दुई चलचित्र एकसाथ आउँदा पनि प्रकाश सपुतले किन पाएनन् चर्चा ?

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतको बितेको एक वर्ष त्यति सम्झनलायक रहेन । उनी एकपछि अर्को कन्ट्रोभर्सीमा परे ।

‘पूर्णबहादुरको सारंगी’को प्रमोसनमा साथ नदिएको भनेर सपुतले आलोचित हुनुपर्यो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गुणगान गाएकोमा आलोचनाको सिकार हुनुपर्यो । उनकै निर्देशन, लेखन र अभिनय रहेको चलचित्र ‘वसन्त’ फ्लप भयो । उनले ल्याएको गीत ‘नाइँ भनेसी नाइँ’ पनि अपेक्षित रुपमा चलेन ।

बितेको एक वर्षको सम्पूर्ण घाउहरुमा मलमपट्टी गरिदिने गरी अहिले सपूतका दुई चलचित्र हलहरुमा प्रदर्शनरत छन्, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ । यी दुवै चलचित्रले ठिकठाक व्यापार गरिरहेका छन् । दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेका छन् । तर, सपूतको भने खासै चर्चा छैन । कारण, दुवै चलचित्रमा उनको भूमिका त्यति धेरै प्रभावशाली नहुनु ।

कुरा गरौं, ‘माइतीघर’को । ‘माइतीघर’ मा सपूतले एक प्रेमीको रुपमा अभिनय गरेका छन् । सोनाम नामक पात्रको भूमिकामा रहेका सपूत पूर्णिमा (उपासनासिंह ठकुरी) सँग प्रेम सम्बन्धमा छन् । सोनाम पनि टुहुरो हो भने पूर्णिमा पनि टुहुरी हुन् ।

उनीहरुको प्रेम सम्बन्धमा आइपर्ने आरोह–अवरोहलाई चलचित्रमा देखाइएको छ । पूर्णिमालाई माग्न आउने बिनय (धिरज मगर) र सोनामबीचको द्वन्द्वलाई पनि सुन्दर ढंगले देखाइएको छ । परिवारको इज्जतका खातिर पूर्णिमाले लिने निर्णय र प्रेम प्राप्तिका लागि आफ्नो अवस्था अनुसार सोनामले गर्ने कोसिसले चलचित्रको क्लाइमेक्समा दर्शकलाई भावुक बनाउँछ ।
चलचित्रमा सपूतले अभिनय ठिकठाक मात्रै छ । तर, उनको त्यही औसत अभिनयले नै दर्शकको संवेदनामा हिर्काइदिन्छ । सपूत र पूर्णिमाबीचको क्लाइमेक्सको दृश्यले नै हो ‘माइतीघर’मा दर्शकलाई रुवाउने ।

अब कुरा गरौं अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’को । यो चलचित्रमा सपूतले आफूले पाएको भूमिकालाई न्याय गरेका छन् । नकुल नामक पात्रको भूमिका निर्वाह गरेका छन् । चलचित्र अभिनेता हरिवंश आचार्य केन्द्रित भए पनि दिइएको भूमिकामा सपूतले आफ्नो छाप छाडेका छन् ।

चलचित्रमा नकुल नामक पात्र हरिबहादुर (हरिवंश आचार्य)ले छोरा बनाएर राखेको पात्र हो । तर, यी दुईजनाबीच भावनात्मक सन्बन्ध एकदमै प्रगाढ छ । दर्शकलाई संवेदित बनाउँछ । नकुलले आफू हरिबहादुरको आफ्नै रगत होइन भन्ने थाहा पाउँदाको दृश्य बडो गज्जबको छ ।

आफैंले लेखन, निर्देशन र अभिनय गरेको चलचित्र औसत मात्रै हुनु, अघिल्ला गीतले जसरी नयाँ गीतले दर्शक/स्रोताको मन नछुनुले सपूतलाई पक्कै तनाव दिएकै थियो । कतिपयले त सपूतले अभिनय छाडेर गीतमा मात्रै केन्द्रित हुँदा राम्रो हुने सुझाव समेत दिएका थिए । तर, अभिनयमा पनि सपूतले यसपटक आफ्नो तागत देखाएका छन् ।

एकै दिन प्रदर्शन भएका उनका दुई चलचित्र हेरेपछि यत्ति चाहिँ भन्न सकिन्छ, उनी फेरि उकालो उक्लिन सुरु गरेका छन् । पछारिएको ठाउँबाट धुलो टक्टकाउँदै उठेर उकालो उक्लिन सुरु गरेका सपूत कहाँ पुगेपछि फेरि ओह्रालो झर्छन्, यकिनका साथ भन्न सकिन्न । तर, उनलाई ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले यसपटक ठूलो राहत दिएको छ ।
अब उनी मुख्य भूमिकामा भएको चलचित्र ‘सोल्टिनी’ प्रदर्शनमा आउने तयारीमा छ । यो चलचित्रले सपूतलाई थप राहत र ढाडस दिन्छ कि पुनः समीक्षा गर्नुपर्ने ठाउँमा पुर्याउँछ, चलचित्र प्रदर्शन भएपछि नै थाहा हुनेछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *