
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा आगलागी तथा तोडफोडबाट क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माणका लागि गोदावरी नगरपालिकाले विशेष अभियान सुरु गरेको छ । नगरपालिकाले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकको पाँच दिन बराबरको सेवा सुविधा पुनर्निर्माण कोषमा योगदान गर्ने निर्णय गरेपछि हालसम्म ५१ लाख ४४ हजार ९७४ रुपैयाँ ६५ पैसा संकलन भएको जनाएको छ ।
नगरपालिकाका अनुसार आन्दोलनका क्रममा प्रहरी कार्यालय भवन, वडा कार्यालय, सन्त नेता कृष्णप्रसाद भट्टराई आश्रम र सनराइज हल लगायतका सार्वजनिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको थियो । ती संरचना स्थानीय प्रशासन, नागरिक र समुदायको सहकार्यमा यथाशीघ्र पुनर्निर्माण गर्ने उद्देश्यले ‘आगलागीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण अभियानमा सहभागी बनौँ’ भन्ने नारासहित अभियान सुरु गरिएको हो ।
नगरपालिकाले सार्वजनिक रूपमा सूचना जारी गर्दै भनेको छ, ‘नगरवासीको शान्ति, सुरक्षा र सार्वजनिक सेवाको सुचारु यथासम्भव छिटो पुनर्स्थापना गर्न सबैको सहकार्य अपरिहार्य छ । जनप्रतिनिधि र कर्मचारीले अग्रसर भई सुरु गरेको यो अभियानमा निजी क्षेत्र, संघसंस्था र आम नागरिकको योगदानले मात्रै दिगो पुनर्निर्माण सम्भव छ ।’
नगर प्रमुख र कार्यपालिकाका पदाधिकारीले नगरवासीलाई अभियानमा सहभागी हुन आग्रह गर्दै आर्थिक सहयोगका साथै श्रमदान र प्राविधिक सहयोगका माध्यमबाट पनि साथ दिन अनुरोध गरेका छन् । साथै क्षतिग्रस्त भवन पुनर्निर्माणसँगै प्रहरी सेवा, प्रशासनिक कामकाज र सामुदायिक गतिविधि सामान्य बनाउने तयारी भइरहेको छ ।
गोदावरी नगरपालिकाले यसअघि पनि विपद् व्यवस्थापन कोषमार्फत आगलागी, बाढी पहिरो र प्राकृतिक प्रकोपमा परेकालाई राहत र पुनः स्थापनामा सहयोग गर्दै आएको छ । यस पटक भने आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको पुनर्निर्माणलाई प्राथमिकता दिइएको हो ।
नगरपालिकाले आर्थिक योगदान गर्न चाहने व्यक्तिलाई प्रत्यक्ष रूपमा नगर विपद् व्यवस्थापन कोषमा जम्मा गर्न अनुरोध गरेको छ । साथै, पुनर्निर्माण अभियान पारदर्शी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । नगर प्रमुखका अनुसार, ‘यो अभियान केवल भवन पुनर्निर्माणको लागि होइन, गोदावरी नगरको सामाजिक एकता र पुनः स्थापनाको प्रतीक हो । सबै क्षेत्रको सहभागिताले नगर पुनः पहिलेजस्तै सुरक्षित, शान्त र व्यवस्थित बन्नेछ ।
गोदावरी नगरपालिकाले आगामी साता भित्र क्षतिको विस्तृत मूल्यांकन प्रतिवेदन तयार पार्ने र प्राथमिक संरचनाको पुनर्निर्माण कार्य सुरु गर्ने तयारी गरेको जनाएको छ ।


Leave a Reply