राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ३ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ६४ करोड, ‘ख’ वर्गका बैंकले ४९ करोड ५० लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १६ करोड ५० लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

मुद्दती निक्षेपमा २०२५ अक्टोबर ३० देखि २०२६ अक्टोबर ३० सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।  मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम खुलाइ असोज २९ गते बेलुका ७ बजेभित्र ब्याजदर प्रस्ताव आह्वान गर्न भनिएको छ ।

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको लगायतका शर्त राखिएको छ । बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन् । यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो शर्त मान्य हुने छैन । कोषको रकम लगानी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गरेको निर्णय अन्तिम हुने राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *