बालेन र सुधनविरुद्ध भटाभट जाहेरी- प्रहरीले लिँदै, थन्क्याउँदै

काठमाडौं । काठमाडौं प्रहरी परिसरले तत्कालीन भदौ २३ र २४ गतेका घटनाहरूलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध भटाभट जाहेरी परिरहेका छन् । तर, अहिलेसम्म कुनै पनि जाहेरी प्रहरीको दर्ता किताबमा चढेको छैन ।

सुरूमा एमाले निकट अनेरास्ववियुले काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दिएको थियो । त्यसपछि अन्य केही जिल्लाहरूमा पनि अखिलका नेता कार्यकर्ताले जाहेरी दिए । त्यसपछि अभियन्ता युवराज सफलले पनि बालेन र सुधनमाथि किटानी जाहेरी हाले । यस्तै आज, कांग्रेसनिकट नेविसंघले पनि काठमाडौं र ललितपुरमा जाहेरी दिएको छ ।

प्रहरीले सबै जाहेरी बुझेर भदौ २३-२४ को घटनाबारे जाँचबुझका लागि बनेको आयोगमा पठाउने बताएको थियो । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेका जाहेरी प्रहरीले आयोगमा पठाइसकेको थियो । तर, बालेन-सुधनविरुद्धका जाहेरी भने प्रहरीले आयोगमा नपठाइकन थन्क्याएको खुलेको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार ओली र लेखकविरुद्धका जाहेरी आयोगले प्रहरीमै फिर्ता गरिदिएपछि बालेन-सुधनको जाहेरी नपठाइएको हो ।

परिसरका प्रवक्ता पवन भट्टराईले नेपाल प्रेससँग भने, ‘हामीले अहिलेसम्म जाँचबुझ आयोगमा एउटामात्रै जाहेरी पठाएका हौं । अन्य जाहेरी पनि पठाउने तयारीमा थियौँ । तर, शुरूमा पठाएको जाहेरी नै फिर्ता आएपछि अरु जाहेरी के गर्ने भन्ने विषयमा छलफल गर्दैछौँ ।’

प्रहरीमा आएका सबै जाहेरी सुरक्षित रहेको र दर्ता गर्ने वा नगर्ने विषयमा सरकारी वकिलको राय लिएर निर्णयमा पुग्ने भट्टराईले बताए ।

नेविसंघले भने जाहेरी दर्ताका लागि २४ घण्टाको अल्टिमेटम नै दिएको छ । उक्त २४ घन्टाभित्र दर्ता गरेर कारबाही अघि नबढेको खण्डमा सडकमा उत्रिने नेविसंघका नेताहरूले बताएका छन् । अन्य जिल्लाहरूमा पनि जाहेरी दिने नेविसंघको तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *