
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको तर्फबाट सरकारमा सहभागी गराउन चाहेपछि युवाहरु मन्त्री बन्न तम्सिएका छन् । आज सामाजिक सञ्जालमा जेनजीबाट प्रस्तावित नामभन्दै थरिथरि सूची सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा आएको एउटा विज्ञप्तिमा ‘सडकको आगो मन्त्रीमण्डलमा’ नाम समितिको वैठक बसेको र त्यसले चार जनाको नाम प्रस्ताव गरेको उल्लेख छ । अध्यक्ष प्रकाश बोहारा र अभिषेक श्रेष्ठको अध्यक्षतामा नक्सामा बसेको भनिएको वैठकमा चर्चित जेनजी अभियन्ता ९ जनाको हस्ताक्षर देखिन्छ ।
हेर्नुस विज्ञप्ति:

उक्त विज्ञप्तिमा दिवाकर दंगाललाई महिला तथा बालबालिका मन्त्री, रक्षा बमलाई महिला तथा बालबालिका राज्यमन्त्री र पुरुषोत्तम यादवलाई पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सिफारिस गरिएको उल्लेख छ । यस्तै, ओजस्वि राज थापालाई बन तथा वातावरण राज्यमन्त्री, जस्मिन ओझालाई सहरी विकासराज्यमन्त्री, प्रवेश दाहाललाई श्रम तथा रोजगार राज्यमन्त्री, सिपी श्रेष्ठलाई पर्यटन तथा उड्डयनमन्त्री र मिराज ढुंगानालाई गृहमन्त्री तोकिएको छ ।
यो विज्ञप्तिमा रक्षा बमले आपत्ति जनाएकी छन् । आफ्नो र युजन राजभण्डारीको हस्ताक्षर किर्ते गरिएको र आफूसँग यो विषयमा कसैको छलफल नभएको उनको भनाइ छ ।
अर्को विज्ञप्ति पनि नेपाल प्रेसलाई प्राप्त भएको छ, जसमा उही ‘सडकको आगो मन्त्रीमण्डल’ मा नामक समितिको उल्लेख छ । यसमा अभिषेक श्रेष्ठको अध्यक्षतामा नक्सालमा बसेको ५ जनाको वैठकले मिराज ढुंगानासहित ४ जना मन्त्री सिफारिस गरेको जनाइएको छ ।
सिफारिस भएको भनिएकामा मिराज ढुंगाना संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय, दिवाकर दंगाललाई युवा तथा खेलकुद, डा. सरिशा श्रेष्ठ महिला तथा बालबालिका र डा. विश्वस बस्ने स्वास्थ्यमन्त्री रहेका छन् ।
भोलि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतलनिवासमा प्रधानमन्त्री र मन्त्रीहरुले जेनजीसँग छलफल गर्ने कार्यक्रम छ । जेनजीले थरिथरिका नाम प्रस्ताव गर्दा भद्रगोल हुन सक्ने देखिन्छ ।

Leave a Reply