डेढ शताब्दीको वियोग अन्त्य: एउटा भिडिओले २ दिनमै जाेड्याे बिछोडिएको परिवार !

इटहरी । मलाई शास्त्री सरका आफन्त भेटिनुहुन्छ भन्ने पूर्ण विश्वास थियो, तर दुई दिनमै भेटिएलान् भन्नेचाहिँ लागेको थिएन। डेढ सय वर्षदेखि आफन्तसँग सम्पर्कमै नरहेको एउटा निरौला परिवारको थातथलो र दाजुभाइ पत्ता लागेको छ।

काइली काकीको अप्रत्याशित निधनपछि हामी आसाम पुगेका थियौँ। यो मेरो आसामको पहिलो यात्रा थियो। आसामको वातावरण सुन्दर थियो, तर हरेक अनुहारमा एउटा पुरानो, नमेटिएको इतिहास लुकेको जस्तो लाग्थ्यो।

एघारौँ दिनको बिहानीपखको कुरा हो, एक जना पण्डित कुशका सामग्री तयार पार्दै हुनुहुन्थ्यो। मैले उहाँसँग सामान्य कुराकानी थालेँ। उहाँ निरौला थरका ‘शास्त्री सर’ भनेर परिचित हुनुहुँदो रहेछ। शास्त्रीसम्मको अध्ययन गरेर पुराण वाचन गर्ने व्यक्तित्व, अनि स्कुलका शिक्षक पनि।

“तपाईँका पुर्खाहरू नेपालमा कहाँबाट आउनुभएको हो?” मैले सोधेँ।

उहाँले केही बेर मौन रहेर भन्नुभयो, “त्यो त केही थाहा छैन। मेरा हजुरबुबा नै आसाम आउनुभएको रे। बुबा एकमात्र सन्तान हुनुहुन्थ्यो। बुबाले यतै बिहे गर्नुभयो। हामी चार भाइ छोरा। बुबा पनि सानैमा बितेपछि आमालाई नेपाल कता पर्छ, केही पत्तो भएन।”

शास्त्री सरको स्वरमा गहिरो दुःख थियो। “हाम्रा त आफन्त भनेकै यहीँका हामी चार दाजुभाइ मात्र हौँ। न फुपू, न काकाको परिवार… कहिलेकाहीँ त साह्रै नराम्रो लाग्छ। नेपाल गइरहन्छु, कति खोज्ने प्रयास गरेँ, तर केही पनि पत्तो लागेन।” उहाँको गला अवरुद्ध भयो, त्यो पीडा १५० वर्षको वियोगको उपज थियो।

उहाँलाई हजुरबुबासम्मको नाम थाहा थियो। मलाई लाग्यो, निरौलाहरू सोलुखुम्बु, तेह्रथुम र ताप्लेजुङमा धेरै छन्, कतै न कतै त पक्कै सम्बन्ध भेटिन्छ। मैले उहाँलाई सहयोग गर्ने प्रस्ताव राखेँ। कुशका सामग्री बनाउँदै उहाँ भिडिओ कुराकानी गर्न तयार हुनुभयो।

नेपाल फर्केपछि, मैले उहाँसँगको त्यो छोटो तर महत्त्वपूर्ण कुराकानीको भिडियो फेसबुकमा अपलोड गरेँ। मैले चिने जानेका सबै निरौला बन्धुहरूलाई ट्याग गरेँ र भिडियो साझा गर्न आग्रह गरेँ। मैले सोचेको थिएँ, यसले केही दिन वा हप्ताहरू लिन्छ होला।

तर, नतिजा अप्रत्याशित रूपमा द्रुत आयो। दुई दिन पनि नबित्दै, निरौला वंशावली लेखिरहनुभएका तेह्रथुमका होमप्रसाद निरौलाले मलाई मेसेन्जरमा फोन गर्नुभयो। उहाँले शास्त्री सरको हजुरबुबाको नाम सुनेपछि तुरुन्तै भन्नुभयो, “यो वंशावलीमा मिल्छ, चाँडै पत्ता लाग्छ।” थप प्रस्ट हुन उहाँले शास्त्री सरको मोबाइल नम्बर माग्नुभयो।

होमप्रसाद निरौलाले शास्त्री सरलाई सिधै आसाम फोन गरेर विस्तृत जानकारी लिएपछि रहस्यको पर्दा खुल्यो। होमप्रसाद निरौलाले पत्ता लगाउनुभयो, उहाँका हजुरबुबा लगभग १५० वर्षअघि तेह्रथुमको पाक्तिनबाट सिक्किम हुँदै आसाम पस्नुभएको रहेछ।

केवल दुई दिनको अन्तरालमा, सामाजिक सञ्जालको माध्यमबाट, शास्त्री सरको तेह्रथुम पाक्तिनमा बस्ने १३ दिने दाजुभाइको पहिचान भयो। ती आफन्तहरू अहिले तेह्रथुम, इटहरी, लेटाङ, जाँते र काठमाडौँसम्म फैलिएका छन्।

मलाई पूर्ण विश्वास छ, अब छिट्टै नै शास्त्री सर नेपाल आउनुहुनेछ र आफ्ना दाजुभाइहरूसँग न्यानो अङ्गालोमा बाँधिएर पुस्तौँदेखिको वियोग मेटिनेछ। प्रविधिले मानवीय सम्बन्धलाई कसरी जोड्न सक्छ भन्ने यो एउटा सुन्दर प्रमाण हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *