
रुपन्देही। बर्दियाको गेरूवा गाउँपालिका–५ झबहीकी १० बर्सिया भारती (एन्जल) देउवाको कान र घाँटीमा रहेको गहनाको कारण हत्या भएको खुलेको छ ।
प्रहरीले उनको हत्या स्वीकार गरेका युवकलाई बुधवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरीले सोही वडाका २१ वर्षीय समीर सुनारलाई देउवाको हत्या स्वीकार गरेको भन्दै सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार सुनको लोभमा समीरले निर्दोष बालिकाको हत्या गरेको स्वीकार गरेका छन्। आफन्तको बिहे घरबाट एक्लै साइकलमा मामा घर जाँदै गरेकी एन्जलले दुई कानमा एकरएक आनाको सुनको मुन्द्री र घाँटीमा दुई तोलाको चाँदीको सिक्री लगाएकी थिइन्।
यही गहना देखेर समीरले उनलाई लुटपाट गर्न खोज्दा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। हत्या आरोपी समीर देउवा हिँडेको बाटो नजिकै रहेको खोलामा ‘माछा मार्न बसेको र साइकलमा एक्लै आइरहेको देखेपछि गहना लुट्ने प्रयासले रोकेपछि चिच्याएपछि मुख थुनेर घाँटी अँठ्याई हत्या गरेको बयान दिएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
हत्या गरेपछि समीरले एन्जलको साइकल खोलामा फालेका थिए भने चप्पल झाडीमा फ्याँकेका थिए। त्यसपछि शवलाई गेरूवा–५ मूलपानीस्थित गुडिखोला किनारमा बालुवामा गाडी दिएका थिए।
एन्जलबाट लुटिएका दुई आनाको सुनका मुन्द्री र दुई तोलाको चाँदीको सिक्री समीरले बर्दियाकै विभिन्न सुन पसलमा बिक्री गर्ने प्रयास गरेका थिए। तर, पसल सञ्चालकहरूले बिल मागेपछि र बिलबिनाका गहना नकिन्ने भन्दै फर्काइदिएको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीले भेरी अस्पतालमा शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाएको छ । गेरुवा गाउँपालिका वडा नं ५ का अध्यक्ष धर्मप्रकाश थारुले आफ्नो गाउँमा अबोध बालिकाको हत्याले थप त्रसित बनाएको जनाए ।

Leave a Reply