शीतल निवासमा जेनजीको चेतावनी- संस्थागत सुधार र सहिदका सपना पूरा नभएसम्म चुनावमा जान सकिँदैन

काठमाडौं । जेनजी आन्दोलनका सह–संयोजक अर्जुन शाही र आन्दोलनका प्रवक्ता टंक धामीले देशको राजनीतिक, प्रशासनिक र संस्थागत अवस्थाप्रति गम्भीर असन्तोष प्रकट गर्दै सरकारलाई कडा चेतावनी दिएका छन्।

राष्ट्रपतिको कार्यालयमा बसेको प्रधानमन्त्री सुशीला कार्कीसहितको मन्त्रीहरूसँगको वार्तामा जेनजी आन्दोलनका प्रतिनिधिले यस्तो चेतावनी दिएका हुन्।

वार्तामा सह–संयोजक शाहीले भने, ‘देशका संवैधानिक आयोग र सरकारी निकायहरूको संस्थागत सुधार नगरी, सहिद र घाइतेका सपना पूरा नगरी र युवाको आकांक्षा सम्बोधन नगरी यथास्थितिमा चुनावमा जान सकिँदैन।’

उनले हालको परिस्थितिलाई विषम र संवेदनशील बताउँदै देशको यो संक्रमणकालीन अवस्थाले नयाँ पुस्ताको सहभागिता र प्रतिनिधित्व सरकारभित्र आवश्यक रहेको बताए। उनले थपे, ‘युवाले नसोचेको भविष्य, सहिदले नदेखेको अवस्था हामीले दोहोर्‍याउन दिन्नौँ।’

आजै बालुवाटारमा बसेको बैठकमा पनि सह–संयोजक शाहीले सरकारमा पठाइएको चार जनाको नामप्रति असहमति जनाएका थिए।
उनले बैठकमा भने, ‘जेनजी आन्दोलनको अनुमतिविना कसरी चार जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भयोरु यो कसको स्वार्थमा गरिएको होरु’

स्रोतको भनाइ अनुसार जेनजी आन्दोलनको आधिकारिक संरचनाले कुनै पनि नाम सिफारिस गरेको छैन। उनले सरकारले पारदर्शिता र जवाफदेहिताको मापदण्ड पूरा नगरे आन्दोलन पुनः सडकमा आउने चेतावनी दिएका छन्।

शाहीको संयोजकत्वमा गठित टोलीले २०४६ सालपछि भएका एक सय भन्दा बढी चर्चित घोटालाहरूको तत्काल छानबिन गर्नुपर्ने माग गर्दै अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा अन्य आयुक्तहरूसँग हिजो भेटवार्ता गरी मुद्दा दर्ता गराएको थियो।

छानबिन ढिलो भए वा राजनीतिक दबाबमा रोकिने संकेत देखिए आयुक्तहरूले स्वेच्छिक राजीनामा दिनुपर्ने चेतावनी पनि दिएका थिए।
उनले थपे, ‘देशमा संस्थागत सुधार नगरी, सहिद र घाइतेका सपना पूरा नगरी, र युवाहरूको प्रतिनिधित्व सुनिश्चित नगरी हामी यथास्थितिमा चुनावमा सहभागी हुन सक्दैनौँ।’

राजनीतिक दलहरूले जेनजीका आवाजहरूलाई अबमुल्याङ्कन गरे त्यसको मूल्य दल, नेता र सरकारी कर्मचारीले ठुलो चुकाउनु पर्ने चेतावनी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *