सत्य, श्रम र संघर्षका प्रतीक संग्राम तामाङ

संग्राम तामाङ कुनै नाम मात्र होइन, एउटा विचार हो- वर्गसंघर्षको मैदानमा उभिएको एक अदम्य योद्धा, जसले जीवनभर मार्क्सवाद-लेनिनवादको लाल झण्डा बोकेर जनताको पक्षमा संघर्ष गरे । मृत्युले शरीरलाई जित्न सक्छ, तर विचारलाई होइन । संग्राम तामाङ त्यही अदम्य विचारका प्रतीक हुन्, जसले सामन्तवाद, शोषण र अन्यायको चर्को प्रतिवाद गर्दै आफ्नै जीवन जनताको मुक्ति आन्दोलनमा समर्पित गरे ।

वि सं २०११ साल साउन १ गते, काभ्रेको सस्युखर्क-चुखा गाउँमा जन्मिएका संग्राम तामाङ सामान्य परिवारका सन्तान थिए, तर असामान्य चेतनाका स्रोत बने । समाजमा शिक्षाको पहुँच सीमित थियो, तर उनी चेतनाको खोजीमा अविराम लागे । समाज रूपान्तरणका निम्ति अगाडि सारिएका ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त उनका साथी बने । किताबका पानामा मात्रै अडिएनन्, व्यवहारमा ती विचारलाई उतार्ने क्रान्तिकारी जननेता बने ।

तीस वर्षे निरंकुश पञ्चायती शासनको अँध्यारोमा तामाङले लाल संग्राम छेडे, उज्यालो खोजे । कम्युनिष्ट नाम लिन पनि अपराध ठानिन्थ्यो, तर उनले डरको साम्राज्य तोडेर जनताको पक्षमा उठ्ने आँट गरे । सस्युखर्कका खेत-बारी, गल्ली र टोलमा उनले चेतनाको आगो बालिदिए । जनतालाई उठ्न सिकाए, ‘श्रम नै शक्ति हो, शोषणको अन्त्य अनिवार्य हो ।’ उनी विसं २०३३ सालमा औपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपामा आबद्ध भए र त्यस क्षणदेखि नै उनको जीवन वर्गसंघर्षको एक अविचल यात्रामा रूपान्तरण भयो ।

काठमाडौँमा रिक्सा मजदुरको रूपमा उनले श्रम र दुःखको नजिकबाट दर्शन गरे । वर्गविहीन समाजको सपना बोकेर उनले मजदुरहरूको हकका लागि सडकमा आवाज बुलन्द गरे । उनले बुझेका थिए- मजदुरको पसिनाको मूल्य नतोक्ने समाज कहिल्यै न्यायपूर्ण हुन सक्दैन । त्यसैले उनी संगठनको अग्रपंक्तिमा उभिए, र श्रमिक वर्गका आवाज बने।

संग्राम तामाङको विचारमा मार्क्सवादी दर्शन केवल सिद्धान्त होइन, व्यवहारिक क्रान्तिको नक्सा थियो । उनी भन्थे- सिद्धान्त त्यही हो, जसले वर्गीय समाजलाई हल्लाउँछ । त्यसैले उनले आफ्नो गाउँलाई चेतनाको केन्द्र बनाउँदै परिवर्तनको झण्डा फहराए । विसं २०४९ सालमा जब उनी सस्युखर्क गाउँ विकास समितिका अध्यक्ष निर्वाचित भए, त्यो केवल जनप्रतिनिधिको पद होइन, जनताको विश्वासको विजय थियो । गाउँमा बाटो, खानेपानी, विद्यालय र सामाजिक एकताको आधार निर्माण गरेर उनले देखाए-कम्युनिष्ट शासन भनेको भाषण होइन, व्यवहार हो ।

दुई कार्यकालसम्मको उनको नेतृत्वले गाउँलाई आत्मनिर्भर र सचेत बनायो। उनको नेतृत्वमा जनताको शासन, श्रमको सम्मान र समानताको बीज रोपियो। उनी सधैँ भन्थे, ‘क्रान्ति गाउँबाटै शुरु हुन्छ, जनताको हातबाटै शासन सम्भव हुन्छ ।’

दशवर्षे द्वन्द्वको समयमा पनि संग्राम तामाङ सिद्धान्त र संगठनसँग अडिग रहे । माओवादी आन्दोलनको नाममा आएको अराजकतावादप्रति उनी स्पष्ट थिए । उनले जनताको बहुदलीय जनवादलाई वैज्ञानिक समाजवादतर्फको नेपाली बाटो ठाने । प्रचण्डपथको अन्धकारमा उनले तर्क र सिद्धान्तको दियो बालेर देखाए, ‘क्रान्ति हिंसाबाट होइन, चेतनाबाट स्थायी हुन्छ भने ।’

कम्युनिष्ट आन्दोलनमा संग्राम तामाङको नाम निष्ठा, इमानदारी र दृढताको पर्याय बनेको छ । पार्टी, सिद्धान्त र जनताको लागि उनले व्यक्तिगत सुख-सुविधा त्यागे । माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि उनी एमालेको नीतिप्रति अटल रहे-काभ्रे जिल्ला सल्लाहकार समिति सदस्यका रूपमा संगठनलाई बलियो बनाउँदै गाउँमै जनआन्दोलनको जग तयार गरे ।

संग्राम तामाङ केवल राजनीतिज्ञ। मात्रै होइन, सांस्कृतिक क्रान्तिकारी पनि थिए । तामाङ समुदायका ताम्बा-गान्बा परम्परामा उनी संस्कृतिका पुनर्जागरणकर्ता बने । चोहो प्रथाको अध्ययन र व्याख्या गर्दै उनले धर्म, संस्कार र संस्कृतिलाई चेतनासँग जोड्ने अभियान चलाए । उनले गाउँमा अन्त्येष्टि, व्रतबन्ध र विवाहका संस्कारलाई सामुदायिक एकताको प्रतीक बनाए ।

शिक्षा र विकासका क्षेत्रमा उनको योगदान असाधारण रह्यो । उनले श्री जनचेतना मावि, श्री सर्वोद्वार मावि र जनउद्धार प्राविको व्यवस्थापन समितिको अध्यक्ष भएर गाउँमा शिक्षा फैलाए । गाउँका बालबालिकाले स्कुल जाने बाटो देखे भने त्यो संग्रामको श्रमको फल थियो । उनले सधैँ भने ‘पुस्ताले पढ्न पाएन, तर नयाँ पुस्ता अन्धकारमा बस्न नपरोस् ।’

उहाँको अर्को योगदान तेमाल सामुदायिक ग्रामीण विद्युतीकरणमा छ । तेमालका घर–घरमा बिजुली बल्दा त्यो केवल प्रकाश होइन, संग्रामको सपना थियो–अन्धकारमाथि प्रकाशको विजय थियो । उनले यङ्तुमान थर्पेलिङ गुम्बाको कोषाध्यक्ष भएर आध्यात्मिकता र सामाजिक चेतनाको समायोजन गरे ।

विस २०८२ साल असोज १४ गते राति धुलिखेल अस्पतालमा उनले अन्तिम सास फेरे । तर उनले छोडेका शब्दहरू, सपनाहरू अझै जीवित छन् । सपना पुरा गर्ने जिम्मा जनताकै हो ।

संग्राम तामाङको मृत्यु केवल शरीरको अन्त्य होइन, एउटा युगको अध्याय हो जुन अब जनताका मुटुमा लेखिएको छ । उहाँले सिकाउनुभयो-कम्युनिष्ट विचार कहिल्यै मर्दैन, किनकि त्यो मान्छेको चेतनामा बाँचिरहन्छ ।

आज जब श्रमिक वर्ग शोषणविरुद्ध बोल्दछ, किसान उत्पीडनविरुद्ध उठ्दछ, विद्यार्थी समानताको माग गर्दछ,

काभ्रेली कम्युनिष्ठ आन्दोलनमा, त्यो संग्रामको आत्मा बोल्दछ ।

हो, संग्राम तामाङ भौतिक रुपमा रहेनन् ।

तर उनी हरेक मुठ्ठी उठाउँदा उठ्छन्,

उनी हरेक आवाजमा बाँचिरहेका छन्,

उनी हरेक वर्गसंघर्षमा उपस्थित छन् ।

सलाम संग्राम ।

(लेखक प्रेस चौतारी नेपालका महासचिव हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *