
कैलाली । इजरायलबाट दुई वर्षपहिले अपहरण गरेर गाँजा गलिएका मध्ये आज २० जनालाई रिहा गरिएको छ । पहिलो चरणमा बन्दी रिहा हुँदा नेपालका विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको थियो । तर, उनको अवस्था अझै अज्ञात रहेको छ ।
जोशी जीवित नरहेको भन्नेजस्ता खबरहरू बाहिर आएपनि उनको परिवारमा भने अझै सकुशल रहेको र चाँडै रिहा हुने विश्वास रहेको बताइरहेका छन् । हमासले बन्धकहरू छोड्न अझै पनि बाँकी रहेकाले भाइ रिहा हुने अपेक्षा रहेको दाजु किशोर जोशीको भनाइ छ ।
‘युद्धविराम क्रममा आज बन्दीहरू छुटिरहेका छन् । बिहान इजरायलसँग पनि कुरा भयो हमासले आधिकारिक रूपमा छोड्न लागेका २० जनामा विपिनको नाम छैन भनेको छ अझै मान्छेहरू बाँकी छन्,’ उनी भन्छन् , ‘मलाई पूर्ण विश्वास छ अझै विपिन ठिकै छ भन्ने लाग्छ मलाई अन्तर आत्मबाट। आसा गरौँ अरू बन्दीहरू पनि छुटिरहेका छन् ।’
अहिले आइरहेका समाचारहरूले भने चिन्तित बनाउन थालेको उनको भनाइ छ । तर आसा अझै नमरेको उनी बताउँछन् । ‘अझै आसा गरौँ । अरू बन्दीहरू छुट्न पनि बाकी छ यति दुई वर्ष त हामीले कुर्यौँ । एक दुई दिन कुरौँ न अझै’ उनले भने ।
सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका १० जनाको हत्या गरिएको थियो सोही बेला अपहरणमा परेका विपिन अझै अज्ञात छन् ।
इजरायली अधिकारीहरूले विपिन जीवित नरहेको औपचारिक जानकारी दिइसकेको बताइएको छ । तर, विपिन परिवारमा भने उनी फर्किने आस मरेको छैन ।

Leave a Reply