
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाको जीवनमा तनाव र निराशाका बीच एउटा खुशीको पल आएको छ । उनको माइती परिवारमा हालै एकजना नयाँ सदस्य थपिइन् ।
श्रृंखलाका राजनीतिकर्मी मातापिता विरोध खतिवडा र मुनु सिग्देलले गत शनिबार घरमा बुहारी भित्र्याएका छन् । उनीहरुको पहिलो सन्तानको रुपमा रहेका बिम्ब खतिवडाको विवाह काठमाडौंको एउटा होटलमा सामान्य तवरबाट गरिएको थियो । आफ्नो दाइको वैवाहिक समारोहमा सरिक भएकी श्रृंखलाको अनुहारमा लामो समयपछि मुस्कान देखियो । उनी सामान्य श्रृंगारमा थिइन् । बिम्बको विवाह यसअघि गत ९ असोजका दिन निर्धारित थियो । तर भदौ २४ गतेको अकल्पनीय घटनाक्रमले गर्दा विवाह रोकियो ।
जेनजी आन्दोलनका क्रममा विरोध खतिवडाको हेटौंडामा रहेको घर आगजनीमा परेको थियो भने श्रृंखलाको श्रीमान सम्भव सिरोहियाको काठमाडौंको घर पनि ध्वस्त पारिएको थियो । हेटौंडाको घरका सबै चीजहरु नष्ट भएका छन् ।
विरोधका काठमाडौंमै रहेका दुई घर भने सुरक्षित रहेका छन् । त्यसमध्ये विरोधका पति पत्नी बस्दै आएको महालक्ष्मीस्थित घरमा नयाँ बुहारी भित्र्याइएको हो । यसअघि वैवाहिक कार्यक्रम भव्यरुपमा आयोजना गर्ने तयारी गरिएको भए पनि प्रतिकुल परिस्थिति उत्पन्न भएपछि दशैंको बेला सानो जमघटमा विवाहको औपचारिकता निभाइएको पारिवारिक स्रोतले बतायो ।
स्रोतका अनुसार निकट पारिवारिक सदस्य र सिमित साथीभाइलाई मात्रै निम्त्याइएको थियो । विरोधले आफ्नै पार्टीका नेताहरुलाई पनि विवाहमा डाकेनन् ।
विरोधका छोरा बिम्ब अष्ट्रेलियामा बस्दै आएका छन् । आइटी पढ्न अष्ट्रेलिया गएका उनी अहिले राम्रो कम्पनीमा कार्यरत रहेको बुझिएको छ । अष्ट्रेलियामै बस्ने नेपाली युवतीसँग उनी प्रेममा परेर लिभिङ टुगेदरमा थिए । केटा र केटी दुवै विवाहका लागि अष्ट्रेलियाबाट नेपाल आएका हुन् । दुलहीका पिता पिता दुग्ध विकास संस्थानका रिटायर्ड सहसचिव हुन् ।

Leave a Reply