१८ महिनापछि फेरि किन समातिए महरा ?

काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करी भएको सुन प्रकरणमा मुछिएका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा फेरि पक्राउ परेका छन् । उही मुद्दामा पहिल्यै पक्राउ परी हाजिर जमानीमा छुटेका उनी १८ महिनापछि फेरि किन समातिए ?

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का प्रमुख एआईजी डा.मनोजकुमार केसीका अनुसार २०८० चैत ९ मा हाजिर जमानीमा छुटेका उनी त्यसरी छुट्न हुने व्यक्ति नभएका कारण पुनः पक्राउ परेका हुन् । ‘उक्त मुद्दामाथि पुनः अनुसन्धान गर्दा उहाँ त्यसरी छुट्नुपर्ने व्यक्ति नभएको देखियो, हामी भोलि नै उहाँलाई प्रतिवादी बनाएर अदालतमा पेश गर्दैछौँ’, उनले भने ।

यदि महरा हाजिर जमानीमा छुट्नुपर्ने व्यक्ति थिएनन् भने प्रहरीले १८ महिनासम्म उनलाई किन चलाएन ? के अब राजनीतिक दलसम्बद्ध अन्य व्यक्ति यसरी नै पक्राउ पर्दै जालान् ? एआईजी डा.केसी भन्छन्, ‘यो मुद्दासँग राजनीतिको कुनै सरोकार छैन, फौजदारी कसुरमा उहाँको संलग्नता देखियो, हामीले समात्यौँ ।’

उनी अहिले पक्राउ परेकै कसुरमा तत्काल अन्य कोही प्रतिवादीलाई पक्राउ गर्न बाँकी नभएको उनले बताए । तर, अरु घटना र तिनको अनुसन्धानका क्रममा कतै त्रुटी भएको भए जो पनि पक्राउ पर्नसक्ने डा.केसीले बताए । ‘अरु, अरु अनुसन्धानका क्रममा अन्य व्यक्ति पक्राउ पर्नसक्ने कुरा त हुन्छ, तर फौजदारी कसुरमा को व्यक्ति कुन पेशा र पृष्ठभूमिको छ भनेर हेरिँदैन, मुद्दाको स्थितिका आधारमा व्यवहार हुन्छ ।’

के हो महराको काण्ड ?

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड ०५८७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका चिनियाँ नागरिक लि हनसङले २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए । ती सामान भन्सार कार्यालयले आफ्नो स्टोरमा राखेको थियो । भन्सारका नायव सुब्बा रेवन्त खड्कासहितका व्यक्तिले ती बट्टाभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन रहेको थाहा पाएपछि संगठित रुपमा आपराधिक लाभ लिए । उक्त कसुरमा महराको संलग्नता पुष्टि भएपछि उनी फरार भए ।

अनुसन्धानका क्रममा चिनियाँ तस्करसँग उनी र उनका छोरा राहुनको २ सय ५६ पटक फोन सम्पर्क भएको देखिएको थियो । उक्त घटनापछि सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा सुन तस्करी अनुसन्धान जाँचबुझ आयोग बनाएको थियो । उक्त आयोगले २०८० चैत १ गते प्रतिवेदन बुझाएको थियो ।

त्यसले महरामाथि मुद्दा चलाउने १० वटा आधार किटान गरेको थियो । मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि महरा रोल्पास्थित पुख्र्याैली घर जाने भन्दै स्थलमार्गबाट भैरहवाबाट पश्चिमतिर लागे । आफ्नो साथमा रहेका सुरक्षाकर्मीलाई भैरहवामै छाडे । उनी रुपन्देहीको लुम्बिनी क्षेत्र हुँदै कपिलबस्तुको पकडीतिर लाग्दै गर्दा प्रहरीले बेरियर लगाएर पक्राउ गरेको थियो । उनी त्यहाँबाट भारततर्फ प्रवेश गर्न लागेको प्रहरीले जनाएको थियो ।

पक्राउपछि काठमाडौं ल्याइएका उनलाई अनुसन्धान गर्नका निम्ति प्रहरीले ७ दिनको म्याद माग गरी हिरासतमा राखेको थियो । जिल्ला अदालतले उनको स्वास्थ्यस्थितिको ख्याल गर्न भन्दै आवश्यक म्याद त दियो । तर, राजनीतिक दबाबमा सिआईबीले पाँचै दिनमा महरालाई हाजिर जमानीमा रिहा गर्न सिफारिस गर्यो ।

उनले आफूलाई क्षयरोग, युरिक एसिड र प्रोस्टेटको समस्या रहेको र ८ किसिमका औषधी दैनिक सेवन गर्नुपर्ने भन्दै अदालतमा निवेदन दिएका थिए । त्यसपछि नर्भिक अस्पतालमा भर्ना गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका निम्ति पेश गरियो ।

उक्त मुद्दामा सिआईबीले भन्सारका नासु खड्का, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, साहेब राव पाण्डुरङ मरगले, अमृत कार्की, निर्मलकुमार विक, दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापालाई आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधको कसुरमा प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । त्यसमध्ये पाण्डुरङ मरगले कारागारमा थुनिएका थिए । उनले बयानका क्रममा सुन तस्करीमा चिनियाँ नागरिकसँगै महराको पनि आर्थिक लगानी भएको किटान गरेपछि महरामाथि मुद्दा सोझिएको हो ।

रोशनी प्रकरणबाट सुरु भयो दुःख

२०४८ सालदेखि राष्ट्रिय राजनीतिक परिदृश्यमा छाएका महरा २०७६ सालको रोशनी प्रकरणपछि विभिन्न झमेलामा पर्दै आए । उनी २०४८ को आम निर्वाचनमा रोल्पाबाट संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा (माओवादी) ले २०५२ फागुनमा जनयुद्ध शुरु गर्दा उनी शुरुवाती समयदेखि नै सक्रिय रहे ।

सशस्त्र द्वन्द्वकालमा उनी पार्टी प्रवक्ता थिए, शान्तिप्रक्रियामा आएपछि पनि सोही भूमिकामा रहे । २०६३ मा गठित सरकारदेखि उनी निरन्तर मन्त्री रहँदै आए । २०७४ को निर्वाचनमा वाम गठबन्धनअन्तर्गत माओवादी केन्द्रका तर्फबाट उनले दाङमा उम्मेदवारी दिए, निर्वाचित पनि भए । सोही कार्यकालमा सभामुख भए । तर, २०७६ असोज १३ गतेको घटनापछि विवादमा मुछिएका उनी बलात्कार अभियोगमा पक्राउ परेसँगै सभामुखको पद गएको थियो ।

असोज १३ गते तीनकुनेस्थित रोशनी शाहीको डेरामा गएर दुव्र्यवहार गरेको आरोपपछि असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए । शाही संसद सचिवालयको स्वास्थ्य सेवाअन्तर्गत करारकी कर्मचारी थिइन् ।

तर, पाँच महिनाको जेल बसाईपछि २०७६ फागुन ५ गते उक्त मुद्दामा उनले सफाई पाए । जिल्ला अदालत, काठमाडौंका अम्बरराज पौडेलको इजलासले उनलाई सफाई दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *