Gen-Z का नाममा अराजकता, जलविद्युतको सेयरदेखि सरकारसम्म भाग खोज्दै थरिथरि समूह

काठमाडौं । गत भदौ २३ र २४ मा भएको ध्वंसात्मक आन्दोलनसँगै देशमा अनेकथरि ‘जेन-जी समूह’ उम्रेका छन् । कुन समूहलाई मान्यता दिने भनेर सरकार स्वयं अलमलमा छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सरकार र जेनजी अगूवाहरूबीच वार्ता हुने तयारी थियो । तर, यसलाई स्थगित गरिएको छ । अस्पतालले राष्ट्रपति पौडेललाई केही दिन आराम गर्न भनेकाले आजको छलफल स्थगित गरिएको शीतलनिवास स्रोतको दाबी छ । यद्यपि, आधिकारिक रूपमा प्रधानमन्त्री कार्यालय र शीतलनिवास दुवैले केही बताएका छैनन् ।

गत शनिबार शीतलनिवासमा वार्ताका लागि प्रधानमन्त्री, मन्त्रीहरू र जेनजी प्रतिनिधिहरु पुगेका थिए । तर, राष्ट्रपतिलाई अचानक विसञ्चो भएर अस्पताल हिँडे । प्रधानमन्त्रीले जेन-जीहरूसँग अनौपचारिक कुराकानी गरेकी थिइन् । त्यसक्रममा शीतल निवासबाहिर एक समूहले वास्तविक जेन-जीलाई वार्तामा सहभागी नदिइएको भन्दै होहल्ला गरेका थिए ।

अहिलेसम्म जेन-जीका नाममा कुनै पनि राजनीतिक वा गैरराजनीतिक समूह र संगठन दर्ता छैन । जेन-जी नाम जोडेर एउटा लेटर हेड बनाउने र विज्ञप्ति जारी गर्ने होड नै चलेको छ । तीनै विज्ञप्तिका आधारमा समाचार बनाउन सञ्चारमाध्यमहरू बाध्य छन् । एक हिसाबले भन्नुपर्दा बरमझीयामा रहेका ‘पुरानो बाजेको पेडा पसल’ झैँ भएको छ । को असली को नक्कली छुट्याउने आधारै छैन ।

जेन-जी शब्दले युवाहरूको त्यो समूहलाई जनाउँछ, जो अहिले १३ देखि २८ वर्षसम्म उमेरका छन् । तर, जेन-जीका नेता भएर हिँडेका सुधन गुरुङ ३८ वर्षका वयस्क हुन् । जेन-जी आन्दोलनमा स्वयम्सेवमकका रूपमा पानी बाँडिरहेका उनी आन्दोलनपछि एकाएक नेताका रुपमा उदाएका थिए । अहिले उनको बालुवाटारदेखि शीतलनिवाससम्म सहज पहुँच छ ।

अर्का चर्चित जेनजी अगुवा हुन् मिराज ढुंगाना । सामाजिक सञ्जाल, खासगरी टिकटकबाट जेन-जी अभियानको उठान गर्न उनको भूमिका थियो । तर, २३ गरेको आन्दोलनमा उनी सडकमै आएनन् । आफूलाई थ्रेट आएकाले आन्दोलनमा सहभागी हुन नसकेको र दिनभरि आफ्नो व्यवसाय हेरेर बसेको उनको भनाइ छ । व्यक्तित्वमा गाम्भीर्यता र थोरबहुत बौद्धिकता भएकाले मिराजलाई धेरैले राम्रै मान्छन् । तर, उनीसँग राजनीतिक सुझबुझ र अनुभवको नितान्त कमी छ । उनी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको संवैधानिक व्यवस्थाबिना चुनावै नहुने बताइरहेका छन् । तर, कुन बाटोबाट त्यो व्यवस्था गर्ने भन्ने उनलाई नै पत्तो छैन । अहिले आएर फेरि अर्को ठूलो आन्दोलन गर्ने, गोली खान तयार रहेको जस्ता नचाहिँदा ध्वाँस दिइरहेका छन्।

यी दुई बाहेक रक्षा बमको नाम चर्चामा छ । उनले जेन-जी अभियन्ताका नाममा थुप्रै अन्तरवार्ताहरू दिएकी छन् । कतिपयले उनलाई ‘बौद्धिक जेन-जी’ का रूपमा पनि हेरेका थिए, तर, एउटा तस्बिरले उनलाई नराम्ररी एक्सपोज गर्‍यो, जहाँ उनी जलिरहेको सिंहदरबार गेट अगाडि उभिएर खुशी मनाइरहेको देखिइन् । देशको ऐतिहासिक सम्पदा जल्दा ‘भिक्ट्री सेलिब्रेसन’ गर्नुले नै रक्षाको बौद्धिकस्तर छताछुल्ल बनाइदिएको छ ।

अन्य केही युवायुवतीहरू पनि चर्चामा छन्, तर कोही पनि सर्वस्वीकार्य छैनन् । विचारमा समानता छैन । थरिथरि एजेन्डा र माग बोकेर हिँडिरहेका छन् । हुन त जेन-जी आन्दोलनकै स्पष्ट एजेन्डा थिएन । भ्रष्टाचार नियन्त्रणको अमूर्त मागबाहेक अन्य एजेन्डाहरु व्यक्तिपिच्छेका फरक-फरक थिए । जसले गर्दा जेन-जी आन्दोलनले कुनै ठोस उपलब्धि नै दिन सकेन । केवल सरकार परिवर्तन र चुनाव घोषणा भयो । आन्दोलनपछि कुनै लिखित सम्झौता कसैसँग भएको छैन । बरु थप अराजकता र भाँडभैलोको स्थिति उत्पन्न भएको छ ।

जेन-जी अभियानले विकृतिकै रूप लिन थालेको हिजोको एउटा घटनालाई हेरौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले जेन-जीको नाममा ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनामा १० प्रतिशत सेयर हत्याउन सफल भयो । उनीहरूलाई १९ करोड रूपैयाँ बराबरको सेयर दिने लिखित सम्झौता नै भएको छ । जेन-जी आन्दोलनपछि उदाएको उक्त समूहले १० प्रतिशत नि:शुल्क सेयर माग्दै २५ गतेदेखि आयोजना सञ्चालन गर्न दिएको थिएन । भविष्यमा यस्ता घटनाहरु यत्रतत्र नदोहोरिएलान् भन्न सकिन्न ।

जेन-जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्की आफ्नो सरकारमा जेनजी समूहको प्रतिनिधित्व गराउन चाहन्छिन् । मृतक र घाइते परिवारलाई पनि समेट्ने उनको चाहना छ । कार्कीले चार जेन-जी मन्त्री थप्न लागेको भनेर शुक्रबार समाचारहरू छ्याप्छ्याप्ति भएका थिए । तर, कार्कीले नयाँ मन्त्रीमा कसैको पनि टुंगो नलागेको प्रष्ट पारेकी छन् । बालुवाटार स्रोतले मिडिया ट्रायल गरेर सरकारलाई दवाव दिन खोजिएको बताएको छ ।

अस्तिको शीतलनिवास बैठकमा कार्कीले जेनजीहरूलाई मिलेर आउन र साझा नाम प्रस्ताव गर्न आग्रह गरिन् । यससँगै सयौं जेन-जीहरु मन्त्री बन्न जुर्मुराएका छन् । हिजो जेन-जी समूहका नाममा थरिथरि नामहरु ‘भावी मन्त्री’ का रुपमा प्रचारित गरिए । यसले बालुवाटार र शीतल निवासलाई पनि हैरानीमा पारेको बुझिएको छ ।

मन्त्री बन्ने भनेको केटाकेटी खेल होइन । जेन-जीबाट सिफारिस गरिएका एक–दुई मन्त्री बनाइदिनु प्रधानमन्त्री सुशीला कार्कीका निम्ति नैतिक दायित्वको विषय हुन सक्ला । तर, कुनै राजनीतिक अनुभव नभएका, मन्त्रालयको कखरा नै नबुझेका जेन-जीले रहर गरे भन्दै टिपेर मन्त्री बनाइदिनु भनेको राज्यसञ्चालनमा खेलाँची हुन्छ । प्रधानमन्त्री कार्कीले यस्तो खेलाँची पक्कै नगर्लिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *