
काठमाडौं । देशमा विकसित परिस्थितिका कारण केही समय शान्त बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको अन्तरसंघर्ष फेरि बल्झिन लागेको छ । महामन्त्री डा. धवलशम्शेर राणाले आगामी रणनीति तय गर्न संस्थापन इतर पक्षको बैठक राखेका छन् ।
चाबहिलको नवदुर्गा पार्टी प्यालेसमा संस्थापन इतरको बैठक अहिले बसिरहेको हो । बैठकमा पार्टी केन्द्रीय समितिको बैठक आह्वान, नियमित महाधिवेशनको मिति घोषणा, संस्थापन पक्ष इतरका नेताहरूमाथिको कारबाही फिर्ता लिनुपर्ने, तथा जेनजी आन्दोलनमा पार्टीको भूमिकाका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकाल मंसिरमा सकिँदैछ । अहिलेसम्म महाधिवेशनको मिति घोषणा गरिएको छैन । विधानतः एक वर्ष अवधि थप्न सकिने भएकाले संस्थापन पक्षले महाधिवेशनमा चासो नदिएको इतर पक्षको दाबी छ । आजको बैठकबाट मंसिरमै महाधिवेशनका लागि दबाब दिइने ती नेताले बताए ।
केन्द्रीय समिति बैठक पनि माघयता हुन सकेको छैन । अध्यक्ष लिङ्देनले पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले कारबाही गरेको भन्दै केन्द्रीय समिति बैठकमा कडा प्रतिवाद गर्ने तयारी संस्थापन इतरको थियो । तर, यसलाई टार्न लिङदेनले केन्द्रीय समिति बैठक नबोलाएको संस्थापन इतरको दाबी छ ।
आजको बैठकमा काठमाडौंमा उपलब्ध डा. राणा पक्षधर केन्द्रीय सदस्यहरूसहित ९६ जना सहभागी रहेको बुझिएको छ ।
राप्रपा संस्थापन पक्षले भने जेन-जी आन्दोलनबाट युवाहरूमा पार्टीको लोकप्रियता पुष्टि भएको संस्लेषण गरेको छ । अन्य पुराना दलका कार्यालय र नेताका निजी निवासमा आक्रमण हुँदा राप्रपालाई क्षति नपुर्याइएकाले राप्रपा अबको बैकल्पिक शक्तिका रुपमा उदाउन सक्ने नेतृत्वको आँकलन छ ।

Leave a Reply