नेपालमा उत्पादन नै छैन तर भारतमा नेपालबाट तस्करी भएर कसरी जान्छ खरबुजाको बिया ?

रुपन्देही । नेपालमा भन्दा भारतमै ठूलो परिणाममा खरबुजा उत्पादन हुन्छ । तर नेपालबाटै ठूलो परिणाममा खरबुजाको बिया तस्करी भएको विषय बाहिर आएको छ ।

रुपन्देहीबाट मकै, ओखर, मटर मात्रै हैन खरबुजाको बिया पनि तस्करी हुन थालेपछि यसले थप आशंका बढाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार ठूलो परिमाणको शङ्कास्पद खरबुजाको बिया बरामद गरेको जनाएको छ ।

नेपालमा निर्यातका लागि उत्पादन नहुने मकै, मटर, ओखर, खरबुजाको बिया लगायतका बस्तुहरू तस्करहरूले तेस्रो मुलुकबाट आयात गरी अवैध बाटो हुँदै भारत पठाउने गरेको यसले देखाउँछ । यसका लागि नेपाल भारतको सीमा नजिकैको ठेगाना राखी त्यहाँसम्म निर्बाध रूपमा ढुवानी गर्ने रणनीति बनाएर काम गरेको देखिन्छ । सीमामा पुगेका यस्ता बस्तुहरू रातीको समयमा भरियाहरूको प्रयोग गरी सीमा कटाउने गरिएको छ ।

सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४, डन्डाबाट बा प्र ०३–००१ ख १६८४ नम्बरको मिनी ट्रकलाई शङ्का लागेर जाँच गरेको थियो । जाँचका क्रममा मिनी ट्रकमा १२५ बोरा (५० क्वीन्टल) खरबुजाको बीउ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश कार्कीले जानकारी दिए ।

बरामद सामानको अनुमानित १० लाख रुपैयाँ र मिनी ट्रकको अनुमानित मूल्य १० लाख रुपैयाँ रहेको उनले बताए । प्रहरीले नियन्त्रणमा लिएको मिनी ट्रक, खरबुजाको बीउ र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको सापकोटाले जनाए ।

नियन्त्रणमा लिइएको खरबुजाको बीउ राजस्व छली वा अन्य कुनै शङ्कास्पद गतिविधिमा संलग्नता भए/नभएको विषयमा राजस्व कार्यालयले थप छानबिन गर्ने उनले बताए । प्रहरीले सोमबार नै मिनी ट्रकका चालक रुपन्देही, मायादेवी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २२ का राजकुमार मल्लाहलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

प्रहरीले सीमा नाकाबाट प्रायः अवैध कारोबार हुने लत्ताकपडा, खाद्यान्न, हार्डवेयर लगायत दैनिक उपभोग्य सामग्रीमा ध्यान दिइरहेको अवस्थामा तस्करहरूले अहिले तस्करीको ट्याक परिवर्तन गरेर नयाँ वस्तुमा ध्यान दिएको आशंका गरिएको छ ।

कृषि क्षेत्रका जानकारहरूका अनुसार नेपालमा यसको बीउ उत्पादन यति धेरै परिणाममा सम्भव छैन र यो चीनबाटै आयातित भएको हुनसक्छ । ‘भारतमै यसको बीउ उत्पादन हुन्छ, सस्तो भएर नै चीनबाट ल्याइएको हुनसक्छ, नेपालमा त यसको बीउ यति धेरै उत्पादन भएकै छैन’ कृषि पत्रकार समाज लुम्बिनीका अध्यक्ष कृष्ण खनाल बताउँछन् । पर्यटन व्यवसायीहरूका अनुसार भारतमा खरबुजाको बिया मासुको तरकारीमा राख्न प्रयोग गरिन्छ । रुपन्देही ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलका अनुसार नेपालमा ठूलो परिणाममा खरबुजाको बीउ उत्पादन नभएकाले यो व्यापारिक प्रयोजनकै लागि ल्याइएको हुनसक्ने जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *