
काठमाडौं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरियन लेखक लाज्लो क्राज्नाहोकाईंलाई प्रदान गरिने भएको छ ।
स्वीडिस एकेडेमीले एक विज्ञाप्ति जारी गर्दै भनेको छ, ‘गाम्भीर्यपूर्ण र गहन लेखनशैलीले मानवीय अस्तित्वको एब्सर्डनेस र सौन्दर्यलाई सुक्ष्म रुपमा चित्रण गर्दछ ।’
क्राज्नाहोर्काई युरोपेली साहित्य परम्पराका एक विशिष्ट गाथाकार मानिन्छन् । उनलाई स्वीडिस एकेडेमीले काफ्का र थोमस बर्नहार्डजस्ता महान् लेखको पंक्तिमा उभिन सक्षम लेखक रहेको बताएको छ । उनको लेखनमा पाइने एब्सर्डनेस, विकृत अतिवाद र गहिरो दार्शनिक चिन्तनले उनलाई समकालीन साहित्यमा एक अद्धीतीय स्थान दिलाएको बताइएको छ ।
एकेडेमीले भनेको छ, ‘उनको साहित्यिक यात्रामा पूर्वीय दर्शकको प्रभाव पनि स्पष्ट देख्न सकिन्छ । चीन र जापानको यात्राबाट गहिरो रुपमा प्रभावित क्राज्नाहोर्काईले आफ्ना कृतिहरुमा पूर्वीय शान्ति र सुक्ष्मतालाई कुशलतापूर्वक समेटेका छन् ।’
क्राज्नाहोर्काईको दुई उपन्यास ‘सातानटांगो’ र ‘द मेलानकोली अफ रेसिस्टेन्स’माथि चर्चित फिल्ममेकर बेला टारले फिल्म नै बनाएका छन् । हंगेरियन र जर्मन भाषामा कलम चलाउने क्राज्नाहोर्काईले म्यान बुकर इन्टरनेशनल प्राइज जितिसकेका छन् ।

Leave a Reply