
काठमाडौँ । ओमनविरुद्धको त्यो बलिङ, कतारविरुद्धको त्यो ब्याटिङ र युएईमा वेस्ट इन्डिजविरुद्धको ताजा प्रदर्शन ।
टी–२० विश्वकप छनोटअघि नेपाल पूर्ण आत्मविश्वासी देखिन्छ । खासगरि बलियो टेस्ट राष्ट्रविरुद्ध गरेको प्रदर्शनले नेपालको मनोबल उच्च बनेको छ । यो प्रतियोगितामा सहभागी टिमहरुमध्ये कागजी रुपमा नेपाललाई नै सबैभन्दा बलियो मान्न सकिन्छ ।वेस्ट इन्डिजले नेपाललाई कमजोर आँक्दा सिरिजमा १–२ को नमिठो हार चाख्नुप¥यो ।
विश्वकप छनोटअघि भएका वार्मअप खेलमा पनि ओमान र कतारका खेलाडीलाई नेपाली खेलाडीले खुलेर खेल्न दिएनन् । नेपालले टी–२० विश्वकप छनोटअघि देखाएको आत्मविश्वास आगामीको खेलको प्लस पोइन्ट हो ।
ओमनमा बुधवारदेखि आइसिसी टी–२० विश्वकप एसिया तथा इएपी छनोट सुरु हुँदै छ । यो छनोट नेपालका लागि तेस्रो पटक विश्वकपमा स्थान बनाउने मात्र होइन, आफ्नो स्तरोन्नीको आभास गराउने मौका पनि हो ।
९ देश सहभागी छनोटमा शीर्ष ३ टोलीले अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
नेपाल त्यही देश हो, जुन २०२४ मा भएको विश्वकपमा उपविजेता बनेको दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित निकाल्नबाट एक रनले चुकेको थियो । नेपाल त्यही टिम हो, जोविरुद्ध बङ्गलादेश तथा श्रीलङ्काजस्ता देशले जित निकाल्न निकै मिहेनत गर्नुप¥यो ।
छनोटमा ९ टोलीलाई ३ समूहमा बाँडिएको छ । नेपाल रहेको समूहमा कुवेत र जापान छन् । यी मध्ये दुई टोली अर्को चरणमा प्रवेश गर्नेछन् । तुलनात्मक रूपमा नेपालभन्दा कमजोर टोली हुन्, कुवेत र जापान ।
आइसिसीको टी–२० वरियतामा नेपाल १८औँ स्थानमा रहँदा कुवेत २३औँ र जापान ४४औँ स्थानमा छन् । तर, तल्लो वरियतामा रहेका धेरै देशले माथिल्ला वरियताका राष्ट्रलाई हराएको रेकर्ड क्रिकेटमा धेरै छन् ।
नेपालसँगको पछिल्लो भेटमा कुवेतले ३ रनको अप्रत्याशित जित निकाल्दै त्रिदेशीय सिरिजको उपाधि जितेको थियो । जापानसँग भने नेपालले पहिलो पटक खेल्न लागेको हो । जापानले पहिलो पटक क्षेत्रीय छनोट खेल्दैछ ।
समूह चरणमा एक मात्र जित निकाले पनि नेपाललाई अर्को चरणमा पुग्न सहज हुनेछ ।दोस्रो चरणमा प्रवेश गरेमा नेपालले युएई, पपुवा न्यूगिनी, ओमन जस्ता चिरप्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो चरणमा हरेक टोलीले ४ खेल खेल्नेछन् । समूह ‘बि’ मा रहेको नेपालले समूह ‘ए’ र ‘सी’का विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी राष्ट्रहरूसँग नेपालले कहिले जित निकालेको छ त कहिले हार बेहोरेको छ ।
ओमनमै भएको एसीसी प्रिमियर कप २०२४ मा सेमिफाइनलमा युएईसँग पराजित हुन पुग्यो । नेपालले युएईलाई हराउँदै २०२४ को टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो ।
पपुवा न्यूगिनी तथा ओमन जस्ता देशहरूसँग पनि नेपालको हारजितको श्रृङ्खला चलिरहेको हुन्छ । यी देशलाई पन्छाएर शीर्ष ३ मा पर्ने सकेमा नेपालले तेस्रो पटक विश्वकपको ढोका खोल्नेछ ।
भर्खरै भएको एसिया कपमा अनुभव बटुलेका युएई, ओमन तथा बेलाबेला नेपालमाथि जित निकालेका पपुवा न्यूगिनी तथा कुवेतविरुद्ध नेपाली टोली सम्हालेर खेल्नुपर्ने देखिन्छ ।
महत्त्वपूर्ण खेलमा सम्हालिन नसक्दा थुप्रै हार चाखेको नेपालले जेन–जी आन्दोलनका कारण ध्वस्त भएर मलिन भएको नेपालीको मुहारमा विश्वकपको स्वाद चखाउने अपेक्षा धेरैको छ ।
टोलीका अधिकांश खेलाडी लयमा देखिन्छन् । कुनै न कुनै खेलाडी क्रिजमा जम्दै नेपालको स्कोरलाई माथि पु¥याउने क्षमता राख्छन् । ब्याटिङ कमजोर हुँदा बलिङबाट समेत नेपालले जित निकालेका उदाहरण धेरै छन् ।
त्यस कारण पनि नेपालको ब्याटिङ र बलिङलाई थप मजबुत मान्न सकिन्छ ।पछिल्लो समय नेपालको ओपनिङ जोडीले भने अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन ।
नियमित ओपनिङ गर्दै आएको कुशल भुर्तेल र आसिफ शेखको जोडी पछिल्ला धेरै खेलमा नेपाललाई राम्रो सुरुवात दिलाउन चुके । तर पनि प्रशिक्षक स्टुअर्ल लले भुर्तेल र आसिफको विकल्प पक्कै खोज्ने छैनन् । भुर्तेलले आक्रामक र आसिफले रक्षात्मक रूपमा नेपालको ओपनिङ गर्नेछन् ।
तेस्रो नम्बर कप्तान रोहित पौडेल, चौथो नम्बरमा कुशल मल्ल रहनेछन् । त्यसपछि दीपेन्द्रसिंह ऐरी र गुल्सन झा जस्ता खेलाडी छन् । प्रशिक्षक लले आवश्यकताअनुसार सन्दीप जोरा, मोहम्मद आदिल आलमलाई पनि ब्याटिङमा प्रयोग गर्न सक्नेछन् ।
विशेषज्ञ स्पिनरका रूपमा सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । पार्ट टाइम स्पिनको विकल्प धेरै हुँदा प्रशिक्षकले आवश्यकताअनुसार सन्दीप र ललितमध्ये एक जनालाई मात्र पनि खेलाउन सक्नेछन् ।
पेस बलिङको डिपार्ट सोमपाल कामी, करण केसी र नन्दन यादवले सम्हाल्नेछन् । सोमपाल र करणको अनुभव र नन्दनको ‘बाउन्सर’ बलले विपक्षी ब्याटरलाई रोक्न मद्दत गर्नेछ ।

Leave a Reply