सहिदस्मृति तथा जीवन निर्वाह भत्ताका लागि पाँच करोड रुपैयाँ विनियोजन गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत। कर्णाली प्रदेश सरकारले सहिद स्मृति भत्ता र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि करिब पाँच करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ।

सोमबार बिहान ८ बजे बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उपदफा ३ बमोजिम सहिद स्मृति भत्ताका लागि रु २ करोड ५५ लाख ७२ हजार र जीवन निर्वाह विशेष भत्ताका लागि रु २ करोड २९ लाख ८० हजार गरी कुल रु ४ करोड ८५ लाख ५२ हजार बराबरको अख्तियारी आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत स्थानीय तहमा पठाउने निर्णय गरेको हो।

बैठकले प्रदेश सरकारका विभिन्न कार्यविधि र निर्देशिका पनि स्वीकृत गरेको छ। ‘आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८२’, ‘कर्णाली प्रदेश समपूरक अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’, ‘कर्णाली प्रदेश विशेष अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’ र ‘कर्णाली प्रदेश सशर्त अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’ बैठकले स्वीकृति दिएको हो।

यस्तै, लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार यी निर्णयहरू प्रदेशको सामाजिक सुरक्षा, लैङ्गिक न्याय र आर्थिक व्यवस्थापन सुदृढीकरणका लागि महत्त्वपूर्ण हुनेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *