
रुपन्देही । झापाका युवा अभियन्ता र ट्रेकिङप्रेमी लोचन पौडेलको सपना अधुरै रह्यो । साथीहरूका साथ रारा घुम्न निस्किएका उनको बुटवल–गोरुसिङ्गे सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेर ज्यान गुमेको छ ।
शुक्रबार ५ बजे भएको सवारी दुर्घटनामा परी झापाको बुद्धशान्ति गाउँपालिकाका पौडेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा प्र १–०१–०१४ प १८६४ नम्बरको मोटरसाइकलमा सवार पौडेल पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा प्र ०१–००३२ च ८७६६ नम्बरको भ्यान (इभी)को पछाडिबाट ठोक्किँदा पौडेल दुर्घटनामा परेका थिए । त्यसपछि मोटरसाइकल पुनः लु ३ च ७५७ नम्बरको स्कारपियोमा ठोक्किएको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले बताए ।
मृतक लोचन ट्रेकिङमा रुचाउने र ‘ट्रेक ८५८६’ अभियानका सदस्य थिए । पर्यटन प्रवद्र्नका लागि “केचना देखी लोवुचे” अभियान सफल पार्ने उद्देश्य राख्ने उनी आफ्नो सक्रियताका कारण स्थानीय युवाहरूमा प्रेरणाका स्रोत रहेको उनका सहकर्मी दीपेन्द्र गणेशले बताए।

Leave a Reply