
बझाङ । बझाङ जिल्लामा पहिलो पटक कृषि, पर्यटन, व्यापार तथा शिलदेवी मेला महोत्सव–२०८२ आजबाट सुरु भएको छ ।
बझाङ उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘बझाङको पहिचान, कृषि, पर्यटन र पानी, स्थानीय उत्पादन र उद्यमशीलतामा लगानी’ भन्ने मूल नाराका साथ आज देखि २९ गतेसम्म सदरमुकाम चैनपुर बजारमा महोत्सव सञ्चालन गरिने जनाएको छ ।
जिल्लाको कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने, पर्यटनका सम्भावना उजागर गर्ने, स्थानीय व्यवसायलाई प्रोत्साहन दिने र परम्परागत संस्कृति संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ यो महोत्सव आयोजना गरिएको बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेलीका बताए ।
उनले भने, ‘महोत्सवले बझाङको संस्कृति, पर्यटनलाई पहिचान गरेर देश–विदेशमा चिनाउने अवसर प्रदान गर्नेछ ।’
महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, स्थानीय परम्परागत संस्कृतिका झलक, कृषि तथा पर्यटन प्रदर्शनी लगायतका विभिन्न कार्यक्रमहरू हुने भएका छन् ।
जिल्लामा प्रत्येक वर्ष मनाइँदै आएको देविथान ९शिलदेवी० मेला यसपटक कृषि, पर्यटन र व्यापारसँग जोडिएर महोत्सवको रूपमा विस्तार गरिएको आयोजक बझाङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
महोत्सव उद्योग वाणिज्य सङ्घ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको अध्यक्षतामा सुरु भएको थियो । महोत्सवको जिल्ला समन्वय समिति प्रमुख नर बहादुर बोहराले उद्घाटन गरेका छन् ।
देविथान मेलाको ऐतिहासिक पृष्ठभूमि
बझाङको पुरानो इतिहास र परम्पराको धरोहरका रूपमा चिनिने देविथान मेला राजा देविजंग सिंहको शासनकालदेखि सुरु भएको मानिन्छ । स्थानीय जानकार विष्णुभक्त जोशीका अनुसार बझाङ सुन्यालहरूको राज्य रहँदा राजा गजराज सिंहले देवीलाई दिन मागेका थिए । त्यतिबेला चैनपुर बगरमा थियो र बाहुली खोलाको पानी ल्याएर राजा गजराज सिंहले बालुवा भराई बस्ती बसालेका थिए ।
त्यो समय बाहुली गाडमा पुल नभएकाले देविको पूजा गर्न सेला खेत पुग्नुपर्थ्यो । राजा गजराज सिंहले बारम्बार पूजा गर्न असहज भएपछि शिला मागेर चैनपुरमै देवीथान मन्दिर स्थापना गरेका थिए । राजा गजराजका छोराको चाँडै मृत्यु भयो । विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह र देविजंग सिंह थिए । मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहले समाजसेवा र शिक्षाको अभियान अघि बढाउँदै राज्यको जिम्मेवारी देविजंग सिंहलाई सुम्पेका थिए ।
राजा देविजंग सिंहकै पालादेखि कोजाग्रत पूर्णिमाको दिन देवीथानमा मेला लाग्ने परम्परा सुरु भएको हो । त्यो बेला भोजपुर दरबारमा सबै जनताहरू बोलाएर गोरु–साँढे जुधाउने, देउडा खेलाउने परम्परा थियो । पछि साँढे र गोरु जुधाउने प्रथा हटाएर देउडा संस्कृतिलाई निरन्तरता दिइयो । २०२७ सालमा तत्कालीन प्रधानपञ्च आफू हुँदा आफ्नो पहलमा पुरानो मन्दिर भत्काएर नयाँ मन्दिर निर्माण गरिएको जोशीले बताए । उनका अनुसार, प्रचारप्रसारका कारण अहिले चैनपुरको देविथान बढी चर्चामा रहे पनि मूल मन्दिर सेला खेतमै रहेको छ । आज पनि त्यहाँ पूजापाठ गरिन्छ ।
दुर्गा र सुर्मा देवीको परम्परा
जोशीका अनुसार, सेलाखेतबाट राजा गजराज सिंहले शिला ल्याएपछि ब्याँसीले भारतको दिल्लीबाट दुर्गा ल्याएर चैनपुरको देविथानमा स्थापना गरेका थिए । सुरुमा सुर्मा र दुर्गा दुवैको अलग–अलग राज्य रहेको उल्लेख गर्दै उनले भने, ‘दुर्गा यता नआउने हुन्, ब्याँसीहरूले ल्याएका हुन् । त्यसैले अहिले पनि केही मानिसले दुर्गा र केहीले सुर्माको पूजा गर्छन् ।’
उनले थपे, ‘शिलदेवी मेलाको नाम पनि सेलाखेतबाट ल्याइएको शिलासँग सम्बन्धित हो । सुरुमा देवीथान मेला भनिन्थ्यो, तर पछि शिलासँग सम्बन्ध जोडिँदै शिलदेवी मेला नामकरण गरिएको हो ।’

Leave a Reply