
काठमाडौं । अब कानून, गणित वा तथ्यांकशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेको व्यक्तिले प्रशासन सेवाको राजस्व समूहतर्फको उपसचिवमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियम, २०५०’लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको मन्त्रालयका सचिव रबिलाल पन्थले जानकारी दिए ।
यस्तै जुनसुकै विषयमा पनि स्नातक गरेको व्यक्तिले अब प्रशासन सेवाको राजस्व समूहतर्फको शाखा अधिकृत पदमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।
संशोधित नियमअनुसार अब मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन (सार्वजनिक वित्त वा लेखा विषयसहित)मा स्नातकोत्तर गरेको व्यक्तिले मात्रै प्रशासन सेवा, राजस्व समूहतर्फको राजपत्रांकित द्वितिय श्रेणी अर्थात उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।
यसअघि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, कानून, अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्यांकशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेको व्यक्तिले प्रशासन सेवा, राजस्व समूहको राजपत्रांकित उपसचिवमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था थियो ।
यस्तै, प्रशासन सेवा, राजस्व समूहतर्फ रापजत्रांकित तृतीय श्रेणी वा शाखा अधिकृतमा पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्र वा व्यापार प्रशासन वा अर्थशास्त्र वा जनप्रशासनमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था संशोधित नियममा गरिएको छ ।
यस अघि मान्यताप्राप्त शिक्षण संस्थाबाट जुनसुकै विषयमा पनि स्नातक तह वा सो सरह उत्तीर्ण गरेको व्यक्तिले प्रशासन सेवा, राजस्व समूहतर्फको राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृतमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था थियो ।


Leave a Reply