
काठमाडौं । भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा जग्गाको जग्गाको श्रेस्ता र जग्गा सम्बन्धी प्रमाणहरु जलेपछि आफ्नो जग्गा दाबी गर्न प्रमाणहरु माग गरेको छ ।
मालपोत कार्यालय कलङ्कीले जग्गाको प्रमाण आन्दोलनको क्रममा जलेर नष्ट भएपछि विभिन्न १० प्रकारको प्रमाण पेस गर्न सूचना निकालेको छ । मालपोत कार्यालय कलङ्कीका प्रमुख मालपोत अधिकृत रविन ढकालले २ लाख कित्ताभन्दा धेरै जग्गाको प्रमाण जलेर नष्ट भए पनि सूचना निकालेको बताए । भूमि प्रशासन निर्देशिका अनुसार सूचना निकालेको ढकालले बताए ।
उनले भने, ‘जग्गाको श्रेस्ता अर्थात जग्गा धनीको प्रमाण मालपोतमा जलेर नष्ट भएको छ । अब पुनः जग्गाको श्रेस्ता कायम गर्न हामीले विभिन्न कागजपत्रहरु प्रमाणको रुपमा माग गरेका छौँ । जग्गा धनीले पनि आफ्नो जग्गाको श्रेस्ता कायम गर्न सहयोग गर्नु पर्ने अवस्था आयो । २०७७ साल भन्दापछिको जग्गाको श्रेस्ता अनलाइनमा हुने भएमा हुन्छ । तर, २०७७ भन्दा पहिलेको सबै श्रेस्ता अनलाइनमा नभएको कारणले पनि विभिन्न प्रमाणहरु ल्याउन सूचना निकालेको हो । घर नै जलेर नष्ट भएका जग्गा धनीहरुको भने नापीको टोली गएर सर्जिमिन गरेर मात्रै जग्गाको श्रेस्ता दिने प्रक्रिया सुरु हुने छ । जग्गा धनीले ल्याएको प्रमाणलाई मालपोतको अनलाइनमा भएको प्रमाणसँग तुलना गरिने छ ।’
५ दिनपछि कार्यालय सञ्चालनमा आउने भएकाले अहिले नै आफ्नो जग्गा भएको विभिन्न प्रमाण माग गरेको ढकालले नेपाल प्रेससँग बताए । कलंकी मालपोतमा करिब २ लाख जनाको जग्गा रहेको छ ।
‘आन्दोलनको क्रममा यस कार्यालयमा तोडफोड तथा आगजनी भई भौतिक संरचना लगाएत कार्यालयमा रहेको अभिलेखहरु जलेर नष्ट भएको छ । दैनिक सेवा प्रवाह बन्द रहेकोले सेवा प्रवाह पुनः सूचारु गर्न नष्ट भएका जग्गा धनी दर्ता श्रेस्ता तयार गर्न जग्गा धनी स्वयम् उपस्थित भई भूमि प्रशासन निर्देशिका २०६१ को दफा २१ अनुसार कागज प्रमाण सहित निवेदन पेश गर्नु पर्नेछ,’ मालपोत कार्यालय कलङ्कीले निकालेको सूचनामा उल्लेख छ ।
यी हुने आफ्नो जग्गा दाबी गर्न आवश्यक पर्ने काजगात
(क) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
(ख) जग्गा रहेको स्थानीय तहबाट भएको भोग सम्बन्धी र सम्बन्धित जग्गाधनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँस सहितको सिफारिस ।
(ग) जग्गाधनीसंग भएको सक्कल पुर्जा ।
घ) जग्गा प्राप्तिको श्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति ।
ङ) प्लट रजिष्ट्रर, फिल्ड बुक, नक्सा ।
च) चालु आ।व। को मालपोत बुझाएको रसिद ।
छ) जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति ।
ज) आवश्यकता अनुसार स्थलगत सर्जमिन ।
झ) आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना ।
ञ) गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र ।
ट)अन्य प्रमाणहरु ।


Leave a Reply