
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै संकलित हस्ताक्षर असोज २५ गते केन्द्रीय कार्यालयमा दर्ता गर्ने तयारी भएको छ।
असोज ६ गते इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापानिकट १०९ महाधिवेशन प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै हस्ताक्षर सङ्कलन अभियान थालेका थिए।
सभापति देउवाले असोज २६ गते बस्ने गरी केन्द्रीय समितिको बैठक राखेका छन्। तत्काल देउवालाई हटाउनुपर्ने पक्षमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, इतर पक्षको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला उभिएका छन्।
महामन्त्री शर्माले २५ गते हस्ताक्षर केन्द्रीय कार्यालयमा दर्ता हुने भएकाले विशेष महाधिवेशनको पक्षमा उभिएकाहरूलाई २४ गतेभित्र नै हस्ताक्षर गर्न भनेका छन्।
उनले भनेका छन्, हस्ताक्षर संकलन गरिरहेको साथीहरूले भन्नुभएको छ, ‘केन्द्रीय समिति बैठकको एक दिनअघि २५ गते नै हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराउँछौँ। त्यसैले हस्ताक्षर गर्नेहरूले ढिला नगर्नुस्, २४ गतेभित्रै गरिसक्नुस्।’
विधान अनुसार विशेष महाधिवेशन माग्नको लागि ४० प्रतिशत हस्ताक्षर संकलन भइसकेको नेताहरूको दाबी छ।

Leave a Reply