
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि घर भाडामा खोजी गरिरहेको छ । जेन–जी आन्दोलनकाक्रममा गभर्नर पौडेलको घरमा तोडफोड तथा आगजनी गरिएपछि उनका लागि भाडाको घर खोज्नु परेको हो।
असोज १२ गते सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले गभर्नर पौडेलका लागि घर भाडामा सम्बन्धी प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । असोज २७ गतेसम्मको म्याद दिएर घर भाडाको लागि प्रस्ताव पेश गर्न भनिएकोमा उक्त दिनसम्म खोजेजस्तो घर भाडाका लागि प्रस्ताव पेश नभएपछि राष्ट्र बैंकले म्याद थप गरेको हो ।
प्रस्ताव आह्वान गरिएको १५ दिनसम्म पनि गभर्नर पौडेलका लागि खोजेजस्तो घर नभेटिएपछि १९ दिन म्याद थप गरिएको छ । अब आगामी कात्तिक १६ गते कार्यालय समयभित्र घर भाडाको लागि प्रस्ताव पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलको निवासका लागि बखुण्डोलदेखि भैंसेपाटी नजिकै घर भाडामा लिन प्रस्ताव आह्वान गरिएको छ । घर भाडामा दिनका लागि ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको हुनुपर्नेछ। कम्तीमा ५ वटा काररजीप पार्किङ गर्न मिल्ने, आर.सि.सि. स्ट्रक्चर सहित कम्तीमा १००० वर्ग फिट प्लिन्थ क्षेत्रमा निर्माण भएको घरको खोजी गरिएको छ ।
अन्य आवश्यकताहरूमा कम्तीमा एउटा मास्टर बेडरूम सहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल तथा स्टोर रूम हुनुपर्ने, सुरक्षाकर्मी बस्ने छुट्टै भवनको व्यवस्था हुनुपर्नेछ ।
गभर्नरका लागि सुरक्षित कम्पाउन्डवाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको २।५ तलादेखि ३ तलासम्मको घर भाडामा खोजी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply