एमाले चितवनको क्षति विवरणसहित बालेन र सुधनविरुद्ध चितवनमा पनि जाहेरी, दर्ता भएन

चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले जिल्लामा नेकपा एमालेका पार्टी कार्यालय र एमालेका नेताहरुको व्यक्तिगत सम्पत्तिमाथि जेन—जी आन्दोलनमा भएको क्षतिको विवरणसहित जिल्ला प्रहरी कार्यालय चितवनमा लिएर गएको जाहेरी प्रहरीले दर्ता नगरी फर्काएको छ ।

मुलुकी अपराध संहिता २०७४ को अपराधिक उपद्रव कसुरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपाली संस्थाका सञ्चालक सुधन गुरुङको नाम किटान गरेर लगिएको जाहेरी दर्ता नभएको हो । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जाहेरीको ढाँचा नै नमिलेको कारण दर्ता गर्न नसकिएको बताए ।

अनेरास्ववियु चितवनले कम्प्युटर पेपपरमा विवरण उल्लेख गरेर लगेको जाहेरीको ढाँचा प्रहरीकहाँ दिने ढाँचासँग नमिलेको कारण मिलाएर ल्याउनु भनिएको एसपी पुरीले नेपाल प्रेसलाई जानकारी दिए ।

जाहेरीमा बालेन र सुदनले उक्साएका कारण जिल्लामा दर्जनौँ मानिसहरुले सार्वजनिक सम्पत्तिसहित करिब ५ करोड ४६ लाखको नेकपा एमालेका नेताका व्यक्तिगत र पार्टीको सम्पत्ति क्षति गरेर अपराधिक उपद्रवमा संलग्न भएको विवरण सहित अनेरास्ववियु चितवनको टोली जिल्ला प्रहरी कार्यालय चितवन पुगेको थियो ।

चितवन प्रहरीका अनुसार चितवनको कुनै पनि अपराधिक क्रियाकलापमा बालेन साह र सुधन गुरुङको भौतिक उपस्थिती नदेखिने भएपछि जाहेरी दर्ता गर्न एक त क्षेत्राधिकार पर्दैन । अर्कोतर्फ उक्साएको आरोपमा पनि जाहेरी दर्ता गर्न उस्तै कसुरमा एक ठाउँमा मात्रै मिल्ने भएकोले अन्य जिल्लामा दर्ता भइसकेको भए चितवनमा दर्ता गर्न नमिल्ने प्रहरीले जनाएको छ ।

देशैभरी एकै ढाँचामा नेकपा एमालेको विद्यार्थी संगठनले बालेन र सुधन गुरुङ विरुद्ध जाहेरी दिन लागेपनि प्रहरीले जाहेरी दर्ता नगरी भौतिक क्षतिको विवरण र प्रमाणलाई ज्ञापन पत्रको ढाँचामा लिने तयारी गरेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन स्रोतका अनुसार अहिले जाहेरी दर्ता गरेर मुद्दा प्रकृयामा जानेभन्दा पनि क्षतिको विवरण मागेर प्रमाण र विवरणसहितको अभिलेख लिएर विश्लेषण गर्ने तयारी गरिएको छ ।

तर, नेकपा एमाले निकट विद्यार्थी संगठनले भने भौतिक सम्पत्तिमा क्षति पुर्याउनेलाई कारबाहीको माग गरेको छ । आज लिएर गएको क्षति विवरण सहितको जाहेरीमा नेकपा एमालेका जिल्ला नेताहरुका व्यक्तिगत सम्पत्ति क्षति विवरणमा राप्ती नगरपालिकामा मात्रै ३ करोड २५ लाख बराबरको क्षति भएको उल्लेख गरिएको छ । त्यसैगरि खैरहनीमा ५० लाख, कालिका नगरपालिकामा ११ लाख, भरतपुर महानगरपालिकामा २० लाख ५२ हजार बराबरको नेकपा एमालेका नेताहरुको व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याइएको उल्लेख गरिएको अनेरास्ववियु चितवनका संयोजक अमित आचार्यले जानकारी दिए ।

त्यसैगरी जेन—जी आन्दोलनका क्रममा २४ गते जिल्ला पार्टी कार्यालय र दुई पालिकाको नेकपा एमालेको नगरपार्टी कार्यालय पनि क्षति भएको विवरणमा उल्लेख छ । जसमा जिल्ला पार्टी कार्यालय जलेर ५२ लाख, नगर पार्टी कार्यालय राप्तीमा ६ लाख र नगर पार्टी कार्यालय खैरहनी ३ लाख ८५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको विवरण जाहेरीमा खुलाइएको छ ।

त्यसैगरि भरतपुर महानगर २२ मा रहेको पार्टी कार्यालय तोडफोड र आगजनीमा ४६ लाख २५ हजार, भरतपुर १८ को पार्टी कार्यालय र मनमोहन स्मृती भवन तोडफोड र आगजनीमा २० लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।

प्रहरीले फिर्ता पठाएको जाहेरीमा कसुरसँग सम्बन्धित फोटो, भिडियोसहितको प्रमाणसहित प्रहरीलाई बुझाउन लगिएको थियो । अपराधिक कार्यमा संलग्न र उक्साउने काठमाडौं महानगरपालिकाका मेयर बालेन र सुधनलाई पनि प्रहरीले कानून अनुसार कारबाही गर्ने आशा आफ्नो संगठनले लिएको आनेरास्ववियु जिल्ला संयोजक आचार्यले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *