
काठमाडौं । फूलपातीको अवसर पारेर असोज १३ गतेबाट प्रदर्शनमा आएका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को पछिल्लो बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले तीनवटै चलचित्रको आठ दिनको राती ११ बजेर ५५ मिनेटसम्मको ग्रस कलेक्सन आज सार्वजनिक गरेको हो ।
प्रदर्शन भएदेखि आठौँ दिनसम्म आइपुग्दा अभिनेता समिर भट्ट अभिनित ‘बलिदान’ को कमाइ सबैभन्दा बढी छ । ‘बलिदान’ ले देशव्यापी ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैँयाको ग्रस कलेक्सन गर्दै अग्रस्थानमा रहेको हो ।
बलिदानलाई नजिकबाट पछ्याइरहेको छ– ‘हरिबहादुरको जुत्ता’ ले । अभिनेता हरिवंश आचार्य मुख्य भुमिकामा रहेको यो चलचित्रले आठौं दिनसम्ममा ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाको ग्रस कलेक्सन गरेको छ । यी दुई चलचित्रको ग्रस कलेक्सनमा करिब ५० लाखको अन्तर देखिन्छ ।
त्यस्तै, केदार प्रसाद घिमिरे (माग्ने बुढा) अभिनित चलचित्र ‘माइतीघर’ भने कमाइको हिसाबमा दुई चलचित्रभन्दा केही पछि परेको छ । चलचित्रले आठौ दिनसम्म आइपुग्दा २ करोड १३ लाख ६४ हजार ६ सय ९२ रुपैँया ग्रस कलेक्सन गरेको छ ।
कमाइको हिसावले ‘बलिदान’ अगाडि भए पनि ठूलो बजेटमा बनेको चलचित्र भएकाले हलहरुबाट लगानी उठाउन सहज छैन । ग्रस कलेक्सनको आधा हिस्सा मात्रै निर्माताको भागमा पर्छ र त्यसबाट पनि सरकारलाई कर तिर्नुपर्ने हुन्छ ।
६ करोडमा बनेको भनिएको बलिदानले हलहरुबाट लगानी उठाउन १४ करोड ग्रस कलेक्सन गर्नुपर्छ । यो चलचित्रलाई अझै चार गुणाभन्दा बढी कमाउनु पर्ने दबाब छ । ओभरसिज र डिजिटल राइट्स महंगोमा विक्री भएको भए मात्रै निर्माताले लगानी सुरक्षित गर्न सक्ने देखिएको छ । अन्यता ठूलो हाइप्स भएपनि भए पनि बलिदान फ्लपमा गनिने निश्चित छ ।
अरु दुई चलचित्रले पनि अहिलेसम्म बक्स अफिस कलेक्सनबाट लगानी सुरक्षित गर्न सकेका छैनन । अबको केही समय यहीँ रफ्तारले व्यापार गरे यी दुई चलचित्रले लगानी उठाउन सक्छन् । ‘हरिबहादुरको जुत्ता’ तुलनात्मकरुपमा कम बजेटमा बनेको चलचित्र हो ।

Leave a Reply