
काठमाडौं । बाढी पहिरोबाट क्षति भएका व्यक्तिगत घरहरूको पुनर्निर्माण प्रदेश सरकार मातहत गरिने भएको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् ।
पत्रकारसँग कुराकानी गर्दै मन्त्री खरेलले भने, ‘व्यक्तिगत आवासहरूको पुनर्निर्माण प्रदेश मार्फत गरिने भएको छ । प्रदेश सरकार मातहत व्यक्तिगत आवासको पुनर्निर्माण गर्ने काम अगाडी बढाउने सरकारको निर्णय छ । यसमा आवश्यक सहयोग संघीय सरकार र स्थानीय सरकारले गर्नेछ ।’
पहिलो चरणको राहत स्थानीय तहमार्फत राहत बाँड्ने सरकारको तयारी रहेको समेत मन्त्री खरेलले जानकारी दिए ।
त्यस्तै, मेची राजमार्ग तत्काल सञ्चालन गरिने सरकारको तयारी रहेको छ । एक हप्ताभित्रमा अस्थायी भए पनि सञ्चालनमा ल्याउने मन्त्री खरेलले जानकारी दिए । यसका साथै बीपी राजमार्ग पनि दुई/तीन दिन भित्रमै सञ्चालन गर्नेगरी काम भइरहेको उनले सुनाए ।
मन्त्री खरेलका अनुसार बाढी पहिरोबाट हालसम्म ५२ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन् । ४८ जना घाइते अवस्थामा रहेका छन् भने चार हजारभन्दा बढीको सुरक्षाकर्मीबाट उद्धार गरिएको छ ।

Leave a Reply