
काठमाडौं । नेपाल र यूएईबीचको क्रिकेट भिडन्तलाई एसोसिएट्स क्रिकेटमा ‘एल क्लासिको’ भन्ने गरिएको छ । आज भएको विश्वकप छनोट अन्तरगतको सुपर सिक्सको खेल साँच्चै एल क्लासिको सावित भयो ।
हारतर्फ सोझिएको नेपालले अविश्वसनीय पुनरागमन गर्दै युएईलाई एक रनले स्तब्ध पारेको छ । नेपालले कार्डियाक किड्सको छविलाई कायम राख्दै फ्यानहरुलाई अन्तिममा खुशी दिन सफल भयो । यसका लागि अन्तिम बलसम्म पर्खिनुपर्यो ।
नेपालले आज ब्याटिङमा निकै संघर्ष गर्नुपरेको थियो । कठिन पिचमा नेपाली ब्याटरहरुले मिहिनेतपूर्वक १४० रनको औसत स्कोर खडा गरे । आसिफशेखले अर्धसतक बनाए पनि गुल्शन झाले ५ बलमा १४ रन नेपाललाई कमजोर स्कोरबाट जोगाए ।
दोस्रो इनिङमा पनि उत्कृष्ट सुरुवात गर्दै दोस्रो ओभरमा नै नेपालले युएईका कप्तान मोहम्मद वसिमको विकेट लिन सफल भयो । दोस्रो ओभरको पाचौंमा सोमपाल कामीलाई ठूलो सट हान्न खोज्दा यूएईका खतरनाक ओपनर क्याचआउट हुन पुगे, जतिबेला यूएईको खातामा २ रन मात्रै जोडिएको थियो । त्यसपछि भने यूएईले खेलमा प्रभुत्व बनायो ।
ओपनर जोनाथन फिगी र अलिसान सराफुले ८१ रनको साझेदारी गर्दै नेपाली दर्शकलाई निराश बनाए । यूएईले ११.१ ओभरमा १ विकेट मात्रै गुमाउँदा ८३ रन बटुलिसकेको थियो । तर, त्यसपछि दिपेन्द्रले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै नेपाललाई खेलमा फर्काए । ११.२ ओभरमा उनले फिगीलाई क्याचआउट गराए भने १३.१ ओभरमा आलिसान सराफुलाई बोल्ड गरिदिए । विष्फोटक ब्याटिङ गर्दै अर्धसतक बनाएका सरफु आउट भएपछि नेपाली दर्शकको सास आएको थियो ।
त्यसपछि यूएईले धमाधम विकेट गुमाउन थाल्यो भने रन रेट घट्दै गयो । अन्तिम ओभरम आइपुग्दा युएईलाई जितका लागि १० रन चाहिएको थियो भने हातमा थिए चार विकेट । यूएईको पल्लाभारी देखिन्थ्यो । नेपालका कप्तान रोहित पौडेलले दिपेन्द्रलाई बल थमाए । त्यसपछिका ६ बल सनसनीपूर्ण थिए ।
पहिलो र दोस्रो बल कसिलो फ्याँकेका दिपेन्द्रले एक रन मात्रै खाए । तेस्रोमा यूएईका धु्रव परासरले छक्का हान्दै नेपाललाई ठूलो झट्का दिए । त्यसपछि तीन बलमा तीन रन मात्रै चाहियो । चौंथो बलमा परासर अर्को ठूलो सट खेल्न खोज्दा आउट भए ।
पाचौं बल यूएईका लागि दुर्भाग्य बन्यो । हेदर अलि एक रनका लागि दौडिएपछि दुई रन लिने क्रममा उनको हातबाट ब्याट खस्यो । ब्याट नटिपिकन उनले हातले नै बाउन्ड्रीमा छुने प्रयास गरे र अर्को रनका लागि दौडिए । तर, उनको औंलाले बाउन्ड्री छोएको थिएन । उनी अर्को इन्डमा पनि पुग्न सकेनन् र रनआउट भए । औंलो बाउन्ड्रीमा नछोएकाले गर्दा एक रन पनि काउन्ट भएन । यदि यो रन काउन्ट भएको भए सायद खेल बराबरी हुन सक्थ्यो ।
अन्तिम बलमा यूएईलाई जितका लागि दुई रन चाहिएको थियो । एक रन आउँदा म्याच बराबरी हुन्थ्यो । तर, नेपालले उत्कृष्ट फिल्डिङ गर्दै यूएईका ब्याटरलाई रन आउट गर्यो । सन्दीप जोराको उत्कृष्ट थ्रोमा जाहिद अली रनआउट भएपछि यूएईले एक रन पनि लिन सकेन । नेपाली क्याम्पमा खुशी छायो ।

Leave a Reply