
काठमाडौं । मनमोहन प्राविधिक विश्वविद्यालयले रजिष्ट्रार पदका लागि आह्वान गरेको दरखास्त आह्वानलाई लिएर विवाद उब्जिएकाे छ । सेटिङमा आफ्ना मान्छे नियुक्त गर्न लागिएको आशंकासहित आलोचनासमेत भएको छ ।
शिक्षा र मानविकी संकाय अध्ययन गरेकाहरूलाई मापदण्डमै नपारिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयका पूर्वडिन अनिलकुमार पोखरेलले आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नातावाद र कृपावादका आधारमा मापदण्ड तयार गरिएको भनी असन्तोष जनाएका छन् ।

विश्वविद्यालयले दशैँ सुरू हुनेभन्दा दुई दिनअघि असोज ९ गते १५ दिने सूचनामार्फत अनलाइन दरखास्त आह्वान गरेको थियाे। तर सूचनामा उल्लेख गरिएको अनलाइन दरखास्तको लिंक नै खुलेन । त्यसलाई सच्याउँदै असोज १८ गते भूलसुधार गरी नयाँ लिंक राखियो ।

स्रोतको दाबी छ, ‘चाडबाडको मौका छोपी विज्ञापन गरिएकाले विश्वविद्यालयको नेतृत्वको नियतमा पनि शंका छ । अनलाइनबाट आवेदन लिने भनिएकाेमा म्याद सकिएको भोलिपल्ट पनि केहीको अफलाइन आवेदन लिएइएको छ ।’
विश्वविद्यालयको कार्यविधि अनुसार विज्ञान र प्रविधि, जन प्रशासन, अर्थशास्त्र, कानून र व्यवस्थापनमा विद्यावारिधि सकी ६ वर्ष कार्यअनुभव भएकाहरुले मात्र आवदेन हाल्न पाउने र अन्य विषय र विधामा विद्यावारिधि गर्नेहरू स्वत: अयोग्य ठहरिन्छन् ।
विश्वविद्यालयका भीसी डा. सुवासश्री पोखरेलका स्वकीय गीता लम्साल सूचनामा टाइपिङ मिस्टेक भएको बताउँछिन् ।
‘मिस्टेक सच्याउनका लागि भुलसुधारको सूचना जारी गरिएको हो । दशैको बीचमा खुलेको भन्ने विषयमा रिक्त भएपछि विज्ञापन गरिएको हो । त्यस्तो कुनीयत राखेर गरिएको भन्ने कुरा गलत र कुप्रचार हो’, उनले भनिन् ।
कसले आवेदन गर्न पाउने वा नपाउने भन्ने मापदण्ड र योग्यता कार्यविधिले व्यवस्था गरेबमोजिम हुने भन्दै उनले कार्यविधि छनौट समितिको अधिकारमा आफू बोल्न नमिल्ने बताइन् ।

Leave a Reply