उपेन्द्र नेतृत्वको जसपा नेपालको नीति- विचार मिल्ने दलसँग एकता, जेनजीसँग मुद्दा मिलेकाले सहकार्य

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकता गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

विचार, सिद्धान्त नमिल्ने तर राजनीतिक मुद्दाहरू मिल्ने राजनीतिक दलहरूसँग संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्य गरेर अघि बढ्ने पार्टीको नीति रहेको बताए।

पार्टीले नीति, कार्यक्रम, विचार, सिद्धान्त र सङ्गठनमा युवा पुस्तालाई आबद्धता गर्ने भएको पनि उनले बताए। पार्टीले विशेष कार्यक्रम र कार्यनीति तय गर्दै युवा पुस्तालाई आबद्ध गर्ने कार्यलाई कार्यान्वयन गर्न मातहत पार्टी समितिलाई परिपत्र समेत जारी गरेको छ।

परिपत्रमा भनेको छ, ‘जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका माग र मुद्दाहरू जसपा नेपालले पहिलादेखि नै उठाउँदै आएको धेरैजसो माग र मुद्दासँग मिल्दोजुल्दो नै छ । युवा पुस्ताहरूसँग सहकार्य गर्दै, उनीहरूलाई प्रोत्साहन र समावेशीकरण गर्दै अगाडि बढ्ने पार्टीको नीति रहेको छ ।’

निर्वाचनलाई प्राथमिकतामा राख्ने

वर्तमान परिस्थितिमा पार्टीले सङ्गठन, सङ्घर्ष, प्रशिक्षण र निर्वाचनलाई प्राथमिकतामा राखेर अघि बढ्ने जसपा नेपालको निष्कर्ष छ।

अब प्रदेश अधिवेशनहरू र राष्ट्रिय समितिहरूका बाँकी कार्यहरू सम्पन्न गर्ने, सम्पूर्ण संसदीय निर्वाचन क्षेत्र समन्वय समिति, बुथ समिति गठन एवं परिचालन तथा गठन गर्न बाँकी रहेका गाउँ/वडा, टोल समितिहरू गठन गर्ने कार्यलाई अगाडि बढाइने बस्नेतले बताए ।

त्यस्तै प्रत्येक बुथ स्तरमा स्वयंसेवक तयार गरी प्रशिक्षण दिने र परिचालन गर्ने, आगामी निर्वाचनलाई ध्यानमा राखेर प्रदेश समिति र जिल्ला समितिहरूले जनपरिचालन र आधारभूत सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने, पार्टी प्रवेशका कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्ने र पार्टीसँग आबद्ध रहेका जनवर्गीय, पेसागत तथा भातृ सङ्गठनहरूको आवश्यकता अनुसार गठन र परिचालन गर्ने कार्य गर्नेछ।

पार्टीले संविधान संशोधन, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, पहिचान, राज्यको पुनर्संरचना, पार्टीले उठाउँदै आएका मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, दलित, पिछडावर्ग, महिला, अल्पसङ्ख्यक समुदायका मुद्दाहरूलाई जनताको बीचमा लैजाने, जनताका दैनिक जीवनसँग सम्बन्धित स्थानीय समस्याहरू, भ्रष्टाचार, गरिबी, बेरोजगारी, सामाजिक सुरक्षा लगायतका विषयहरू जनताका माझमा लैजाने भएको छ ।

बस्नेतका अनुसार विगतमा पार्टीले सरकार समक्ष पेस गरेको ६७ बूँदे माग र प्रस्तावहरूलाई जनता समक्ष लिएर जाने साथै जसपा नेपालको विचार, नीति तथा कार्यक्रमहरूलाई जनजनमा स्थापित गर्न, विचार, गोष्ठी, कोण सभा, आमसभा, प्रदर्शन आदि कार्यक्रमहरू गर्ने/गराउने काममा पार्टी लाग्नेछ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सङ्घर्षरत रहने र आन्दोलनका कार्यक्रमहरू निरन्तर जारी राखिने बताइएको छ ।

निर्वाचन केन्द्रित कार्यहरूलाई उच्च प्राथमिकतामा राख्दै उम्मेदवारको चयन, चुनाव प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयं सेवक परिचालन, चुनावी प्रशिक्षण, मतदाता सचेतन कार्यक्रम, मतदाता सूचीमा नाम दर्ता लगायत चुनावसँग सम्बन्धित कार्यक्रमहरू प्रदेश समिति, राष्ट्रिय समितिहरू, जिल्ला समिति, पालिका समितिहरू र सो मातहतका समितिहरूले कार्यक्रम र कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन गरेको पनि बताए।

निर्वाचन क्षेत्र स्तरीय तथ्याङ्क सङ्कलन, विभिन्न पार्टीहरूको स्थितिको विश्लेषण गरी निरन्तर रिपोटिङ्ग गर्ने र पार्टीका उम्मेदवारहरू जित्न सक्ने सम्भावना रहेको क्षेत्रहरूमा बढी ध्यान दिने, शक्ति परिचालन गर्ने र जिताउने काममा पार्टीलाई केन्द्रित गरिने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *