
नेतृत्व गर्न के चाहिन्छ ? सामान्य जवाफ हो– विचार(नीति), क्षमता, लगाव, लिगेसी अनि समर्थन। राजनीतिक दलको मात्रै होइन, कुनै पनि संगठनको नेतृत्व गर्न यी मध्ये केही न केही गुण चाहिन्छ र ती गुण भएका व्यक्तिले मात्र नेतृत्व गर्न सक्छन् ।
यहीँ जोडिन्छ, जब कुनै व्यक्तिमा यी गुणहरु हुन्छन् र उसले नेतृत्वका लागि दाबी गर्छ भने ऊमाथि आक्रमण हुन थाल्छ भौतिक, अभौतिक दुवैमाध्यमबाट । यो प्रसंग ठ्याक्कै लागू हुन्छ– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालामाथि ।
शेखर कोइराला किन कांग्रेसको नेतृत्व लिन चाहन्छन् र उनीमाथि कसरी शृंखलाबद्ध आक्रमण भइरहेको छ भने यहाँ विस्तृतमा उल्लेख गरेको छु । कतिपयलाई लाग्न सक्छ– यो त अति नै व्यक्ति केन्द्रित लेख भयो । कतिपयलाई लाग्न सक्छ– के शेखर बाहेक कांग्रेसमा नेतृत्व लिन सक्ने अरु नेता नै छैनन् ? यो पनि लाग्न सक्छ– कांग्रेसमा शेखर मात्रै दूधले नुहाएका नेता हुन्, अरु सबै खराब ? यी सबै प्रश्नको एक एक जवाफ पनि खोज्ने छु। सबैभन्दा पहिला शेखरले किन नेतृत्व लिन चाहेका हुन् त्यो बुझ्न जरुरी छ।
शेखरले नै कांग्रेसको नेतृत्व गर्नुपर्ने किन ?
शेखर कोइराला को हुन् भनेर त भनिरहनु पर्दैन । कांग्रेसमा शेखर, उनको परिवार अनि समग्र कोइराला परिवारको योगदान पनि बताइरहनु पर्दैन, त्यसमा पनि कम्तीमा कांग्रेसजनलाई यो त भनिरहनु पर्दैन नै । कांग्रेसमा उनको लगाव, योगदान अनि समर्पणको पनि कुरा गरिरहनु नपर्ला । चार वर्षअघि, चौधौं महाधिवेशनमा शेखर सभापतिको उम्मेदवार बने। तेह्रौं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासँग शेखरले प्रतिस्पर्धा गरे ।
कोइराला परिवारकै दुई सदस्य शशांक र सुजाता, जीवनभर कोइराला परिवारसँग निकट रहेका रामचन्द्र पौडेल(जो हाल राष्ट्रपति छन्), गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र बनेका कृष्णप्रसाद सिटौला, सुशील कोइरालाको साथमा पार्टी र सरकारमा अवसर लिइरहेका प्रकाशमान सिंह नेताहरुको साथ नपाउँदा पनि शेखरले ४० प्रतिशत मत पाए । यसले नै देखाउँछ कि, यस्तो दबदबाका बीचमा पनि शेखर पार्टीमा लोकप्रिय थिए । त्यो लोकप्रियता अहिले त झनै बढेको छ। यसका दुई कारण छन्।
शेखरले नियमित महाधिवेशन भनिरहेका छन् । आफ्नो आयु पूरा भएको समितिलाई महाधिवेशनबाटै हटाउनुपर्छ र नयाँ नेतृत्व चयन गर्नुपर्छ भनिरहेका छन् । यसमा लुकाउनु छिपाउनु वा कसैलाई दोष लगाउनु पर्ने कुरै छैन। महाधिवेशन पार्टी संगठनको प्राकृतिक अक्सिजन हो। विशेष महाधिवेन त छुट्टै पाइपबाट लगाइने अक्सिजन हो ।
पहिलो– सभापति देउवा र उनको टिमको अकर्मण्यता
दोस्रो– समग्र देशले खोजेको परिवर्तन।
कांग्रेसमा लामो समयपछि अझ भनौं जेन–जी आन्दोलनपछि पहिलो पटक केन्द्रीय समितिको बैठक बस्दैछ र यही बैठकले पन्ध्रौं महाधिवेशनको मिति तय गर्दैछ । नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको पनि तयारी हुँदैछ । नियमित कि विशेष ? यसको पनि चर्चा गर्नेछु । र, यहाँ चार वर्षे कार्यकाल पूरा गर्नै लागेको वर्तमान केन्द्रीय समितिले नियमित महाधिवेशनमार्फ नै नेतृत्व चयन गर्नुपर्ने शेखरको मत छ, जुन सबैभन्दा उत्तम, विधिवत, वैधानिक र अपेक्षित उपाय हो ।
शेखरले नियमित महाधिवेशन भनिरहेका छन् । आफ्नो आयु पूरा भएको समितिलाई महाधिवेशनबाटै हटाउनुपर्छ र नयाँ नेतृत्व चयन गर्नुपर्छ भनिरहेका छन् । यसमा लुकाउनु छिपाउनु वा कसैलाई दोष लगाउनु पर्ने कुरै छैन। महाधिवेशन पार्टी संगठनको प्राकृतिक अक्सिजन हो। विशेष महाधिवेन त छुट्टै पाइपबाट लगाइने अक्सिजन हो । प्राकृतिक अक्सिजन हुँदा हुँदै पार्टीको शरीरले लिन सक्ने हुँदाहुँदै पाइपबाट अक्सिजन लगाउनु उचित उपाय होला र ? यो प्रश्न यहाँहरुलाई नै ।
अहिले कांग्रेसले पुनर्जीवन खोजेको छ, पुनर्ताजगी खोजेको छ, नयाँपन खोजेको छ। कसरी त ? हो, त्यसैका लागि शेखरले कांग्रेसको नेतृत्व लिन चाहेका हुन् । उनी चौधौं महाधिवेशनमै पार्टीको नेतृत्व लिन चाहन्थे । त्यतिबेला कांग्रेसका नेता तथा कार्यकर्ताले साथ दिएको भए सम्भव हुन्थ्यो । शेखरलाई नेतृत्वमा पुर्याएको भए अहिले पार्टीको अनि देशको हालत यस्तै हुन्थ्यो होला र ? एकपटक ठण्डा दिमागले सोचौं त ।
ल भैगो, उतिबेलाको कुरा छाडौं । अब अहिलेको कुरा गरौं । यो चार वर्षको बीचमा शेखरले के पाए ? के लिए ? यसको जवाफ कसैसँग छैन । किनभने उनले सत्तालाई कहिल्यै केन्द्रमा राखेनन् । पार्टी र संगठनलाई मात्रै ध्यान दिए । यसबीचमा उनले पाएको भनेको कार्यकर्ताको माया मात्रै हो । त्यसैले त देउवा क्याम्पमा रहेका कतिपय नेता शेखरको निकटतामा आइपुगे ।
अब कस्तो कांग्रेस बनाउने ? कसको कांग्रेस बनाउने ? यसको पनि जवाफ खोज्नु पर्ने भएको छ र यसको जवाफ स्वयम् शेखरले दिइरहेका छन् । सबै कांग्रेस बनाउन उनले जुन पहल गरिरहेका छन्, त्यही पहललाई सफल पार्न पनि शेखरलाई सभापति बनाउनुपर्ने छ । कांग्रेस मास बेस्ड पार्टी हो ।
यो कुनै विशेष उमेर समूह वा पुस्ताले मात्रै बनेको पार्टी होइन। भर्खर विद्यालय पार गरेका किशोर किशोरीदेखि सत्तरी असी नाघेका सबै अटाउने पार्टी हो । त्यसैले यो पार्टीको नेतृत्व पनि ती सबैलाई समेट्ने क्षमताको हुनुपर्छ र शेखर त्यसका लागि लायक हुन्। कसैले यसमा फरक मत राख्छ भने त्यो स्वतन्त्रताको सम्मान गर्नु त शेखरको मात्रै होइन, कांग्रेसकै चरित्र हो ।
शेखरमाथि नै आक्रमण किन ?
विशेषगरी जेन–जी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठेको छ। नेतृत्व फेरिनै पर्छ, नफेरी सुखै छैन । वर्तमान नेतृत्वले त महाधिवेशनअघि नै नेतृत्व छाड्नु सबैभन्दा हितकर हुन्छ। महाधिवेशन नै कार्यबाहक नेतृत्वले गराउनुपर्छ । र, सकेसम्म छिटो अर्थात मंसिरभित्रै महाधिवेशन गरिनुपर्छ । यसको इफ, बट, तर, किन्तु, परन्तु केही पनि लगाइनु हुँदैन ।
नेतृत्व कसले लिने त ? स्वाभाविक जवाफ हो– डा. शेखरले । कार्यकर्ता तहमा जुन भावना विकास भइरहेको र स्वयम् शेखरेल जसरी अभियान सन्चालन गरिरहेका छन्, त्यसले कांग्रेसकै नेताहरुलाई पसिना छुटाएको छ । त्यसैले त बेला बेलामा शेखरमाथि आक्रमण हुने गरेको छ ।
अब कस्तो कांग्रेस बनाउने ? कसको कांग्रेस बनाउने ? यसको पनि जवाफ खोज्नु पर्ने भएको छ र यसको जवाफ स्वयम् शेखरले दिइरहेका छन् । सबै कांग्रेस बनाउन उनले जुन पहल गरिरहेका छन्, त्यही पहललाई सफल पार्न पनि शेखरलाई सभापति बनाउनुपर्ने छ । कांग्रेस मास बेस्ड पार्टी हो ।
पहिलो प्रसंग– केहीअघि शेखर समूहबाट मन्त्री सिफारिस गर्दा केहीले शेखरले देउवासँग लेनदेन गरेको आरोप लगाए । ‘देउवासँग सहमति गरेर शेखर सिंगापुर हिँडेँ’ ‘शेखरले मागे वरिष्ठ नेताको मर्यादा’ ‘वरिष्ठ नेता नपाएपछि देउवासँग रिसाए शेखर’ भनेर मिडिया ट्रायल गरियो ।
कांग्रेसकै केही नेता मिडिया ट्रायल गर्न खप्पिस छन्, देउवालाई खुसी पार्न होस् वा आफू चर्चामा आउन । तर, न शेखरले देउवासँग कुनै गोप्य सहमति गरेका थिए, न वरिष्ठ नेताको पद र मर्यादा मागेका थिए । उनका सबै कुरा पारदर्शी छन् । कांग्रेसमा उनीमात्र एक्ला यस्ता नेता हुन्, जसले एमालेसँगको सहकार्य घातक हुन्छ भने उतिबेलै भनेका थिए । सार्वजनिक रुपमा सबैभन्दा पहिला आफ्नै पार्टी सम्मिलित सरकारको आलोचना गर्ने नेता पनि उनै शेखर हुन् । अरु त पछि थपिएका मात्र हुन् ।
अहिले फेरि, शेखरमाथि मिडिया ट्रायल गरिएको छ– शेखरले देउवासँग कार्यबाहक सभापति मागे भनेर । एउटा सामान्य कुरा, जसले जोसँग सभापतिमा प्रतिस्पर्धा गर्यो, फेरि सभापति बन्ने तयारीमा छ, उसले कार्यबाहक माग्छ होला र ? यति पनि नसोची जसरी समाचार फैलाउने प्रयास गरियो– यो अर्को आक्रमण हो ।
कांग्रेसमा अब नेतृत्व परिवर्तनको माहोल थप तातिँदै छ। नेतृत्वका दाबेदार शेखर नै हुन् । यस्ता आक्रमण, मिडिया ट्रायल अनि कुप्रचार अरु धेरै हुन सक्छ । कम्तीमा त्यसको आधार खोज्नुपर्नेछ ।
संख्याको दम्भले कहाँ पुर्याउला ?
अहिले डा. शेखरको एक सूत्रीय एजेण्डा छ– मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्छ, सकिन्छ, सम्भव छ। तर, यसको प्रयास नै नगरी महाधिवेशन पर धकेल्ने वा विशेष महाधिवेशन गर्ने तयारी गरिँदैछ । अहिले पनि कांग्रेस संस्थापन महाधिवेशन गर्न तयार छैन, विशेष महाधिवेशनका लागि पनि तयार देखिँदैन अनि नेतृत्व छाड्न तयार छैन ।
नेतृत्वले किन अहिलेसम्म जिम्मेवारी छाडेको छैन ? महाधिवेशन गर्ने रुचि किन देखाएको छैन ? यसको पहिलो कारण हो, संस्थापन पक्ष केन्द्रीय समितिमा अत्यधिक बहुमतमा छ । अर्थात ऊसँग संख्याको बल छ, आड छ। केन्द्रीय समितिमा रहेको संख्याको बलले सिंगो पार्टीलाई च्याँप्ने काम भइरहेको छ। संख्याको बलमा आवश्यकता र यथार्थलाई लुकाउने काम भइरहेको छ।
अर्कोतिर, संख्याकै आडमा नेतृत्वलाई गलाउन सकिन्छ कि भनेर पनि प्रयास भइरहेको छ। केन्द्रीय कार्यालयमा करिव पचास प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेर प्रस्ताव दर्ता भएको छ । यी दुवै संख्याको आडमा देखाइएका अतिवाद हुन् ।
परिस्थिति छर्लंग छ। नेतृत्वले अहंकार त्याग्नुपर्छ । त्यो अहंकार संख्याकै हो । अर्कोतिर, जसरी पचास प्रतिशतको हस्ताक्षर बुझाइएको छ, यो पनि संख्याको नाममा गर्न खोजिएको जबरजस्ती हो ।
अहिले संख्याले होइन, विवेकले काम गर्ने समय हो । विवेक बन्धकी राखेर संगठन चल्दैन । सबैभन्दा पहिला संस्थापन पक्षले संख्याको अहंकार त्यागेर महाधिवेशनमा जाने निर्णय गर्नुपर्छ । संख्याले ल्याउने विभाजन हो । पक्ष विपक्ष हो । के कांग्रेसमा अझै पनि विभाजनको भोक बाँकी छ र ?
(लेखक प्रेस युनियनका केन्द्रीय अध्यक्ष हुन्)

Leave a Reply