मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा दुविधा नराख्न आग्रह गरेका छन् ।

आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेका खरेलले जेन-जी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड र आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेकाले कुनै दुविधा नराख्न भनेका हुन् ।

फागुन २१ गते तोकिएको निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गरिने भन्दै उनले सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने विश्वास जनाए । अहिले दलहरूसंगको संवादहिनता अन्त्य भएकाले मुलुक निर्वाचनमा होमिएको उनको भनाइ थियो ।

त्यसैगरी मन्त्री खरेलले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनतालाई अनुभूत गराउने गरी सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती पहल हुने जिकिर गरे । मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने जोखिम रहेकाले मुलुकलाई ट्रयाकभन्दा बाहिर जान नदिन सबै गम्भीर हुनुपर्ने खरेलको तर्क छ ।

अनलाइन सञ्चार माध्यम सूचना विभागबाट दर्ता तथा नवीकरणको काम सम्भवतः तिहारअघि नै सुरू हुने पनि उनले जानकारी दिए । सञ्चारमन्त्री खरेलले पत्रकारहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *