई कमजोरी ठानियो र पार्टी भित्रका अवैधानिक गतिविधि सच्याउने इमान्दार प्रयास भएको देखिएन ।’

पार्टीभित्रको सद्भाव र सहकार्य अगाडि बढाउन चार प्रस्ताव अघि सारिएको छ, जुन यस्ता छन्ः

१) विधानबमोजिम महाधिवेशन सम्पन्न गर्न महाधिवेशनको मिति तोक्ने ।
२) विधानविपरित भएका निष्कासन र कारवाही सम्बन्धी निर्णयहरु फिर्ता गर्ने।
३) निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्ने ।
४) प्रभावकारी पार्टी संचालनका निम्ति दुई पूर्वअध्यक्षहरु सहितको विवाद समाधान समिति गठन गर्ने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *