इलामको पहिरोग्रस्त क्षेत्रमा सुहाङ- खाद्यान्न र सडक खुलाउन मन्त्री र सचिवलाई फोनबाट ताकेता

विराटनगर । इलामको पहिरो प्रभावित क्षेत्र पुगेका एमाले नेता सुहाङ नेम्वाङले सडक खुलाउन र प्रभावितहरूलाई दैनिक उपभोग्य सामग्रीको व्यवस्थाको लागि मन्त्री र सचिवको ध्यानाकर्षण गराएका छन् । स्थानीयसँग त्यहाँको अवस्था बुझेर तत्काल गर्नुपर्ने कामको बारे उनले सिंहदरबारमा ताकेता गरेका हुन् ।

फिल्डबाटै टेलिफोन गरेर उनले खाद्यान्न तथा सडकको लेदो पन्छाउन डिजेल आपूर्तिको माग राखे ।

गृहसचिव रामेश्वर दंगालबाट खाद्यान्न आपूर्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तत्कालै पहल गर्ने आश्वासन पाएको नेम्वाङले बताए । त्यस्तै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर एकीकृत राहत प्याकेजको लागि पनि ताकेता गरेका छन् ।

सम्भवत: आजैको क्याविनेटबाट संकटग्रस्त क्षेत्र घोषणा हुने जानकारी आफूले पाएको उनले सुनाए । कोशी सरकारले पनि इलामको पहिरो प्रभावित ठाउँलाई संकटग्रस्त क्षेत्र घोषणाका लागि संघीय सरकारसमक्ष सिफारिस गरेको छ ।

इलाम २ का निवर्तमान सांसदसमेत रहेका नेम्वाङले मन्त्री कुलमान घिसिङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक दिनेश भट्ट, सम्बन्धित मन्त्रीको सचिवालय र स्वकीय सचिवालय, दिनेभ भट्टलगायतसँग राहत, पुन:स्थापना र पुन:निर्माणका लागि ध्यानाकर्षण गराएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *