ओली आलोचनाका निराधार खेती, राष्ट्रवादको अपराधीकरण गर्ने मति

नेपालको समकालीन राजनीति हेर्दा एउटा विडम्बना झल्किन्छ, जो नेता देशका लागि लड्छ, राष्ट्रियताको पक्षमा बोल्छ, आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर राष्ट्र निर्माणको सपना देख्छ, उसैलाई निरन्तर बदनाम गरिन्छ, उसैलाई आलोचना र अपमानको शिकार बनाइन्छ । यो विडम्बनाको ताज आज केपी शर्मा ओलीको शीरमा पहिर्याइएको छ ।

तर, यो सत्य हो कि ओली कुनै सामान्य राजनीतिज्ञ होइनन् । उनी ती दुर्लभ नेतामध्ये एक हुन्, जसले देशको संकटमा हिम्मत देखाए, राष्ट्रहितमा स्पष्ट अडान लिए र नेपाललाई आत्मनिर्भर बनाउने सपना देखेर त्यसलाई कार्यान्वयनमा लैजान सके ।

२०७२ सालको संविधान जारी भएको केही दिनमै भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगायो । देश इन्धनविहीन र औषधिविहीन भयो । जनजीवन ठप्प पारियो । तर, त्यतिबेला प्रधानमन्त्रीको रूपमा केपी ओलीले जसरी त्यो संकटको डटेर सामना गरे, त्यो इतिहासमै उदाहरणीय छ ।

उनी झुकेनन्, लम्पसार परेनन्, बरु विकल्प रोजे । चीनसँग पारवहन सन्धि गरेर नेपालको भूगोललाई ‘भूपरिवेष्ठित’ अवस्थाबाट ‘भू–जडित’ अवस्थामा रूपान्तरण गर्ने मार्ग प्रशस्त गरे । यतिमात्रै होइन, भारतले कब्जा गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरियो, जुन संसदबाट सर्वसम्मत पारित गरियो । यस्तो साहस नेपालका इतिहासमा गनिएका केही नेताले मात्र देखाएका छन् र तिनको सूचीमा ओली अग्रस्थानमा छन् ।

उनको नेतृत्वमा नेपालले कैयौं दशकदेखि अड्केका पूर्वाधार निर्माणले गति पायो । काठमाडौं–तराई फास्ट ट्रयाक, पेट्रोलियम पाइपलाइन, सुनकोशी–मरिन डाइभर्सन आयोजना, चोभार सुख्खा बन्दरगाह, जनकपुर–जयनगर रेल सेवा— यी कुनै कल्पनाका परियोजना थिएनन्, कार्यान्वयनको चरणमा पुगेका योजना थिए ।

प्रधानमन्त्री रोजगारी कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, कुशको छाना हटाउने अभियानजस्ता कार्यक्रमले ग्रामीण, गरिब र पछाडि पारिएका वर्गमा पहुँच बनाएका थिए । ओलीको कार्यकालमा बारा–पर्साका टोर्नाडो पीडितलाई ५ महिनामै घर बनाइयो ।

भूकम्पले ध्वस्त बनाएका संरचना-धरहरा, दरबार हाईस्कुल, रानीपोखरी, गोरखा दरबार जस्ता सम्पदाहरू-पुनर्निर्माण भए । ती काम कुनै नाराको खेती थिएनन्, तिनीहरू देश बनाउने यथार्थ प्रयास थिए र पूरा पनि भएको छ । बलम्बु नौविसे सुरुङमार्ग प्रयोगमा आइसक्यो । अठार घण्टाको अन्धकार छिचोल्दै लोडसेडिङ अन्त्य गर्नु पनि सामान्य कुरा थिएन । यो एमाले र केपी ओलीकै नेतृत्वमा सम्भव भएको छर्लङ्गै छ ।

तर, आज के भइरहेको छ ? तिनै नेतामाथि झूटो आरोप, चरित्र हत्या र योजनावद्ध बदनाम गर्ने अभियान चलाइँदैछ । केही मिडिया, सामाजिक सञ्जाल, केही स्वघोषित बुद्धिजीवी र केही विदेशी स्वार्थमा चल्ने तत्त्वहरू ओलीलाई जनविरोधी, अलोकतान्त्रिक वा भ्रष्टाचारमा संलग्न भनेर प्रस्तुत गर्न अभ्यस्त छन् । तर, कुनै प्रमाण छैन ।

ओलीमाथिका आरोप प्रमाणित गर्ने अदालत छैन, बरु त्यो एक नियोजित हमला देखिन्छ, जसको उद्देश्य स्पष्ट छ- राष्ट्रवादी नेतृत्वलाई कमजोर बनाउने, झुकाउने, बिझाउने नेताको स्थानमा चलखेल गर्दै रमाउने र कठपुतली नेताको रूपमा परिभाषित गराउने स्वार्थमा लिप्त देखिन्छन् । आफ्नो घर खरानी बनाएर ब्युँताउन लगाउने मनोदशाले ग्रसित छन् ।

नेपालको राजनीतिमा सिण्डिकेट, भागबण्डा, गुटबन्दी र अवसरवादको राक्षसीकरण पलाएको धेरै भयो । ओलीले यही संस्कृतिलाई तोड्न खोजे । विभिन्न राजनीतिक घटना र सार्वभौमसत्ताप्रति सतिसाल झैं अडिक रहनु केवल ओलीको हार थिएन । नेपाली जनता र सार्वभौम राष्ट्रको अपमान ओलीलाई पाच्य थिएन र छैन पनि ।

दलाल पूँजीवादका अनुयायीले स्वार्थको रोटी सेक्न नेपाली जनताको आशा कुल्चे—तर ओलीले हिम्मत हारेका छैनन् । उनी राजनीतिक जंघारमा पटक पटक लडे, फेरि उठे र जनताको आवाज बोलिरहे । ओली साँच्चीकै ठट्टा र हाँसीमजाक पनि गर्छन् तर, जनता र देशविकास माथि होइन, जो विकासविरोधी छन्, जो अवाञ्छित गतिविधिमा संलग्न छन्, जो आफूबाहेक अरू कोही होइनन् भन्ने मनोदशाबाट ग्रस्त छन्, उनीहरूलाई ओलीको ठट्टाले पनि ठूलै चोट पुर्‍याएको छ । हो, त्यस्ता फोहोरी र ढोँगी अनुहारहरू नै ओलीमाथि लाञ्छना लगाउन र बदनाम गर्न तल्लीन छन् ।

ओली भारत वा अरू कुनै शक्तिको दबाबमा चल्ने नेता होइनन् । उनमा राष्ट्रियताप्रतिको अकाट्य आत्मसम्मान छ । यही आत्मसम्मानले केहीलाई असहज बनाएको छ । विदेशी चलखेलको विरोध गर्ने, असंवैधानिक दबाब अस्वीकार गर्ने र नेपालको हितका लागि राष्ट्रवादी निर्णय लिने नेताहरू शक्तिशाली खेलाडीका लागि समस्या बन्ने कुरा इतिहासदेखि नै जारी छ ।

आज विदेशी एजेण्डामा चल्ने दलाल प्रवृत्तिका लागि ओली बाधक बनेका छन् । त्यसैले त उनलाई संसदमा होइन, सडकमा होइन, सामाजिक सञ्जालभित्र फैलाइएको झूटको मैदानमा हराउने प्रयास भइरहेको छ ।

तर, नेपाली जनता सबै मूर्ख छैनन् । उनीहरूले केपी ओलीको काम चिनेका छन्, निर्णय हेरेका छन् । जनमतद्वारा एमाले देशको सबैभन्दा ठूलो दल बन्नु यसको प्रमाण हो । एमाले–ओलीलाई मत दिइने कारण गफ होइन, काम हो, नीति हो, राष्ट्रप्रेम हो र सबैभन्दा ठूलो कुरा जनताको सर्वोपरी हितमा दूरदर्शिताको प्रक्षेपण हो । आलोचना गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो, तर निराधार आरोप, व्यक्तिगत हमला र दुष्प्रचार लोकतन्त्र होइन, षड्यन्त्र हो ।

आज देश फेरि अन्योलमा छ । सरकार छ, तर सरकारको काम छैन । निर्णय छन्, तर कार्यान्वयन छैन । विदेशी एजेण्डा हावी छ, तर राष्ट्रियता मौन छ । यस्तो बेला हामीले प्रश्न उठाउनुपर्छ– के फेरि यस्तो संकटमोचक, यति स्पष्ट, निडर र आत्मनिर्भर सोच बोकेको नेतृत्व हामीले पर्खिनै पर्ने हो ? ओलीको नेतृत्वमा जे काम भए, तिनलाई पूर्णता दिने अवसर फेरि किन नदिने ? के हामी फेरि गफ, भागबण्डा र विदेशी दबाबको कठपुतली खोजिरहेका छौं ?

केपी शर्मा ओली कुनै देवता होइनन् । उनमा कमजोरी नहुन सक्दैन । तर, उनीसँग राष्ट्रको माटोको माया छ, इतिहासप्रतिको जिम्मेवारी छ र भविष्यप्रतिको योजनाबद्ध सोच छ । यस्तो नेता बिरलै पाइन्छ । उनलाई हेर्ने दृष्टिकोण आलोचनाबाट मात्र होइन, पुनर्विचारको नयाँ आँखिझ्यालबाट हेर्नुपर्छ । आज जरुरी छ, हामी राजनीतिक हिसाबभन्दा माथि उठेर प्रश्न गरौं– के साँचो राष्ट्रभक्त नेताको साथ दिनु अपराध हो ?

देश निर्माण सपना देखेर मात्र हुँदैन, त्यसको जग हाल्नुपर्ने हुन्छ, बलिदान दिनुपर्ने हुन्छ र आलोचना सहनुपर्ने हुन्छ । केपी शर्मा ओली ती सबै परीक्षा पास गरेका नेतामध्ये अग्रणी छन् । इतिहासले उनलाई जस्तो मूल्य चुकाउन लगायो, त्यो सहेर पनि जसले राष्ट्रको पक्षमा उभिने आँट गर्‍यो, उसलाई गाली होइन, सम्मान गर्नुपर्छ ।

आज हामी आलोचना थामेर विचार गरौं, के देशले फेरि गति लिनु पर्दैन ? यसका लागि केही निर्णय गर्नु पदैन ? के फेरि राष्ट्रका लागि बोल्ने नेता चाहिँदैन ? जवाफ छ– हो । र, त्यो जवाफको प्रतीक आज पनि केपी शर्मा ओली नै हुन् । फेरि एकपटक बोलौं राष्ट्रवादको अपराधीकरण कहिलेसम्म ? आलोचना होइन, पुनर्विचार गरौं ।

(लेखक प्रेस चौतारी नेपालका महासचिव हुन् )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *