अहंकारको आसनबाट ओलीलाई उतार, एमालेको संकट टार

नेपालको राजनीतिक अहिले जटिल मोडमा छ । त्यसमाथि भूराजनीतिक स्वार्थको मैदान बनिदिँदा नयाँ पुस्ता र सिंगो नेपालीको अस्तित्वमाथि यतिबेला गम्भीर चुनौती खडा भएका छन् । यो राजनीतिक परिदृश्यलाई नियाल्दा अरू सुध्रिनु, बिग्रिनु एउटा कुरा होला । पूर्ववर्ती सरकारका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिनु मुख्य शर्त हुन्छ । किनभने, देशमा जुन हुँड्लो सिर्जना भयो, त्यसको कारण उनी नै हुन् ।

दुःखका साथ भन्नुपर्छ कि, २०४६ को परिवर्तनपछि कुनै प्रधानमन्त्री आन्दोलनको बलमा बहिर्गमित भए भने ती ओली नै हुन् । बहिगर्मितमात्रै होइन, बालुवाटारको चार दिवारीभित्र मृत्युको भयका साथ ज्यान जोगाउने भाग्नुपर्ने दिन उनैले व्यहोर्नुपरेको छ । यो सामान्य कुरा होइन ।

आन्दोलनको दबाबमा सरकार परिवर्तन हुनु, नैतिक कारणले राजीनामा दिएर नयाँ सरकार बन्नु नेपाली राजनीतिमा हुँदै आएका घटना हुन् । तर, केपी ओलीको स्थिति फरक रह्यो । २४ गते बिहानसम्म ‘किन दिने राजीनामा ?’ भन्दाभन्दै पछि त राजीनामा दिन पनि नभ्याउने स्थितिमा पुगे । जसै नेपाली सेनाले राजीनामा लगेर राष्ट्रपतिलाई बुझाइदिन र बालुवाटारबाट रेस्क्यु गरिदिन सक्यो । यस मानेमा सेना धन्य छ ।

अहिलेको जेनजीभन्दा निकै ठूलो जनआन्दोलन २०४६ सालमा भयो । त्यसबेलाका प्रधानमन्त्री मरिचमान सिंहलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई केही दिनका निम्ति प्रधानमन्त्री बनाइयो । बहुदल घोषणा भयो । तर, न मरिचमान न त लोकेन्द्रबहादुरले नै ज्यान जोगाउन भाग्नुपरेको थियो ।

२०६२/६३ को आन्दोलन सफल भयो । राजकीय सत्ता आफूमा निहित गरेका तत्कालीन राजा ज्ञानेन्द्रले भाग्नुपरेन ।नारायणहिटीभित्रै हुँदा राजतन्त्र ढल्यो । पत्रकार सम्मेलन गरेर, आफ्नो धारणा सार्वजनिक गरे, नमस्कार गर्दै नागार्जुन र निर्मल निवास फर्किए । भागेनन् वा लखेटिएनन् ।

तर, केपी ओली सरकारबाट राजीनामा दिएर ज्यान जोगाउन भाग्ने पहिलो प्रधानमन्त्री भए । त्यसपछि पहिलो चोटि गुण्डुमा सार्वजनिक हुँदा आफैँले भनेको छन्, ‘मात्र पाँच मिनेट ढिलो भएको भए मलाई नै मार्ने रहेछन् ।’ सेना, प्रहरी, सशस्त्रको त्यस्तो सुरक्षा घेराभित्र बस्ने देशका प्रधानमन्त्री पाँच मिनेटको गडबडीमा मारिने स्थिति हुनुले भन्न सकिन्छ, देशमा यति अनुदार, अलोकप्रिय प्रधानमन्त्री थिएनन् । अब इतिहासले उनको शीरमा ‘भगौडा प्रधानमन्त्री’ को ताज पहिरिने छ ।

मुख्य विषय त के हो भने, भदौ २३ र २४ को Gen-Z आन्दोलनले २ दिनमा नै सत्ता परिवर्तन गर्यो । देशमा ठूलो मानवीय र भौतिक क्षति भयो, जो नहुनुपर्ने थियो । क्षतिले देशलाई पारेको राजनीतिक तथा भौतिक विषयको समीक्षा भोलिका दिनमा हुँदै जाला । तर, यो परिस्थितिको सिर्जना कसको कारणले भयो भन्ने नै मुख्य विषय हो ।

यो घटनाको जिम्मेवारी सरकार प्रमुखको हैसियतले केपी ओलीले लिनुपर्ने हो । क्षमा माग्नुपर्ने हो । र, आफू असक्षम भएको भन्दै सार्वजनिक रूपमा नेपाली जनता तथा नेकपा एमालेको अध्यक्षको रूपमा पार्टीका कार्यकर्तासमक्ष आत्माआलोचना गर्नुपर्ने हो । तर, उनले त्यसो पनि गरेनन् । उल्टै असोज २३ गते नेकपा एमालेले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले ठूलो आक्रोश पोखे, दम्भपूर्ण अभिव्यक्ति दिए । व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेनन् । उनको असक्षमताको कारण देश खरानी भएको महसुस नै गरेनन् । यो शैली आसेपासेलाई राम्रो लागेको होला । तर, सारा नेपालीलाई मन परेको छैन र उनकै पार्टीका नेता तथा कार्यकर्तालाई समेत हताश बनाएको छ ।

हामीले महाभारतमा पढेका छौँ, युद्ध हारेका दुर्योधन बाँच्नका लागि पानीमा लुके । श्रीकृष्ण र पाण्डव उनलाई खोज्दै त्यहाँ पुगे । दुर्योधन भन्दै थिए, ‘म हारेर होइन, थाकेर आराम गर्दैछु ।’ त्यसउपर श्रीकृष्णले मन्द मुस्कानसहित भनेका थिए, ‘अहंकारीले कहिल्यै हार स्वीकार्दैन, हारलाई पनि आरामको नाम दिन खोज्छ ।’ आजको ओली तिनै दुर्योधनको अवतारमा छन् । अर्थात्, अहंकारको पहाडले उनलाई थिचिरहेको छ । उनीचाहिँ हार हैन, आराम मानिरहेका छन् ।

उनी आफू र आफ्नो पार्टीसँग जोरी खोज्नेलाई तह लगाउँछु भन्दै हिंसा र मुढ्भेडको अपिल गर्दैछन्, अर्थात् लल्कार्दैछन् । कुनै समय जसले ‘राजनेता’ र ‘बा’ भनेर आम नेपालीले पुकार्थे । आज उनीहरू सोच्दैछन्, ‘कस्तो मानसिक सोच रहेछ ? कस्तो व्यक्तिको हातमा देशको पुगेछ ?’ अहंकारले केवल अहंकारीमात्रै ढल्दै छैन । त्यसले सिंगो एमाले विरासत ढाल्छ । त्यसैले आफ्नो चिन्ता छैन भने पनि एमाले र त्यसप्रति आस्थावान लाखौँ जनताको हित, सुरक्षा र उन्नतिका निम्ति उनले सोच्नुपर्ने हो । तर, त्यस्तो छाँटकाँट अहिलेसम्म आएन ।

उनी एमाले नेतृत्व हस्तान्तरणको मनस्थितिमा छैनन् । उनलाई ‘म अब्बल छु, मेरो नेतृत्व अब्बल छ’ भन्ने भ्रम छ । यत्रो परिवर्तन हुँदा र भागेर ज्यान जोगाउँदासमेत उनमा त्यो चेतना आएको छैन । आफू रहँदासम्म नेतृत्वमा रहिरहने, आफू नहुँदा देश तथा पार्टीको माया र भविष्यको मतलब नभएको उनमा देखियो ।

केपी ओली नेतृत्वमा हुँदा देशमा जे परिवर्तन भयो, त्यसक्रममा जे–जे क्षति भयो, त्यो सबै भइसक्यो । वर्तमान तरल अवस्थामा देश कसरी अगाडि बढ्ने भन्ने अन्यौलता छ । मुलुकको सञ्चालन राजनीतिक दलहरूले नै गर्ने हो । त्यसको लागि Gen-Z आन्दोलनको भावना, नेपाली जनताको चाहना र पार्टीको सही नेतृत्वले मात्र निकास दिनसक्छ ।

एमालेमा नेता, कार्यकर्ताले नयाँ नेतृत्वको बारेमा डटेर आवाज उठाउनुपर्ने देखिन्छ । अहिले पनि कसैले नेतृत्व परिवर्तनको कुरा उठाउँदा कारबाही गर्ने सोच देखिन्छ ।

देश, विदेशमा आफ्नो बलियो सांगठानिक सञ्जालमा फैलिएको एमाले एक विशाल र सु-संगठित राजनीतिक दल हो । यो दलमा केपी ओलीको व्यक्तिवाद हाबी हुन दिनु हुँदैन । लाखौँ कार्यकर्ता अलपत्र पर्ने स्थिति आउन सक्छ । तसर्थ, उनलाई अभिभावक मानेर नयाँ नेतृत्व आउन जरुरी छ । नेता कार्यकर्ता कारबाहीको डरले चूप नलागेर सत्यको पक्षमा उभिएमा देश तथा समग्र पार्टीको भविष्य राम्रो हुने देखिन्छ ।

अब इतिहासले ‘भगौडा प्रधानमन्त्री’ भनेर पहिरिने ताजलाई त कसै गरेर पनि मेटाउन नसकिएला । तर, इतिहासका पाठकले ‘…पछि उनी सुध्रिए’ भन्ने वाक्यांश पढ्न पाए भने ‘भगौडा’ हुनुपर्नाको कारण, परिस्थिति र घटनाक्रममा थोरै भए पनि उनले माफी पाउन सक्छन् । उनको पार्टी एमालेले कलंकको टीको लगाउनुपर्ने छैन । त्यसैले विश्वभर फैलिएका एमालेजनले ओलीलाई अहंकारको आसनबाट उतारेर एक सुन्दर, सौम्य र सुसंस्कृत एमाले निर्माणको बाटो समात्नुपर्छ । सम्पूर्ण एमाले ओलीजस्तो होइन, तर एउटा ओली खराब हुँदा सिंगो एमाले सत्यानाशको बाटोमा लाग्दैछ । त्यसैले सबै एमाले मिलेर त्यसलाई रोक्नुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *