बौद्ध भिक्षुहरूको तीन महिने वर्षावास सकियो, लगत्तै एक महिने ‘कठिनउत्सव’ सुरु हुने

रुपन्देही । बौद्ध भिक्षुहरूको तीन महिने वर्षावास सम्पन्न भएको छ । बुद्धकालदेखि चलिआएको यो परम्परा अनुसार भिक्षुहरूले वर्षाको समयमा कहीँकतै नगई एकै स्थानमा रहेर ध्यान, साधना र धर्मदेशना गर्दै वर्षावास बस्ने गर्छन् ।

यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनी, प्राचीन कपिलवस्तु ९तिलौराकोट०, निग्रोधाराम, महावन र पश्चिम नवलपरासीको रामग्रामका विभिन्न विहारमा भिक्षुहरूले वर्षावास बसेका थिए । असारदेखि असोज पूर्णिमासम्म चल्ने वर्षावास सकिएपछि आज औपचारिक रूपमा सम्पन्न भएको हो ।

बौद्ध धर्ममा विनय कर्म पालनका क्रममा अनजानमा भएका त्रुटिबाट पाप नलागोस् भन्ने उद्देश्यले वर्षावास बस्ने गरिन्छ । यस अवधिमा भिक्षु–भिक्षुणीहरूले बिहान–साँझ ध्यान बस्ने, परित्राण पाठ गर्ने, र बुद्ध, धर्म, संघको गुणगानसहित धर्मदेशना गर्ने परम्परा रहिआएको छ ।

यस वर्ष थाइल्यान्डबाट २२ जना भिक्षु वर्षावासका लागि लुम्बिनी आएका थिए । उनीहरू रोयल थाई विहार र शाक्यमुनि विहारमा बसेका थिए । त्यस्तै म्यान्मार गोल्डेन टेम्पल, श्रीलंका महाविहार र महाबोधी सोसाइटीमा समेत भिक्षुहरूले वर्षावास सम्पन्न गरे ।

कपिलवस्तुको तिलौराकोट, निग्रोधाराम, महावन र रामग्राममा पनि नेपाली, थाई, म्यान्मार र श्रीलंकाली गरी ४० जना भिक्षु विभिन्न विहारमा वर्षावास बसेका थिए । वर्षावास सकिएपछि एक महिनाभित्र कार्तिक पूर्णिमासम्म कठिन चिवर दान गर्ने प्रचलन छ, जसलाई ‘कठिन उत्सव’ भनिन्छ । अनुशासन र नियममा रहेर वर्षावास पूरा गरेका भिक्षुलाई पहेँलो वस्त्र (चिवर) अर्पण गरी उत्सव मनाइन्छ । यो परम्परा थेरवादी सम्प्रदायका भिक्षुहरूले मात्र पालना गर्ने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *