विपिनकाे भिडिओबारे के भन्छन् बुवा महानन्द ?

कञ्चनपुर भीमदत्त नगरपालिका -३ भाँसीस्थित मालिकार्जुन टोलमा खुशी नफर्किएको पनि दुई वर्ष भइसक्यो ।

२०८० भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका जोशी अहिले सम्म सम्पर्कविहीन छन् ।

इजरायल गएको एक महिनामै असोज २० मा प्यालेस्टाइनी विद्रोही हमास समूहको आक्रमणमा जोशीसँगै रहेका १० नेपालीको मृत्यु भयो । त्यही दिन बेपत्ता भएका जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् ।

छोरा बेपत्ता भएको खबर पाएकी आमा पद्मा जोशी विक्षिप्त छिन् । दाइको सम्झनाले पुष्पा बेला बेला भक्कानी रहन्छिन् । बुवा महानन्द जोशी पनि छोराको अवस्था बारे बुझिदिन हारगुहार गरिरहेका छन् ।

इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक भएपछि अहिले यो परिवारमा केही खुशी पलाएको छ तर, अहिलेसम्म पनि सरकारले विपिनको अवस्थाबारे कुनै जानकारी दिन सकेको छैन ।

यसैबिच गाजामा बन्धक बनाइएका जोशीको एउटा भिडिओ क्लीप आज सार्वजनिक हुँदै छ, त्यो भिडिओले पनि परिवारलाई पूर्व सन्तुष्टि दिन सकेको छै ।
विपिनका बुवा महानन्दका अनुसार आज सार्वजनिक गर्ने भनिएको भिडिओ करिब २३ महिना पहिलेको हो ।
‘इजरायलबाट दिदीले भिडिओबारे बताउनु भएको थियो । तर, त्यो २३ महिना पहिलेको भिडिओ हो ।त्यसपछि अहिलेसम्म कुनै अत्तोपत्तो छैन’ उनले नेपाल प्रेसलाई भने ।

महानन्द अहिले घरमा छोराको अवस्थाबारे चिन्तित छन् भने छोरी र श्रीमती अहिले विपिनको रिहाइको लागि अमेरिकामा पहल गरिरहेका छन् । इजरायलमा गएर अन्तर्राष्ट्रिय मञ्चमा विपिनको सकुशल रिहाइका लागि आह्वान गरेकी पुष्पाले अमेरिकामा पनि राजदूत लगायतलाई भेटेर रिहाइको लागि अहिले गरिरहेकी छन् ।

पछिल्लो पटक राष्ट्रपति रामचन्द्र पौडेलले विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई समेत आग्रह गरेका थिए । त्यसबाट पनि कुनै प्रगति हुन सकेको छैन ।

इजरायलबाट फर्किएका कैलाली भजनी-४ का वीरेन्द्र चौधरीले विपिनलाई हमास समूहले अपहरण गरेर लगेको बताएका थिए । सिसी क्यामेराको भिडिओमा पनि त्यही देखिएको छ । तर, अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको छ ।

घरका एक्ला छोरा हुन् विपिन । उनको एक बहिनी छिन् । केही वर्षदेखि विपिनको घर मात्रै नभएर छरछिमेकमै चाडबाडको त्यति रौनक छैन । उनीहरू पनि विपिन कुरिरहेका छन् । विपिनको खोजीमा सरकार गम्भीर बन्नुपर्ने बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *