
काठमाडौं । अनेरास्ववियुले हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध दिएको जाहेरीलाई प्रहरीले थाती राखेको छ । २४ घन्टाभित्र निर्णय लिने भनिएकोमा जाहेरी अस्पष्ट भएकाले अघि नबढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।
अखिलको टोलीले हिजो सिंहदरबार लगायत राष्ट्रका सम्पदाहरु ध्वस्त पारेको, निजी सम्पत्तिहरूमा आगजनी गरेको र प्रहरी हत्या गरेकोमा मेयर बालेन र सुधनविरुद्ध जाहेरी दिने प्रयास गरेको थियो । प्रहरीले जाहेरी बुझे पनि दर्ता गर्न मानेन । २४ घन्टाभित्र निर्णय लिइने बताएर अखिलको टोलीलाई फर्काइएको थियो ।
यस विषयमा प्रवक्ता भट्टराईसँग आज जिज्ञासा राख्दा उनले अखिलको जाहेरी अस्पष्ट र केरमेट भएकाले नबुझिएको बताए ।
भट्टराईका अनुसार बालेन र सुधनविरुद्ध अर्को जाहेरी पनि आएको छ, जुन चर्चित अभियन्ता युवराज सफलले दिएका हुन् । उक्त जाहेरी पनि दर्ता भएको छैन । जेठ २३ र २४ को घटनासँग सम्वन्धित सबै जाहेरीहरु जाँचबुझ आयोगलाई पठाइने प्रहरीले बताएको छ ।
‘अखिलको जाहेरी स्पष्ट नभएकाले हामीले त्यसमा केही गरेका छैनौं । अर्को सच्याएर ल्याउनुभयो भने आयोगमा पठाइदिन्छौं । युवराज सफलको अर्को जाहेरी आएको छ । त्यो लिएर हामी हेर्दैछौं,’ उनले भने ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध पनि हिजो जाहेरी परेको थियो । उक्त जाहेरी पनि प्रहरीले आयोगमा पठाएको छ ।

Leave a Reply